रुपन्देही र यस आसपासमा कोरोनाका संक्रमितको संख्या बढ्न थालेपछि बुटवलको रामनगर स्थीत बुटवल धागो कारखानामा रहेको कोरोना विशेष आइसोलेसन अस्पतालको क्षमता विस्तार गरिने भएको छ।
प्रदेश ५ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीको संयोजकत्वमा सम्पन्न बैठकले उक्त कोरोना विशेष अस्पतालमा २ सय वेड थप गर्ने निर्णय गरेको हो।
गत चैत्र १० गतेबाट सन्चालनमा आएको ४४ वेड क्षमताको अस्पताललाई १ सय ४४ बेड क्षमताको बनाउने निर्णय भएको मन्त्री लिला गिरीले बताए।
कोभिड-१९ को आशंका गरिएका र त्यस्तै लक्षण देखिएका विरामीको संख्या बढ्न थालेपछि अस्पतालको वेड संख्या विस्तार गर्न लागिएको मन्त्री गिरीले बताए।
बुटवल उपमहानगरपालिकाको अगुवाइमा रामनगरस्थित धागो कारखानामा आइसोलेसन अस्पताल निर्माण गरिएको थियो।
उक्त अस्पतालमा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको सहयोगमा आएका भेन्टिलेटरसहितको ८ वेडको आईसियु तयारी अवस्थामा छ।
लुम्बिनी प्रादेशिक अस्पतालको प्राविधिक सहयोगमा निर्मित कोरोना विशेष आईसोलेसन अस्पतालमा दुईवटा हलभित्र ३६ वटा बेड र ८ वटा आईसियु वेड सहित ४४ बेड क्षमता थियो।
अस्पतालमा अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका फिजिसियन तथा कोरोना फोकल पर्सन डा. सुदर्शन थापाको नेतृत्वमा २० जना बढीको चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टिम कार्यरत छ।
अस्पतालमा अहिले २७ जना कोरोनाबाट संक्रमितहरुको उपचार भइरहेको छ।
वैशाख १० गते भर्ना भएका रुपन्देहीको कोटहीमाईका २५ वर्षिय युवा कोरोनालाई जितेर मंगलबार साँझ घर फर्किएका छन्।
अस्पताललाई १ सय बेड क्षमताको बनाउने निर्णयसँगै नेपाली सेनाले टेन्ट लगाएर १३ वटा बेड तयार गरेको भएपनि हावा हुरीका कारण बाहिरका बेडहरु प्रयोगमा ल्याउन नसकिने अवस्था रहेको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले बताए।