नेकपा चितवनको प्रचण्ड-नेपाल समूहले कामचलाउ प्रधानमन्त्रीलाई विकास निर्माणका कामको शिलान्यास गर्न नदिन निर्वाचन आयोगसमक्ष पुन: माग गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको मिति घोषणा गरेर विकासका कामहरु शिलान्यास र उद्घाटन गर्दै हिँडेको भन्दै रोक्न माग गरेर उक्त समूहले जिल्ला निर्वाचन कार्यालमार्फत आयोगलाई पत्राचार गरेको थियो।
शुक्रबार पत्रकार सम्मेलन गर्दै जिल्ला अध्यक्ष यमबहादुर परियारले सिटी हल र ६ लेन सडकको शिलान्यासको कार्यक्रम रोक्न माग गरे। 'सरकारले पञ्चायतकालमा राजाहरुबाट गरिने पञ्चर्यालीको शैलीमा सत्ताको दुरुपयोगगरि जिल्ला-जिल्लामा कार्यक्रम गर्न थाल्यो,' परियारले भने, 'केही महिना अघिबाटै काम चलिरहेको योजनाको अहिले उद्घाटन गर्न खोज्नु नौटंकीयुक्त कार्य हो, यसको नेकपा चितवन जोडदार विरोध गर्छ।'
जिल्ला इन्चार्ज कृष्णप्रसाद खनालले भूमि व्यवस्था आयोगको नाममा भूमिहीनलाई जग्गा दिने प्रलोभन देखाएर कार्यक्रममा उपस्थित गराउन खोजेको भन्दै भ्रममा नपर्न आग्रह गरे। उनले माघ १७ गते नेकपा चितवनले कुनै कार्यक्रम नगरेको भन्दै उपस्थित नहुन कार्यकर्तालाई आग्रह गरे।
भरतपुर महानगरपालिकाले पनि प्रधानमन्त्री सहभागी हुने कार्यक्रमको विरोध गर्दै बहिस्कार गर्ने घोषणा गरेको छ।
महानगरपालिकाकी मेयर रेनु दाहालले कामचलाउ सरकारका प्रधानमन्त्रीले राज्यशक्ति, स्रोत र साधनको दुरूपयोग गरि शिलान्यास र उद्घाटन गर्दै हिँडेको आरोप लगाएकी छन्। सिटी हल र ६ लेन सडकको शिलान्यासका लागि प्रधानमन्त्री चितवन आउन लागेको अघिल्लो दिन महानगरमै पत्रकार सम्मेलन गर्दै दाहालले शिलान्यासको बाहनामा पार्टीको सभालाई मदत पुग्ने हिसाबले राज्यशक्तिको दुरुपयोग गर्न खोजिएको आरोप लगाइन्।
'सिंगो देश भूमरीमा फसेको बेलामा कामचलाउ सरकारले यसरी आएर शिलान्यास गर्नुको उद्देश्य के? अनावश्यक शिलान्यास राज्यशक्तिको दुरुपयोग होइन?,' प्रश्न गर्दै उनले भनिन्, 'यसमा हाम्रो गम्भीर असहमती छ।'
उनले संघीय सरकारले स्थानीय सरकारलाई हतोत्साहित गराउने तरिकाले काम गरिरहेको बताइन्। स्थानीय सरकारको हैसियतमा यस क्षेत्रमा बनेका योजनाको असली मालिक महानगरपालिका रहेको भन्दै उनले महानगरलाई जानकारी पनि नगराई गरिने कार्यक्रमप्रती बिरो रहेको बताइन्।
महमानगरकै प्रयासमा ती योजनाहरु प्राप्त भएको दाबी गर्दै मेयरले भनिन्, 'जग्गाको स्वामित्व हाम्रै नाममा छ, हाम्रै पहलमा आएको योजना हो, दुईवटै महानगरको गौरव र प्रतिष्ठाका योजना हुन्, कसैले प्रतिष्ठाको विषय बनाउन नखोजे हुन्छ।' उनले योजनालाई समयमै सम्पन्न गर्न सक्दो प्रयास गर्ने बताइन्।
'कसैले एक दिन आएर ढुंगामा फूल चढाउँदैमा अनरसिप महानगरपालिकाले नलिने भन्ने हुन्न,' दाहालले थपिन्, 'सन्तानको माया असली आमालाई जति अरुलाई हुँदैन।'
नेपाली कांग्रेसका वडाध्यक्ष चित्रशेन अधिकारीले पनि संघीय सरकारले स्थानीय तहलाई पूर्णरुपमा बेवास्ता गरेको भन्दै असहमती जनाए। 'जानकारी गराएको भए रातो कार्पेट ओच्छ्याएर स्वागत गर्न सकिन्थ्यो,' उनले भने, 'थाहै नदिई गरेका क्रियाकलापबाट ठूलो मूल्य चुकाउनुपर्छ।'
उनले प्रधानमन्त्रीले संसद विघटन गरेर विकासका काममा हालीमुहाली गर्न खोजेको आरोप लगाए।