कृष्णप्रसाद अर्याल खैरहनी नगरपालिकाका पुराना किसान हुन्।
राजनीति गर्दागर्दै कृषिमा प्रवेश गरेका अर्याल यो क्षेत्रमा किसानका अगुवा हुन्।
तर पनि दुई दशक अघिबाट सुरू गरेको कृषि पेशामा उनले उल्लेख्य प्रगति गर्न सकेका थिएनन्।
कहिले अगतिलो बीउ परेर धानमा बाला र मकैमा घोगा नै लाग्थेन। कहिले बाला, घोगा लागे पनि रोगले सखाप पारिदिन्थ्यो। अर्काेतिर रासायनिक मलको अभाव छँदैछ।
उनले लगाउने तोरी, मुसुरो, गहुँलगायतका बालीले पनि अपेक्षाकृत फाइदा दिएको थिएन।
तर केही वर्षदेखि भने कमालै भएको छ, अर्यालको खेतमा मात्रै होइन पुरै गाउँमा। तोरी, मुसुरो, गहुँलगायतका बाली छाडेर आलु खेती सुरू गरेका स्थानीयबासीको आम्दानी मनग्य हुन थालेको छ।
‘अन्य बालीले आफूलाई खान ठिक्क हुन्थ्यो, आलु लगाउन सुरू गरेपछि राम्रो फाइदा हुन थालेको छ,’ अर्यालले भने, ‘आलुले गाउँमा ठूलो खुसी ल्याएको छ।’
कृषिबाट फाइदा नहुने रहेछ भनेर निराश हुँदै गएका किसान अहिले उत्साहित भएको उनले बताए।
त्यसो त उनले आलु खेती गर्न थालेको २०५६ साल देखि हो। तर थोरै खेतमा मात्रै खेती गर्दा आम्दानी पनि थोरै नै हुन्थ्यो। अन्य बाली हटाएर आलुको क्षेत्र विस्तार गर्न उनलाई धेरै वर्ष लाग्यो।
२०५६ सालताका करिब १० विघा जमिनमा मात्रै आलु खेती गर्ने गरिएको खैरहनीको वडा नम्बर १० र ११ मा यस वर्ष २५० विघा भन्दा बढी जमिनमा खेती गरिएको छ।
सहोनपुर, गैडाहा, पिडनी, कठार, खरखुट्टे, सुन्डीलगायतका गाउँमा आलु खेती नगर्ने असाध्यै कम छन्। यी गाउँका स्थानीयले यस वर्ष आलु खेतीबाट १५ करोड बढी रकम भित्र्याएका छन्। यी गाउँ पूर्व–पश्चिम राजमार्गको पर्सा बजारबाट करिब ५ किलोमिटर दक्षिणतर्फ पर्छ।
‘पहिले वडा नम्बर १० मा मात्रै व्यवसायिक खेती थियो, अहिले ११ नम्बरमा पनि बढ्यो, यो हरेक वर्ष बढ्दो क्रममा छ,’ उनले भने, ‘आलुमा किसानको आकर्षण यति धेरै बढ्यो कि अचेल बाहिरकाले हाम्रो गाउँलाई ‘आलु गाउँ’ भनेर चिन्न थालेका छन्।’
अर्याल बहुउद्देश्यीय कृषि फार्ममार्फत उनले यस वर्ष १० विघा जमिनमा विभिन्न जातका आलु लगाएका थिए। यतिखेर उनलाई त्यही आलु थन्काउने चटारो छ।
चितवन मात्रै नभई काठमाडौं, पोखरा, गोरखालगायतका स्थानबाट आलु बोक्ने गाडी उनको खेतैमा आइपुग्छन्। उनले लगाएको ब्लू डायमण्ड जातको निलो आलुको बजारमा विशेष माग छ।
यस पटक आलुबाट ३० लाख रुपैयाँ भन्दा बढी फाइदा हुने आशा रहेको उनले बताए। ‘यसपालि केही बीउ खराब परेछ, सबै बारीमा एकनासले फलेन,’ उनले भने, ‘एकनासले फलेको भए ५० लाखसम्म फाइदा गर्न सकिन्थ्यो।’
उनकाअनुसार एक कट्ठा जमिनमा ६ देखि १० क्वीन्टलसम्म आलु उत्पादन हुने गरेको छ। अहिले बारीबाट प्रतिकिलो ४० रूपैयाँमा आलु विक्री भइरहेको छ।
‘यति फाइदा दिने बाली रहेछ, हाम्रो ध्यान अन्य बालीमा थियो,’ उनले भने, ‘अब यसलाई थप व्यवस्थित बनाउँदै क्षेत्र विस्तार गर्ने सोच छ।’ अहिले उनको परिवार नै आलु खेतीमा सक्रिय छ। हाल उनले खेती गरेको मध्ये ७ विघा जमिन भाडाको हो। आगामी वर्ष थप १० विघा भाडामा लिने सोच उनको छ।
‘युवाहरू कमाउन अमेरिका, अष्ट्रेलिया, बेलायत जाने भन्छन्, तीन महिनामै ३० लाख कमाएपछि किन चाहियो ती देश,’ अर्याल भन्छन्, ‘कृषि योग्य जमिन चक्लाबन्दी गरेर यस्ता बालीतिर युवाहरुको ध्यानाकर्षण गराउनुपर्छ।’
गत कात्तिकमा रोपिएको आलुले तीन महिना नहुँदै आम्दानी दिन थालेको छ। चैते धान र असारे धान थन्काएपछि कात्तिकमा किसानले आलु रोपेका थिए।
स्थानीय अम्बिका अर्याल भन्छिन्, ‘मेहनत र समय कम, खर्च पनि कम आम्दानी भने बढी हुने बाली रहेछ।’ तीन बिघा जमिनमा आलु खेती गर्न उनले करिब ४ लाख रुपैयाँ खर्च गरिन्। ‘यसपालि १५ लाख रुपैयाँ आम्दानी हुने भयो,’ उनले सुनाइन्।
आलु खेतीका लागि विषादी कम लाग्ने भएका कारण अन्य बालीमा भन्दा खर्च कम लाग्छ। उत्पादन लागत कम लाग्ने भएकाले किसानले मनग्य आम्दानी लिन पाएको उनले बताइन्।
‘पहिले छोराछोरीलाई पढाउन हम्मे हुन्थ्यो, अहिले सबै खर्च पुर्याएर पनि बैंकमा ३०/३५ लाख रुपैयाँ जम्मा गर्ने भएका छौं,’ उनले भनिन्, ‘आलु खेतीले पुरै गाउँमा परिवर्तन ल्याएको छ।’
कृष्णबहादुर तामाङले पहिले लगाएको तोरी उनको परिवारलाई वर्षभरी तेल खानमात्र पुग्थ्यो। मकै आफू र गाई भैसीले खाएपछि केही विक्री गर्थे।
सबैले आलु खेतीबाट धेरै फाइदा लिन थालेपछि उनले पनि ५ कट्ठा जमिनमा आलु लगाएर परीक्षण गरे। यसबाट उनले राम्रो संकेत देखेका छन्।
‘गाउँले सबै तरकारी खेतीतिर ढल्किन थालेपछि हुने/नहुनेबारे बुझ्न थोरै जमिनमा लगाएको थिएँ,’ उनले भने, ‘अर्को साल थप जमिनमा आलु खेती गर्ने निधो गरेको छु।’
यसै वर्षदेखि आलु खेती सुरु गरेकी स्थानीय शर्मिला तामाङले मल, पानी पुर्याउन सके आलुबाट राम्रो फाइदा हुने अनुभव बटुलेको बताइन्। ‘नगदे बाली हो, विक्री भएपछि तुरुन्तै पैसा आइहाल्छ,’ उनले भनिन्, ‘व्यवस्थापनमा भने अलि बढी ख्याल गर्नुपर्ने रहेछ।’
आलु खेतीका लागि सिचाइँको राम्रो व्यवस्था हुनुपर्छ। साथै गोडमेल र मलको पनि उस्तै व्यवस्था मिलाउनुपर्छ। २०६९ सालबाट आलु खेती गर्दै आएका सिताराम आचार्यलाई दुई पटक यो खेतीबाट घाटा लाग्यो।
‘यो खेती गर्न जाने दोब्बर, नजाने गोबर रहेछ,’ उनले अनुभव सुनाए, ‘राम्रो उत्पादन नभएर घाटा लागेपछि बुझ्दै जाँदा आफ्नै कमजोरीले बिग्रिएको पत्ता लगाएँ, अहिले राम्रो भइरहेको छ।’
आलु खेतीमा प्रविधिको खोजी
दुईवटा वडाका करिब १०० जना किसान आलु खेतीमा लागेका छन्। २५० विघा जमिनमा आलु खेती भइसक्दा पनि यस खेतीमा प्रविधि भने भित्रन सकेको छैन।
आलु लगाउने, गोड्नेदेखि उत्पादन लिनेसम्मकै काममा मानव जनशक्तिकै मात्र प्रयोग गर्नुपर्ने बाध्यता छ। ‘भनेको समयमा जनशक्ति नपाउने समस्या छ, प्रविधिको प्रयोगबाट उनीहरुलाई दिने ज्यालाको रकम घटाउन सकियो भने थप फाइदा लिन सकिन्थ्यो,’ किसान कृष्णप्रसाद अर्यालले भने, ‘मेसिनको मूल्य महँगो भएकाले एक्लैले आँट्न सकिएको छैन, कृषि ज्ञान केन्द्रले सहयोग गर्छ कि भनेर आग्रह गरेका छौं।’
आर्यालले यसपालि खेतबाट आलु निकाल्न मात्रै १५० जना कामदार प्रयोग गरे। स्थानीयले नपुगेर भारतीय, मधेसबाट आएकाले पनि यहाँ काम गर्ने गरेका छन्। उ
नीहरुलाई दैनिक प्रतिव्यक्ति ६०० रुपैयाँका दरले ज्याला दिने गरिएको छ। ‘आलु रोप्ने, उत्पादन निकाल्ने कामका लागि मेसिन भित्र्याउन पाए उत्पादन लागत घट्ने थियो,’ उनले भने, ‘यसले विदेशी उत्पादनसँगको प्रतिष्पर्धामा बालियो बनाउनुका साथै उपभोक्तालाई पनि लाभ हुने थियो।’
खनेर आलु निकाल्ने मेसिनको मूल्य १३ लाख रुपैयाँ पर्छ। बीउ रोप्ने र जोत्नेसहितका उपकरण अनुदानमा उपलब्ध गराइदिन किसानहरुले माग गरेका छन्।
उक्त क्षेत्रलाई ५ वर्षअघि तत्कालिन जिल्ला कृषि विकास कार्यालयले आलुको पकेट क्षेत्रका रुपमा विकास गर्न खोजेको पनि थियो।
तर पछि कार्यालयको संरचना परिवर्तन भयो। अहिले कृषि ज्ञान केन्द्रले यस क्षेत्रको कृषि हेर्ने गर्छ। कृषि ज्ञान केन्द्रले हरेक वर्ष प्रकाशन गर्ने वार्षिक पुस्तकमा भने आलुलाई ‘बालीनाली’को सूचीमा समावेश पनि गरिएको छैन।