समिट होटल तथा अपार्टमेन्टले नक्सा पास नगरी र सँधियारहरूको मञ्जुरीबिना निर्माण कार्य सञ्चालन गर्न खोजेको भन्दै सानेपाका स्थानीय ऋगध्वज बिष्टले लगभग एक वर्षअघि नै ललितपुर महानगरपालिकालाई सचेत गराएका थिए।
विधि र प्रक्रिया मिचेर हुन लागेको उक्त निर्माण रोक्का गरिपाऊँ भनेर पहिलोपटक गत वैशाखमा ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृतलाई सम्बोधन गरेर निवेदन दिएको उनी बताउँछन्।
महानगरबाट उक्त निवेदनमा कुनै सुनुवाइ भएन।
यसबीच समिट होटलले निर्माण कार्य जारी राख्यो। वरपरका घरहरू भुइँचालो आएजत्तिकै थर्किने गरी दिनरात काम गरिरह्यो।
त्यसपछि ऋगध्वजले फागुन १६ गते ललितपुर महानगरमा दोस्रो निवेदन दिए, जसमा समिट होटलबाट भइरहेको निर्माण कार्यले वरपरका घर असुरक्षित बन्दै गएको र यसले भौतिक तथा मानवीय क्षतिसमेत हुन सक्ने भनिएको छ।
सँधियारहरूको मञ्जुरीबिना बोरिङ गर्नुका साथै ठूलो स्तरको निर्माण भइरहेकाले समिट होटलले आवश्यक प्रक्रिया पूरा गरेको छ कि छैन हेरेर उक्त कार्य रोक्का गरिपाऊँ भनेर पनि निवेदनमा उल्लेख छ।
दुई-दुईचोटि औपचारिक निवेदन दिँदा र कयौंपटक महानगरलाई मौखिक जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको बिष्ट बताउँछन्।
'आज समिट होटलका कारण जुन क्षति भयो, त्यसमा ललितपुर महानगरको गैरजिम्मेवारीको पनि उत्तिकै दोष छ,' उनले भने।
यसरी स्थानीयले बारम्बार ताकेता गर्दा पनि ललितपुर महानगरले किन ध्यान दिएन? किन निरीक्षण गरेर कारबाही अघि बढाएन? यही प्रश्न हामीले ललितपुर महानगरका मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत र सम्बन्धित वडाध्यक्षलाई सोधेका छौं।
प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले वैशाखमा स्थानीयबाट निवेदन प्राप्त भएको स्वीकार गरे। उक्त निवेदनमाथि आवश्यक कारबाही गर्न सम्बन्धित निकायमा पठाएको उनको भनाइ छ।
'बाहिर कुरा आएजस्तो हामीले दुइटा पत्र प्राप्त गरेका छैनौं, तर वैशाखमा काम रोक्का गरी कारबाही गरिपाऊँ भनेर पत्र प्राप्त भएको थियो,' उनले भने, 'त्यसमा तोक लगाएर सहरी विकास विभागमार्फत् के समस्या हो बुझ्न र सम्बोधन गर्न वडामा पठाइदिएका थियौं।'
त्यसपछि कोही स्थानीय गुनासो गर्न नआएपछि वडा तहमै समस्या सम्बोधन भइसक्यो होला भन्ने आफूहरूले अनुमान गरेको उनले बताए।
यस्ता ठूला आयोजनाको काम महानगरले सुरूमै नहेर्ने पनि उनले बताए। पहिला आयोजनाबारे सहरी विकास मन्त्रालयलाई जानकारी दिइन्छ। त्यहीँबाट वातावरणीय प्रभाव मूल्यांकनको काम हुन्छ। त्यसपछि काठमाडौं उपत्यका विकास प्राधिकरणले आयोजनाको थप प्रक्रिया अघि बढाउँछ। दुवै निकायबाट प्रकिया पूरा भएपछि बल्ल महानगरले आफ्नो निर्देशिका पालना गरेको छ कि छैन भन्ने हेरेर नक्सा पासको काम गर्ने अर्यालले बताए।
'सहरी विकास मन्त्रालय र उपत्यका विकास प्राधिकरणबाट अहिलेसम्म यस्तो समस्या छ भनेर कुनै पत्र नआएकाले निर्माणस्थलमा काम सुरू भएकै छैन भन्ने हामीलाई लाग्यो,' उनले भने।
मन्त्रालय र प्राधिकरणले पत्र नपठाए पनि स्थानीयबाटै गुनासो आइसकेपछि तपाईंहरू स्थलगत निरीक्षणमा जानुपर्ने होइन? नगरवासीप्रति तपाईंहरूको त्यति जिम्मेवारी हुन्न?
जवाफमा अर्यालले भने, 'स्थानीयबाट निवेदन आएपछि के भएको हो भनेर हामीले स्थलगत निरीक्षण गर्नुपर्ने थियो। हामी यसमा चुकेका हौं। हामीले वडामा चिठी फरवार्ड गरिदिएकाले उनीहरूले नै हेर्छन् भनेर बस्यौं। हामी त्यसरी बस्न हुँदैन थियो। आफैंले के हो भनेर थप बुझ्नुपर्थ्यो। यसमा चुकेकैले मेयरले माफी मागिसक्नुभयो। हामीबाट गल्ती भएको छ।'
समिट होटल तथा अपार्टमेन्ट निर्माणस्थल ललितपुर महानगरको वडा नम्बर १ मा पर्छ। हामीले त्यहाँका वडाध्यक्ष निर्मल तण्डुकारलाई पनि स्थानीयले पठाएको चिठी गत वैशाखमै प्राप्त भइसक्दा पनि तपाईंहरूले किन स्थलगत निरीक्षण गरेर निर्माण रोक्नुभएन भनेर सोध्यौं।
उनले आफूलाई महानगर र स्थानीय दुवैबाट लिखित पत्र नआएको दाबी गरे।
'मलाई भवन कानुनी रूपमा बनेको छ कि छैन भनेर कुनै पत्र आएको छैन,' उनले भने, 'मलाई त्यति बेला स्थानीयले निर्माण कार्यले डिस्टर्ब भयो भनेर मौखिक रूपमा भनेका थिए। त्यसपछि मैले समिट होटल र स्थानीय दुवैलाई राखेर अबदेखि निर्माण कार्य गर्दा कसैलाई डिस्टर्ब नहुने गरी गर्न सहमति गराएको थिएँ।'
उनले यस्ता ठूला भवनको निर्माण मन्त्रालय, उपत्यका विकास प्राधिकरण र महानगरमार्फत हुने हुँदा आफूलाई थाहा नहुने तर्क गरे।
उनले अगाडि भने, 'मौखिक रूपमा आएको समस्या मैले हल गरिदिएको हो। त्यसपछि मैले समिट होटल निर्माण क्रममा घर भासिएपछि मात्र पहिले नै महानगरमा निवेदन दिएको कुरा थाहा पाएको हुँ।'
ललितपुरका मेयर चिरिबाबु महर्जनका स्वकीय सचिव इन्द्र बज्राचार्यले भने समिट होटलले कानुन पालना नगरी निर्माण अघि बढाएको रहेछ भन्ने कुरा शुक्रबार रातिको घटनापछि मात्र थाहा पाएको बताए।
'निवेदनबारे पनि हामीले घटनापछि नै थाहा पाएका हौं,' उनले भने, 'सत्यतथ्य थाहा पाउनेबित्तिकै हामीले महानगरबाट भूल भएको स्वीकार गरी माफी मागिसकेका छौं।'
महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले पहिलोपटक उजुरी परेपछि वडाको रोहवरमा स्थानीय र समिट होटलबीच सम्झौता भएको बताइन्।
'वडाको रोहवरमै समिट होटल र स्थानीयबीच सम्झौता भएको रहेछ,' उनले भनिन्, 'त्यति बेला घरको बिमा गरिदिने र कुनै क्षति भए समिट होटलले नै क्षतिपूर्ति दिने गरी सम्झौता भएको रहेछ। त्यसपछि समिट होटलको काम अघि बढाउन स्थानीयले कुनै अवरोध नपुर्याएका रहेछन्। तर अहिले क्षति पुगेपछि वडा र स्थानीय यी कुराबाट पन्छिएको देखिन्छ।'
यो घटनालाई महानगरले नजिरका रूपमा लिनुपर्ने उनी बताउँछिन्।
'हामीबाट भूल भएको हो, अब यसलाई धेरै गिजोलेर काम छैन। महानगरले कारबाही गर्ने भनेर प्रक्रिया बढाइसकेको छ। छानबिन समितिले आफ्नो काम गरिरहेको छ। बरू यो घटनालाई भविष्यको निम्ति नजिरका रूपमा हेरौं,' उनले भनिन्।
स्थानीय ऋगध्वज बिष्ट भने वडाको रोहवरमा समिट होटल र स्थानीयबीच सम्झौता भएको महानगरको भनाइको खण्डन गर्छन्।
'यदि त्यस्तो सम्झौता भएको भए हामी कराइरहेका हुन्थ्यौं?' उनले प्रश्न गरे, 'पहिलोपटक निवेदन दिँदा समिट होटलले अहिले निर्माण गर्ने होइन, पिलिङ (घर बनाउनुअघि भुइँको सतह ढलान गरेर मजबुत बनाउने कार्य) मात्र गर्ने भनेको थियो। हामी पनि वरिपरिको स्थान मजबुत हुने भयो भनेर चुप बस्यौं। तर जब पिल्लर ठड्याउने काम सुरू भयो, हामीले दोस्रोपटक महानगरमा निवेदन पेस गरेका थियौं।'
ललितपुरको कुपण्डोल हाइटमा निर्माणाधीन समिट होटल तथा अपार्टमेन्टका कारण गत शुक्रबार राति वरपरका घरहरू भासिएका छन्। दुइटा घर पूर्ण रूपमा भत्किएका छन् भने छवटा घर क्षतिग्रस्त छन्। सोह्रतले यो संरचना 'द समिट होटल एन्ड रेसिडेन्सेस्' नाममा बन्न लागेको हो। यो परियोजनामा १३० कोठाको पाँचतारे होटलका साथै १६० युनिट (फ्ल्याट) अपार्टमेन्ट पनि रहने व्यवस्थापनले जनाएको छ।
छ अर्ब रूपैयाँभन्दा धेरै लगानीमा यति ठूलो संरचना बनाउँदा वातावरणीय प्रभाव मूल्यांकन (इआइए) र नक्सा पास गरिएको छैन। मध्य सहरमा बन्न लागेको यति ठूलो लागतको, यति ठूलो संरचना समिट होटलले कसरी नक्सा र इआइए पास नगरी गैरकानुनी रूपमा निर्माण सुरू गर्यो भन्ने प्रश्न उठेको छ।
यो परियोजनामा तीनवटा व्यावसायिक घराना साझेदार छन्। सबभन्दा धेरै ४० प्रतिशत सेयर अमृतराज शाक्यको छ। उनी समिट होटलका पुराना सञ्चालक हुन्। त्यसपछि प्रतिनिधिसभा सदस्यसमेत रहेका विनोद चौधरीले नेतृत्व गरेको सिजी ग्रुपको ३० प्रतिशत र पूर्वमन्त्री तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठ नेतृत्वको एनई समूहको ३० प्रतिशत सेयर छ।
पहिले होटल समिट अमृतराज शाक्यले नै सञ्चालन गरेका थिए। ठूलो अपार्टमेन्टसहितको पाँचतारे होटल चलाउन उनले समिटको सेयर बेचेका थिए।