(चीनका इतिहासकार र कोरियाली उपमहाद्वीपका विज्ञ जोन डेलुरीको ‘द न्यूयोर्क टाइम्स’ मा प्रकाशित लेखको भावानुवाद)
दक्षिण कोरियामा गत साता संसदीय निर्वाचन भयो। कोरोना भाइरसले दक्षिण कोरियासहित संसार आक्रान्त भएका बेला सफलतापूर्वक सम्पन्न हुनु नै यो चुनावको सबभन्दा महत्वपूर्ण पक्ष थियो।
कोरोना भाइरस कालखण्डकै यो पहिलो राष्ट्रव्यापी मतदान हो। दुई करोड ९० लाखभन्दा बढी मानिस मतदानमा सरिक थिए। ६६ प्रतिशत मतदाताले भाग लिएको यो चुनाव तीन दशकयताकै बढी मतदाता सहभागी गराउन सफल निर्वाचन बनेको छ। निर्वाचनबाट दक्षिण कोरियाली मतदाताले राष्ट्रिय संसदका लागि तीन सय सांसद चयन गरेका छन्।
प्रत्येक मतदान केन्द्रमा ‘ह्यान्ड स्यानिटाइजर’ र एकपटक मात्र प्रयोग गरिने पन्जाहरू पर्याप्त उपलब्ध थिए। अनुहारमा मास्क लगाएका मतदाता दुरी बनाएर उभिए। लाममा बस्नुअगावै प्रवेश विन्दुमा उनीहरूको ज्वरो नापिएको थियो।
व्यापक रूपमा भाइरस संक्रमितको परीक्षण चलिरहेकै बेला यसरी उल्लेखनीय मतदाता उपस्थित भइदिँदा घनघोर अन्धकारबीच दक्षिण कोरिया एक ज्योतीदिप बन्यो। यसले महामारीको आँधीबेहरीलाई एउटा खुला समाजले परास्त गरिदिँदो रहेछ भन्ने उदाहरण संसारलाई देखाइदिएको छ।
नेपालका प्रधानमन्त्रीले स्वतन्त्रता र स्वास्थ्यमध्ये एकथोक छान्नुपर्ने भनी सम्बोधन गरिरहेका बेला दक्षिण कोरियाको यो निर्वाचनमा मतदान गर्न उभिएका कसैले पनि उनीहरू लोकतान्त्रिक हक वा आफ्नो स्वास्थ्य सुरक्षामध्ये के छान्छन् भन्नेमा ध्यान दिएको देखिन्थेन।
छ साताअघि मात्र यस्तो हुनसक्ला भनेर कसले कल्पना गरेको थियो?
फेब्रुअरी अन्त्यतिर फर्केर हेर्ने हो भने, दक्षिण कोरिया चीनपछिको सर्वाधिक बढी कोरोना बिरामी भएको मुलुक थियो। इटाली र इरानलाई साथै लिएर यो विश्वकै नयाँ भाइरसको ‘हट स्पट’ बनेको थियो। यसले चीनको वुहानबाट सुरू आतंक अब संसारकै महामारी बन्दैछ भन्ने स्पष्ट देखाउँथ्यो।
संक्रमित दिनदिनै बढ्दै गइरहँदा म भियतनामको लामो बसाइ टुंग्याएर परिवारका साथ सोल फर्केको थिएँ। त्यसलगत्तै हामी उडेको एयरलाइन्सले दक्षिण कोरिया आउने वा यताबाट फर्किने सम्पूर्ण उडान रद्द गर्यो। फेब्रुअरी अन्त्य र मार्चका अघिल्ला दिनमा दक्षिण कोरिया ‘ग्राउन्ड जिरो’ नै हो कि भन्ने भान पर्दा यहाँका बासिन्दाले अत्यन्तै कष्टकारी क्षण बिताएका थिए।
संक्रमण फैलिनुअघि पनि राष्ट्रपति मुन जेय इन र उनको उदारवादी सत्तासाझेदार ‘द डेमोक्रेटिक पार्टी’ चिन्तामै थिए। विवादास्पद बनेका नयाँ कानुनमन्त्रीलाई राष्ट्रपति मुनले बिदा गर्नु पर्यो। साथै न्यूनतम पारिश्रमिक वृद्धिका निम्ति परेको निवेदनमा अलोकप्रिय हुने गरी संरचनात्मक सुधारको कार्यक्रम पनि लागू गर्नुपरेको थियो।
आर्थिक वृद्धि सुस्त थियो। राष्ट्रपति मुनले आफ्नो घोषित वैदेशिक नीतिअनुसारै उत्तर कोरियासँग थालेको शान्ति तथा गैरआणविक अस्त्रका लागि कूटनीतिक अभ्यास पनि कतै अड्किएर बसेको थियो। उत्तर कोरियाका नेता किम जोंग उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको सहमति टुंगोमा पुग्न नसकेकै कारण दक्षिण कोरियाको प्रयास पनि त्यसरी अड्किएको थियो।
यो अवस्थामा फेब्रुअरी अन्त्यतिर एक्कासि कोरोना विस्तार भएपछि सम्पूर्ण चिनियाँ यात्रुलाई कोरिया आउन बन्द गरिनुहुन्न भन्ने सरकारको निर्णयमाथि टेकेरै यहाँका रुढीवादीहरूले धावा बोल्न सुरू गरे। उता आमजनतामा पनि भनेका बेला र खोजेका ठाउँमा मास्क किन्न पाइएन भनेर गुनासो बढ्दै थियो।
यसरी बहुसंख्यक निराशावादी झुकाव भएका दक्षिण कोरियालीमाझ राष्ट्रपति मुनको लोकप्रियता खस्किन सुरू भयो। त्यसपछि जनस्वास्थ्य र राजनीतिक भाग्यका मामलामा सकारात्मक दृश्यान्तर हुन थाले। त्यही बेला दक्षिण कोरिया संसारकै कोरोना पीडित मुलुकको सूचीबाट ओह्रालो लाग्न सुरू भयो।
कुनै समय कोरोनाका लागि चीन (करिब एक अर्ब ४० करोड जनसंख्या) पछि दोश्रो स्थानमा रहेको दक्षिण कोरिया (पाँच करोड १६ लाख जनसंख्या) यति बेला आयरल्यान्ड (४९ लाख जनसंख्या) भन्दा कम संक्रमित संख्या भएको देश बनेको छ। अमेरिकाको कोलोराडो राज्य (५७ लाख जनसंख्या) भन्दा पनि कम कोरोनाका कारण मृतक संख्या रहेको देशका रूपमा उभिएको छ।
दक्षिण कोरियाले कोरोनालाई पछार्न यो उल्लेखनीय सफलता कसरी पायो? मुख्य कारण, सरकारको रणनीति र खुलापनका साथै आम जनतासँग उसले विकास गरेको अत्यन्त निकटता नै हो। अर्को शब्दमा भन्दा, दक्षिण कोरियाले जनस्वास्थ्यको संकटलाई उदार समाजको चरित्रले प्रदान गरेको शक्तिकै आधारमा धकेल्न सफल भएको छ। त्यसैको निरन्तरता रूपमा यसै साता त्यहाँका जनताले पनि आफ्नो नयाँ नेता चुन्न मतदान केन्द्रमा व्यापक सहभागीता जनाए। लोकतन्त्रका खम्बाहरूलाई झनै मजबुत पारिदिए।
संक्रमित संख्या पहिचान गर्न व्यापक परीक्षणनिम्ति निजी क्षेत्रले प्रयास अघि बढाएपछि जनवरी अन्त्यतिर बल्ल जनस्वास्थ्य अधिकारीले त्यसमा रूचि देखाएको कुरा अहिले संसारले थाहा पाइसकेको छ। तर, यो संसारले कमै थाहा पाएको दक्षिण कोरियाको जनमुखी कदम हो।
‘कोरिया सेन्टर्स फर डिजिज कन्ट्रोल’ र जनस्वास्थ्य तथा कल्याण मन्त्रालयले परीक्षणका परिणाम आउनेबित्तिकै आमनागरिकमा सूचना कसरी हुनसक्छ तत्क्षण र व्यवस्थित विस्तार गर्न पूरै बल लगाएको थियो।
त्योताक हप्तौंसम्म मेरो मोबाइलले दिनभर आवाज निकालिरहन्थ्यो। मोबाइलले छिनछिनमै दिइरहने सूचनामा छरछिमेकमा कसलाई कोरोना पुष्टि भयो र संक्रमितका अन्य विवरण पनि हुन्थ्यो। जस्तो, संक्रमित कति बजे रासन किन्न बजार गएको थियो भन्ने म मोबाइलबाटै थाहा पाउँथे।
अहिले अमेरिकाको म्यासाचुसेट्स जस्तो असाध्यै प्रभावित राज्यमा संक्रमितको को-कोसँग सम्पर्क भयो भन्ने पत्ता लगाउन थालिएको छ। आम जनताका सूचना बाँडचुँड गर्ने जुन प्रणाली त्यहाँ विकास भएको छ, त्यो हामीकहाँ सामान्य दैनिकीकै एउटा अंश बनिसकेको थियो।
त्यो पारदर्शिताले नै बदलामा सरकारलाई रोकथामका उपाय अपनाउन जनताकैतर्फबाट स्वैच्छिक तथा स्वस्फूर्त अनुमति प्रदान गरेको थियो। ‘सोसल डिस्ट्यान्सिङ’ जस्ता कुरा यहाँ कडा सरकारी आदेश नभई जनस्वास्थ्य क्षेत्रले गर्ने ‘क्याम्पेन’ बन्यो। दक्षिण कोरियामा ‘लकडाउन’ नै गरिएन। देशभरको त कुरै छाडौं, दक्षिण-पश्चिमी सहर दायगुमा भयावह क्षण चलिरहँदा पनि लकडाउन भएन।
यो साताको संसदीय चुनाव आफैंमा कोरोनासँगको लडाइँमा राष्ट्रपति मुनले अपनाएको लोकतान्त्रिक मार्गको जनमत संग्रह पनि थियो। जसमा दक्षिण कोरियाली मतदाताले जोडदार जित गराइदिएर उनको हात अझ मजबुत पारिदिएका छन्।
द डेमोक्रेटिक पार्टीले अन्य साना दलसँग मिलेर मोटामोटी १ सय ८० सिट जित्दै दशकौंयताको सबभन्दा बहुमत साबित गर्दै सफलता पाएको छ।
राष्ट्रपति मुनको आलोचना गर्नेलाई यो चुनावमा मतदाताले सजाय दिएका छन्। विपक्षी ‘कन्जर्भेटिभ युनाइटेड फ्युचर पार्टी’का नेता नै चुनावमा पराजित भए। ती विपक्षी नेतालाई मुनका पूर्व प्रधानमन्त्री एवं भविष्यमा राष्ट्रपतिका उम्मेदवार मानिएका ली नाक योनले पराजित गरेका थिए। (आफ्नो दलबाट लड्ने कुनै समयका उत्तरकोरियाली कुटनीतिज्ञ थाइ योंग होको विजयले भने विपक्षीमा थोरै भए पनि खुसी ल्याएको देखिन्छ। उनी कुनै समय उत्तर कोरियाली नागरिकता परित्याग गर्ने उच्च पदस्थ हुन्।)
राष्ट्रपति पदमा अबका दुई वर्षसम्म मात्र बस्न पाउने मुनको पक्षमा यति बेला बलियो जनमतले सकारात्मक लहर सिर्जना गरेको छ। अबको उनको लडाइँको केन्द्रमा विश्वभरकै राजनेताले तारो बनाइरहेको यही कोरोना महामारी कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती उभिनेछ।
अझै बढी त उनले आगामी आर्थिक चुनौतीका मामलामा कसरी लोकतान्त्रिक तवरले दीगो सफलता हासिल गर्ने भन्ने मोर्चामा दक्षिण कोरियाली नेतृत्व सम्हालेर अगाडि बढ्नुपर्नेछ। यो संकट र यसको चाप मत्थर भएपछिको चरणमा राष्ट्रपति मुनले उत्तर कोरियासँग शान्तिपूर्ण सम्बन्धको सपना फेरि उभ्याउने अपेक्षा गर्न सकिन्छ। अन्ततः त्यसले नै यी दक्षिण कोरियाली नेताको विरासत इतिहासमा अंकित गर्नेछ।
बाँकी विश्वका लागि यो चुनावी परिणामले दिने लाभ धेरै नहोला, तर कोरोना युगमा पनि करोडौं जनताले कसरी उनीहरूका लोकतान्त्रिक हक र अधिकार सुरक्षित गरे भन्ने चाहिँ संसारका लागि ठूलो समाचार बनेको छ।