नेत्रविक्रम चन्द ‘विप्लव’का तीन जना नेताहरुलाई जिल्ला प्रहरी कार्यालय दाङले पुन पक्राउ गरेको छ।
दाङ देउखुरी जिल्ला अदालतको पुस ७ गतेको आदेश अनुसार जनही १५/१५ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका उनीहरुलाई प्रहरीले अदालतको गेटबाटै बुधबार पक्राउ गरेको हो।
पक्राउ पर्नेमा विप्लव नेतृत्वका नेकपाका राप्ती ब्यूरो कार्यालय सचिव सदस्य डिल्लीराज शर्मा ‘सविन’, दाङ जिल्ला सेक्रेटरी प्रदिप वली र युवा संगठनका केन्द्रीय अध्यक्ष बविन केसी ‘पाटन’ छन्। पक्राउ परेका उनीहरुलाई संगठित रुपमा राज्य विरुद्धको अपराधमा मुद्दा चलाइएको छ।
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज विरजंगसहित उनीहरु असोजको ३० गते राजपुर गाउँपालिका–४ मुंग्रेठाबाट पक्राउ परेका थिए।
पक्राउ परेका २१ जना विप्लवका नेता तथा कार्यकर्तामध्य १३ जनालाई सम्बद्ध जिल्ला पठाइसकेको छ। जिल्ला अदालतले उनीहरुलाई धरौटीमा छोड्न आदेश दिएलगत्तै प्रहरीले पुनः पक्राउ गर्दै आएको छ।