गत जेठ १९ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ता विमर्श सीले पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ माछा मार्न जाल बोकेर कपिलवस्तुको शिवगढीमा रहेको एउटा पोखरीमा पसेको भिडिओ फेसबुकमा पोष्ट गरे।
काठमाडौंमा त्यो भिडिओ हेरेपछि एक विद्यार्थी नेताले कमेन्ट गरे, ‘आजकल विप्लव दाइको जालमा माछा पर्न छोडेछ!’
झट्ट सुन्दा उनको टिप्पणी सामान्य लागे पनि त्यसको अन्तर्यमा भव्य व्यंग्य लुकेको छ। उनीहरूकै भाषामा क्रान्ति असफल भयो भन्दै मूलधारको राजनीति छोडेर गाउँ छिरेका विप्लवबिना कुनै उपलब्धी फेरि आफूले छाडेका राजनीतिक दलका नेताहरूको शहरस्थित घर-घरमा धाउन थाल्नुको पृष्ठभूमि उनले थापेको राजनीतिक जालमा माछा नपर्नु नै हो भन्ने टिप्पणी उनकै पार्टीभित्र पनि छ।
गत वर्ष वैशाखमा भएको स्थानीय निर्वाचनमा आफ्नो राजनीतिक शक्ति परीक्षण गर्न नेताहरूलाई उम्मेदवार उठाएको नेकपाले चुनावमा अपेक्षित परिणाम हासिल गर्न नसकेपछि विद्रोहको राजनीतिलाई सेफ ल्यान्डिङ गर्न खोजिरहेको थियो। त्यही पृष्ठभूमिको परिणामस्वरूप समाजवादी मोर्चामा आवद्ध भएका हुन्, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’। तर मोर्चाको सदस्य दलको हैसियतमा रहनुमात्रैमा उनको मुकाम निर्धारण हुँदैन।
समाजवादी मोर्चामा आवद्ध हुन चन्दले आफ्ना पुराना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सहारा लिएका छन् भने प्रचण्ड स्वयंले विप्लवको गुणगान गाउन थालेका छन्।
प्रचण्डसँग गम्भीर असहमतिसहित छुट्टिएका विप्लव विद्रोही राजनीतिको एउटा घुम्ती सकेर फेरि उनै प्रचण्ड सही हुन् भन्ने विन्दुमा आइपुग्दा माओवादीको राजनीतिक हैसियत झन् खुम्चिएको छ।
छुट्ने-जुट्ने नेपाली कम्युनिष्टको आम चरित्रबाट टाढा हुन नसकेका यी नेताद्वयको सम्बन्ध कहिले निकट र कहिले बिकट भइरह्यो। अहिले सिंगो माओवादी पंक्तिमा हलचल आउनेगरी अपर्झट नजिएका प्रचण्ड र विप्लवको चिनजान र मित्रताको याम झन्डै ३५ वर्ष पुगेको छ।
पार्टी राजनीतिको एउटा भंगालोमा पुगेपछि छुट्टाछुट्टै धार समाएका विप्लव र प्रचण्डलाई जोड्ने कसीका रूपमा उत्तिकै सक्रिय छन्, माओवादी नेता कृष्णबहादुर महरा। यसमा महराको आफ्नै अभिष्ट छ।
विप्लवका अनुसार प्रचण्ड र उनको भेट २०४५ सालमा काठमाडौंमा भएको थियो। भेटघाटको सिलसिला पार्टीलाई कसरी सुगठित र संगठित बनाउने भन्ने नै थियो। त्यसपछि प्रचण्डले जुन-जुन पार्टी र समूहको नेतृत्व गरे, विप्लवले २०६९ सालसम्म त्यही-त्यही पार्टी बलियो बनाउन काम गरिरहे। विप्लवको ट्र्याक रेकर्ड पनि राज्य सत्ताभन्दा पार्टी सत्तामै बलियो हुन रूचाउने खालको देखिन्छ।
‘त्यतिबेला पञ्चायत कसरी ढाल्ने भन्ने बहस थियो, जोडतोडले जानुपर्छ भन्ने भयो,’ प्रचण्डसँगको सम्बन्ध स्मरण गर्दै विप्लव भन्छन्, ‘०६४ को बालाजु बैठकपछि भने स्पष्ट रूपमै अन्तरविरोध देखियो। त्यतिखेर संविधान सभा चुनावमा जानुपर्छ र जानु हुँदैन भन्नेमा ठूलो विवाद भयो र पहिलो पटक असहमति लेखियो। त्यसपछि त असहमतिको श्रृंखला नै सुरू भयो।’
२०६४ लाई विप्लव र प्रचण्डबीचको असहमतिको पानीढलो मान्ने हो भने २०८० साललाई सम्बन्धको संगम भन्नुपर्ने हुन्छ।
उसो त माओवादी पार्टीभित्र रहँदा प्रचण्डको आँखामा विप्लव जहिले पनि होनाहार र जेहन्दार योद्धा हुन्।
२०५५ को भदौमा माओवादीको चौथो विस्तारित बैठक बसेको थियो। त्यो बैठकमा माओवादी अध्यक्ष प्रचण्डले रवीन्द्र श्रेष्ठ, मणि थापा र वर्षमान पुनलाई केन्द्रीय सदस्य बनाउने प्रस्ताव लगेका थिए। त्यसबेला माओवादीको केन्द्रीय कमिटी १९ सदस्यीयमात्रै थियो। पार्टीको कर्णाली इन्चार्ज रहेका विप्लवले आफ्नो आधार क्षेत्रमा ‘कर्णाली हातेमालो’ भन्ने अभियान चलाएका थिए। विप्लवको ‘कर्णाली हातेमालो’बारे रिपोर्ट सुनेपछि प्रचण्ड प्रभावित भए र उनलाई पनि केन्द्रीय सदस्यमा मनोनित गर्ने प्रस्ताव ल्याए।
‘विप्लवजीले प्रचण्डजीको नजरमा क्षमतावान्, क्रियाशील र साहसी योद्धाको रूपमा जिम्मेवारी पाउँदै जानुभयो,’ अहिले क्रान्तिकारी कम्युनिष्ट पार्टीमा आवद्ध माओवादीका पुराना नेता गुणराज लोहनी सम्झिन्छन्।
माओवादी पार्टीको आन्तरिक जिम्मेवारीमा त्यसपछि विप्लव कहिल्यै पछि फर्किनु परेन। पार्टीको सुप्रिमोको हैसियतमा प्रचण्डले पनि विप्लवलाई जहिल्यै महत्व दिँदै आए। विप्लव पनि प्रचण्डलाई उसैगरी महत्व दिन्थे। ०५७ मा प्रचण्डपथको सुरूवात गर्दा विप्लव नेतृत्वकर्तामध्येकै एक थिए। त्यसबेला भारतको पञ्जाबमा भएको दोस्रो सम्मेलनले प्रचण्डपथको सुरूआत गरेको थियो।
प्रचण्डपथबारे विप्लवले आफ्नो किताब ‘महापतन’मा लेखेका छन्- त्यसबेला ‘प्रचण्डपथ’ र संविधान सभाको कार्यनीतिसहित प्रचण्ड-बाबुरामको नाभी जोडिन पुगेको थियो। पूरै निश्चयका साथ भन्न सकिन्छ, त्यसबेला भारत नेपालका तीन वटा शक्तिसँग खेलिरहेको थियो- संसद्, दरबार र माओवादी।’
यद्यपि विप्लवले ०५७ सालमा पार्टीले लिएको नीतिलाई त्यतिखेरै भने गलत भनेका थिएनन्।
०६१ सालमा माओवादीका वरिष्ठ नेता मोहन वैद्य ‘किरण’ भारतमा पक्राउ परे। त्यही वर्ष असारमा प्रचण्ड र बाबुरामसहितका नेताहरू रोल्पा पुगेका थिए। त्यसबेला रोल्पाको फुल्किवाङमा भएको बैठकको माओवादी वृत्तमा अहिले पनि महत्वका साथ चर्चा हुन्छ। त्यसबेला विप्लवले झन्डै १० महिना नेताहरूको खाने-बस्ने व्यवस्थादेखि सुरक्षाको प्रबन्ध पनि राम्रो गरेका कारण उनको व्यवस्थापकीय कलाबारे प्रचण्डले राम्रै प्रशंसा गरेका थिए।
२०६१ मै रोल्पाको लावाङमा भएको बैठकले पार्टीका वरिष्ठ नेता बाबुराम भट्टराईलाई कारबाही गर्ने निर्णय गर्दा विप्लव ढुक्कैसँग प्रचण्डको पक्षमा उभिएका थिए। त्यसपछि झन् प्रचण्डको नजरमा विप्लव प्रिय बन्दै गए, यी दुई बीचको सम्बन्ध झन् कसिलो भयो।
सम्बन्धको गति समयझै एकनासले बग्दैन।
विप्लवमा पलाउँदै गएको महत्वकांक्षा र तौलिएर व्यवहार गर्ने प्रचण्ड स्वभावका कारण २०६२ को अन्तिमतिर यी दुईको सम्बन्धमा चिसोपन आयो। विप्लवसँगको सम्बन्ध सम्झिने क्रममा एकपटक प्रचण्डले भनेका थिए,‘जनमुक्ति सेनाको चार जना डेपुटी कमाण्डरमध्ये एउटा आफू हुनुपर्ने उहाँको प्रस्ताव थियो, परिस्थितिबस त्यो मिलेन। त्यसपछि उहाँले अलि धेरै नै मन दुखाउनुभयो।’
त्यतिबेला माओवादीले वर्षमान पुन, जनार्दन शर्मा, नन्दकिशोर पुन र चन्द्रप्रकाश खनाललाई डेपुटी कमाण्डर बनाएको थियो।
अहिले एमालेमा रहेका तत्कालीन माओवादी नेता मणि थापा पनि ०५७ पछि झाँगिएको प्रचण्ड-विप्लव सम्बन्ध शान्ति प्रक्रिया सुरू भएपछि बिग्रिएको स्मरण गर्छन्।
‘०५७/०५८ तिर विशेष क्षेत्रको इन्चार्ज विप्लवलाई बनाएपछि उनीहरूको सम्बन्धमा विकास भयो भन्ने लाग्छ,’ थापाले भने, ‘शान्ति प्रक्रियामा आइसकेपछि भने शान्ति प्रक्रिया र संविधानलाई कसरी बुझ्ने भन्ने विषयमै उनीहरूको मत मिलेन।’
२०६४ सालमा माओवादीको पाँचौं विस्ताारित बैठक काठमाडौंको बालाजुमा बस्यो। त्यस बैठकले पहिलो पटक प्रचण्डले ल्याएको राजनीतिक दस्तावेज खारेज गर्यो। २०५७ मा प्रचण्डपथ नै पारित गर्न भूमिका खेलेका विप्लवहरू ०६४ मा आइपुग्दा प्रचण्डको दस्तावेज नै पास हुन नदिने अवस्थामा पुगे।
०६४ को संविधान सभा चुनावमा मोहन वैद्य, विप्लवसहितको ठूलो समूह सहभागी नै भएन। ०६५ मा खरिपाटी भेलामा फरक दस्तावेज नै आयो । यद्यपि ०६४ को संविधान सभाको उपलब्धीलाई रक्षा गर्न नसकेकोप्रति अहिलेचाहिँ विप्लवमा ठूलो पछुतो रहेछ।
सेतोपाटीसँगको अन्तर्वार्ताका क्रममा विप्लवले भनेका छन्,‘माओवादीलाई २०६४ सालमा अभूतपूर्व अवसर प्राप्त भएको थियो, त्यसलाई हामीले सदुपयोग गर्न सकेनौं। अहिले फेरि एउटा समय छ। यसलाई हामीले सदुपयोग गर्नुपर्छ।’
यहीँनिर विप्लवको प्रस्ताव छ, सबै माओवादीहरू एक ठाउँमा आउनुपर्छ। विप्लवको यही प्रस्तावमा प्रचण्डको पनि पुरै सहमति छ। यी दुईको मन मिलेको छ। तर प्रचण्डसँग छुट्टिएर अलग पार्टी बनाएपछि विप्लवले आफ्नो पार्टी निमार्णभन्दा धेरै ध्यान प्रचण्डको भण्डाफोरमा लगाएको विषय हतपति बिर्सिने खालको छैन। उसो त प्रचण्डले पनि विप्लवलाई केही महिनाअघिसम्म उग्रवादी र प्रतिक्रान्तिरीको संज्ञा दिन्थे।
‘प्रचण्डमा विभत्स खालको विचलन आयो र विचलित भए । बादलको भाषामा उनी जनयुद्धका ‘नायकबाट एक खलनायक’ मा पतन हुन पुगे,’ विप्लवले आफ्नो पुस्तक महापतनमा लेखेका छन, ‘आखिर एक जनयुद्धको नायक र क्रान्तिकारी नेतामा यो विचलन कसरी हुन आइपुग्यो? धेरै मान्छेलाई बुझिनसक्नुको प्रश्न छ? यो विचलन शान्ति प्रक्रियापछि आकस्मिक रूपले देखियो? जनयुद्धको आरम्भमै यो समस्या थियो या यसका केही कडी जोडिएका छन्?’
२०७५ सालमा प्रकाशित ‘महापतन’ पुस्तकमा विप्लवले प्रचण्डमाथि ११ वटा बुँदामा समीक्षा गरेका छन्।
दुबै पक्षको यो आक्रमण गत मंसिर ४ मा भएको आमचुनाव अघिसम्म जारी थियो। कांग्रेस र नेकपा (एकीकृत समाजवादी)सँगको गठबन्धन गरेरै चुनावमा होमिँदा पनि अपेक्षित परिणाम आउन नसकेपछि माओवादी केन्द्र झस्किएको छ।
जनमत कमजोर हुँदै जानुले पुराना माओवादीहरूलाई एक ठाउँमा उभिने वातारवरण तय भएको सम्बद्ध नेताहरू बताउँछन्।
‘पार्टीभित्र गुट-उपगुटहरूको ठूलो जालो पनि छ। पार्टीमा सुधार गर्ने पात्रको रूपमा विप्लवलाई हेरेको जस्तो लाग्छ, विप्लवजीको पनि शक्ति आर्जन गर्ने चाहना होला,’ माओवादीका एक नेताले भने।
प्रचण्ड स्वयंले पनि यसको संकेत गरेका छन्। केही दिनअघि अखिल क्रान्तिकारीको स्ववियु काउन्सिल बैठकमा उनले बरू पार्टी बाहिरका विप्लवहरूले आफ्नो नेतृत्वको सरकारले गरेको राम्रो कामको प्रचार-प्रसार र प्रंशसा गरेको तर पार्टीभित्रकै रैथानेहरूले बेवास्ता गरेको बताएका थिए।
काठमाडौंमा भएको एक कार्यक्रममा पूर्वसभामुखसमेत तथा माओवादी नेता अग्निप्रसाद सापकोटाले पनि विप्लवसँग आफूहरूको ‘वेभलेन्थ’ मिलिरहेको बताएका थिए। आफूहरू अहिले पनि एउटै मोर्चामा आवद्ध भएर अघि जान तयार रहेको सापकोटाको भनाइ थियो।
माओवादी स्रोतहरूका अनुसार विप्लव र प्रचण्डबीचको सम्बन्धको सेतु बनिरहेका माओवादी नेता कृष्णबहादुर महराले विप्लवलाई माओवादीको महासचिव बनाउने आश्वासन दिइरहेका छन्। रोल्पाको माओवादी राजनीतिमा सुरूआतदेखि नै विप्लव र महरा एकातिर थिए भने वर्षमान अर्कातिर। रूकुमबाट उदाएका जनार्दन शर्मा पनि महराले रूचाएका नेता होइनन्। माओवादी पार्टी नेतृत्वमा जबर्जस्त उदाउँदै गरेका पुन र शर्मालाई साइजमा राख्ने मौकाको रूपमा महराले विप्लवलाई हेरिरहेका हुन्।
‘विप्लवजीले बाहिर बोलेको र लेखेको अनुसार जनयुद्धका सहिद वेपत्ताको नाम सार्वजनिक गरेपछि उहाँ प्रचण्ड सरकार र माओवादीप्रति सकारात्मक हुनुभएको हो। तर भित्री कुराचाहिँ विप्लव रोमाञ्चकारी मान्छे नै हुनुहुन्छ। क्रान्ति गर्ने नै भनेर प्रचण्डसँग छुट्नुभएको हो। ६/७ वर्ष कोशिश पनि भयो। हाम्रो पक्षमा माहौल आउँछ भनिएको थियो तर भएन,’ भूमिगत कालमा करिब तीन वर्ष विप्लवको सचिवालयमा बसिसकेका लोहनीले भने, ‘अब क्रान्तिबाट हुँदैन भन्ने उहाँलाइ लाग्यो होला। त्यसैले उहाँहरूको सम्बन्ध राजनीतिक-वैचारिक भन्दा पनि विशुद्ध व्यवहारिक देखिन्छ।’