नेकपा (एमाले) को केन्द्रीय सचिवालयको २५ औं बैठक २०८० भाद्र ९ गते सिराहा जिल्लाको धनगढीमाई नगरपालिका सर्रे अम्बासमा आयोजना गरिँदैछ। यसबेला एमालेको नेतृत्वदायी निकायको बैठक त्यहाँ किन हुँदैछ- धेरैलाई अनौठो लागेको हुनसक्छ।
यस पछाडि केही भावनात्मक, केही ऐतिहासिक र केही भविष्यका लागि संकल्पहरू गाँसिएका छन्।
२०३५ साल पुस ११-१४ मा ‘कोर्डिनेसन- केन्द्र’ ले आयोजना गरेको ‘राष्ट्रिय सम्मेलन’ बाट नेकपा(माले) स्थापनाको घोषणा गरिएको थियो। त्यसपछि २०४६ सालसम्म आइपुग्दाको एघार वर्षको अवधिमा राष्ट्रिय राजनीतिमा धेरै परिवर्तनहरू भएका थिए। निर्दलीय र निरंकुश पञ्चायती शासन सत्ताको विरोधमा राष्ट्रव्यापी आन्दोलन सञ्चालन भइसकेको थियो।
उक्त राष्ट्रव्यापी आन्दोलनबाट त्रसित भएर राजाले ‘सुधारिएको पञ्चायत’ कि ‘बहुदलीय व्यवस्था’ भन्ने विषयमा जनमत संग्रहको घोषणा गर्न बाध्य हुनु परेको थियो।
उक्त जनमत संग्रहमा अनेक हत्कण्डा र धाँधली गरेर पञ्चायतलाई जिताइएको थियो। त्यसरी विजयी गराइएको पञ्चायतले नयाँ ढंगले मुलुकमा रजगज सुरू गरिसकेको थियो। पञ्चायतका पक्षधरहरू मुलुकभरि वितण्डापूर्ण गतिविधिहरूमा संलग्न हुन थालेका थिए। वारेन्ट, गिरफ्तारी तथा हत्या समेतका घटनाहरू भइरहेका थिए। त्यस्तो अवस्थामा त्यसको प्रतिवादका लागि राज्यद्वारा ‘अवैध’ घोषणा गरिएका राजनीतिक पार्टीहरू नयाँ स्तरमा आफूहरूलाई संगठित गर्न लागिरहेका थिए। राष्ट्रव्यापी आन्दोलन र ‘जनमत संग्रह’ को अभियानले नेपाली जनताको सामाजिक-राजनीतिक चेतनालाई नयाँ स्तरमा उठाएको थियो। त्यस्तोबेला क्रियाशील राजनीतिक पार्टीहरूमध्ये भूमिगत रूपमा क्रियाशील र दह्रो जनआधारसहित अगाडि बढिरहेको ‘नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी- लेनिनवादी)’ एउटा उदीयमान शक्तिका रूपमा अगाडि बढिरहेको थियो।
विचारलाई व्यवस्थित बनाउने, संगठनात्मक सञ्जाललाई देशव्यापी बनाउने र जनसरोकारका मुद्दाहरूमा जनपरिचालन गर्ने काममा ‘माले’ अग्रपंक्तिमा देखा परिरहेको थियो। मजदुर, विद्यार्थी, महिला, किसान आदिलगायत अन्य सरोकारका क्षेत्रहरूमा समेत आफ्नो प्रभाव र गतिविधिहरू तीव्रताका साथ अगाडि बढाइरहेको थियो। पार्टी जीवनमा र मुलुकको परिस्थितिमा धेरै परिवर्तन भइसकेको अवस्थामा महाधिवेशन गर्नु आवश्यक भैसकेको थियो। विभिन्न साना ठूला कम्युनिष्ट समूहहरू ‘माले’ मा सामेल भएर यो पार्टी एक किसिमले कम्युनिष्ट पार्टीको मूलधार बनिरहेको थियो। मुलुकमा निर्दलीय शासन व्यवस्थाका विरूद्धमा संयुक्त जनआन्दोलनको आवश्यकता टड्कारो बनिरहेको थियो र भूमिगत अवस्थामा काम गरिरहेका विभिन्न राजनीतिक दलहरू यो आवश्यकतालाई महशुस गर्दै क्रियाशील बनिरहेका थिए। उनीहरू एक आपसमा संवाद तथा छलफलमा सक्रिय हुन थालेका थिए। यसरी मुलुक परिवर्तनको ऐतिहासिक संघारमा पुगिसकेको थियो। ठीक त्यस्तो परिस्थितिमा ‘माले’ पार्टीले २०४६ भाद्र ९-१४ मा महाधिवेशन आयोजना गरेको थियो।
‘माले’ ले आफूले आयोजना गरेको महाधिवेशनलाई ‘चौथो’ भनेको थियो। यसको तर्क र कारण-२०१९ सालमा आयोजना गरिएको नेकपाको ‘तेस्रो महाधिवेशन’ नेकपा एकीकृत रहेकै अवस्थामै आयोजना गरिएको महाधिवेशन भएका कारण ‘माले’ पार्टीले आयोजना गरेको महाधिवेशन पनि एकीकृत नेकपाकै निरन्तरताको रूपमा ‘चौथो’ भनेर नामकरण गरिएको थियो।
‘माले’ अलग समूहका रूपमा रहे पनि र त्यसैअनुसार नाम राखिएको भए पनि आफू विभिन्न कम्युनिष्ट समूहहरू एकीकृत नेकपाकै निरन्तरताको रूपमा रहेको र त्यसैले यो आयोजना गरिएको महाधिवेशनलाई ‘चौथो महाधिवेशन’ भनिएको थियो।
यो महाधिवेशनको तयारी विशेष सतर्कताका साथ गरिएको थियो। विभिन्न जिल्लाहरूमा महाधिवेशनका सम्भावित स्थलहरूको खोजी गर्दै हामीहरू (जीवराज आश्रित, माधव नेपाल र म) उपयुक्त स्थानको खोजीमा लागेका थियौं। अर्घाखाँचीको धनचौर; रूपन्देही, धनुषा, महोत्तरीका गाउँहरू; ललितपुरका दक्षिणी भेकका गाउँहरू; सप्तरीको तरेगना; मोरङ, झापा, उदयपुर हुँदै सिराहा पुगेका थियौं। ती सबै ठाउँहरूमध्ये पहिले सिराहाको तत्कालीन बसन्तपुर पञ्चायत (फूलकाहापट्टी गाविस) अन्तर्गत मोथियाई गाउँमा महाधिवेशन आयोजना गर्नु उचित हुने निर्णय गरिएको थियो र त्यसै अनुरूप सबै तयारी गरियो पनि।
तर महाधिवेशनको तयारीसम्बन्धी सबै कागजपत्र, नक्सा तथा सूचनाहरू सहितको महत्वपूर्ण झोला काठमाडौंमा त्यसबेला ‘पार्टी हेडक्वार्टर’ सँग सम्बन्धित केही साथीहरूको असावधानीका कारण हराएपछि अन्तिम अवस्थामा महाधिवेशनका लागि तयार गरिएको उक्त ठाउँ (मोथियाई) सुरक्षा संवेदनशीलतालाई ख्याल गरेर रद्द गरिएको थियो।
त्यसको झन्डै डेढ महिनापछि फेरि सिराहा जिल्लाकै बिष्णुपुरकट्टीको उत्तरतिरको गाउँ-तत्कालीन विष्णुपुर गाउँ पञ्चायतअन्तर्गत पर्ने अम्वास राइरइनी गाउँ (हाल धनगढीमाई नगरपालिकाको सर्रे अम्बास) स्थित तत्कालीन जिल्ला कमिटीका सदस्य हिराबहादुर सुनुवारको घर- टोलमा सबै हिसाबले उपयुक्त हुने ठानियो।
टुंगो भएपछि हामीहरू त्यहाँ चाहिने सबै कुराको तयारीमा लागेका थियौं, झन्डै २५ दिन लगाएर एउटा काठको घर बनाइएको थियो। त्यही तयारीपछि हामीहरूले त्यहाँ महाधिवेशन सफलताका साथ सम्पन्न गरेका थियौं। उक्त कार्यक्रममा त्यसबेला जिल्ला कमिटीका सचिव सत्यनारायण मण्डललगायत हिराबहादुर सुनुवार, हरि पोखरेल, सुरेश कार्की, रामकरण महतो, शिवदयाल विश्वकर्मा, हिकबहादुर लुंगेली, गिरिधारी मैनाली, नारायण गेलाल, रामेश्वर साहलगायत स्थानीय साथीहरूले विशेष भूमिका खेल्नुभएको थियो।
माथिल्लो कमिटीबाट अशोक राई पनि तयारीको सिलसिलामा पुग्नुहुन्थ्यो। म आफूले वर्षौं तिनै क्षेत्रमा भूमिगत रूपमा काम गरेका कारण महाधिवेशनको ठाउँ तय गर्न र त्यस काममा साथीहरूलाई परिचालित गर्न मलाई धेरै सहयोग पुगेको थियो।
त्यसबेला सिराहा जिल्ला ‘माले’ को ‘पूर्व दक्षिण क्षेत्रीय कमिटी’ अन्तर्गत पारिएको थियो। सुरूको ‘मध्य दक्षिण क्षेत्र’ लाई दुई भागमा विभाजित गरी कमला नदी पूर्वका जिल्लाहरूलाई ‘पूर्व दक्षिण’ मा पारिएको थियो भने कमला नदी पश्चिमका जिल्लाहरूलाई ‘नारायणी क्षेत्र’ मा पारिएको थियो।
देशभरिका ५६ जिल्ला, भारत प्रवास, विभिन्न जनसंगठन/मोर्चा संगठनबाट प्रतिनिधित्व भएको त्यो ‘चौथो महाधिवेशन’ मा ‘माले’ ले आफ्ना कतिपय नीतिमा महत्वपूर्ण परिवर्तन गरेको थियो। पहिलेदेखि मार्गदर्शक सिद्धान्तमा मार्क्सवाद-लेनिनवाद-माओ त्सेतुङ विचारधारा भन्दै आएकोमा अब मार्क्सवाद लेनिनवाद मात्र मार्गदर्शक सिद्धान्त भन्ने (अरू देशका क्रान्तिका अनुभवहरूबाट शिक्षा लिए पनि आफ्नै देशको विशिष्टतामा क्रान्तिका सिद्धान्त र कार्यक्रम विकास गरिनुपर्छ), क्रियाशील वामपन्थी समूहहरूका बीचमा संयुक्त ‘वाम मोर्चा’ बनाउन पहल गर्ने, त्यसरी बनाइएको ‘संयुक्त वाममोर्चा’ ले साझा शत्रु- पञ्चायती निरंकुशताका विरूद्धको संयुक्त संघर्षका लागि नेपाली कांग्रेससित समेत ‘कार्यगत एकता’ गर्ने; विभिन्न वर्ग, पेशा, तहलाई परिवर्तनको अभियानमा सरिक गराउन तिनीहरूलाई व्यापक रूपमा संगठित गर्न पार्टी परिचालित हुने आदि विषयहरूमा महत्वपूर्ण निर्णयहरू गरेको थियो। यी कुराबाहेक अर्को महत्वपूर्ण कुरा- पार्टीको कार्यक्रममा समेत नयाँ कुरा थप गरिएको थियो।
कार्यक्रममा ‘बहुदलीय प्रतिस्पर्धा सहितको जनवादी व्यवस्था’ भनेर विशेष व्यवस्था उल्लेख गरिएको थियो, जुन २०४९ सालको पाँचौं राष्ट्रिय महाधिवेशनले पारित गरेको ‘जनताको बहुदलीय जनवाद’ को कार्यक्रमको महत्वपूर्ण आधार थियो। यसरी ‘माले पार्टी’ को राजनीतिक-सांगठनिक जीवन र मुलुकको राष्ट्रिय राजनीतिलाई सही दिशामा हिँडाउने कुराको ऐतिहासिक र महत्वपूर्ण प्रारम्भ गरेको थियो- सिराहाको सर्रे अम्बासमा सम्पन्न चौथो राष्ट्रिय महाधिवेशनले।
महाधिवेशनबाट यी महत्वपूर्ण नीतिगत निर्णयहरू गर्न र सिंगो पार्टी पंक्तिलाई त्यसमा दृढतापूर्वक हिँडाउन मदन भण्डारीको महत्वपूर्ण र नेतृत्वदायी भूमिका रहेको थियो। उहाँको त्यो भूमिका यति महत्वपूर्ण ढंगले स्थापित भएको थियो कि उहाँ चुनौतीहीन नेताका रूपमा अगाडि आउनुभएको थियो र यही विशेष हैसियतका कारण महाधिवेशनलगत्तै बसेको केन्द्रीय कमिटीको पहिलो बैठकबाट उहाँ सर्वसम्मतिका साथ महासचिवमा निर्वाचित पनि हुनुभएको थियो। त्यो महाधिवेशनमा कमरेड मदन भण्डारी पार्टीभित्र भरोसालाग्दो हिसाबले उदाउँदै गरेको व्यक्तित्वका रूपमा स्थापित हुनुभएको थियो।
महाधिवेशन सकिएपछि सबै साथीहरू बिदा भएपछि मदन भण्डारी र ममात्र अन्तिमसम्म रहेका थियौं। म त्यो कार्यक्रमको मूल व्यवस्थापक भएका कारण सबै मिलाउनुपर्ने कुराहरू मिलाएर, सबै साथीहरूसित आवश्यक कुराहरू गरी बिदा भएको थिएँ। ती सबै काम गरिरहँदा मदन भण्डारी मसितै रहनुभएको थियो। सबै काम सकेर हामीहरू दुबै जना होसियारीपूर्वक झन्डै डेढ दुई घन्टा दक्षिणतिर हिँडेर पूर्व-पश्चिम राजमार्गसम्म पुगेका थियौं। झन्डै सात दर्जन जति क्रान्तिकारी नेता/कार्यकर्ताहरूको उपस्थितिमा, विशेष सुरक्षा प्रबन्ध गरेर हामीहरूले त्यो महाधिवेशन सम्पन्न गरेका थियौं। यही महाधिवेशनले मदन भण्डारीलाई पार्टीको सर्वोच्च पदमा पुर्याएको थियो।
२०४६ सालको ऐतिहासिक जनआन्दोलनपछि खुला रूपमा केही नेताहरू सार्वजनिक परिचयका साथ देखा पर्नुभएको भए पनि महासचिव मदन भण्डारी भने ‘प्रकाश’ का नामबाट पार्टी प्रवक्ताको परिचयसहित सार्वजनिक हुनुभएको थियो। यसैक्रममा २०४७ सालमा ‘अन्तरिम संविधान’ जारी भएपछि तत्कालिन ‘माले’ का तर्फबाट त्यसप्रति ‘२७ बुँदे आलोचनात्मक समर्थन’ जारी गरिएको थियो। तर जारी गरिएको नयाँ संविधानप्रति ‘माले’ को ‘आलोचनात्मक समर्थन’ का कारण पार्टी पंक्ति र समर्थक जनतामा समेत भ्रमहरू सिर्जना हुन पुगेका थिए। यही पृष्ठभूमिले सिर्जना गरेको आवश्यकतालाई ख्याल गर्दै २०४७ साल कात्तिक २५ गते काठमाडौं टुँडिखेलको खुलामञ्चबाट मदन भण्डारीले पहिलो पटक महासचिवका हैसियतले सार्वजनिक सम्बोधन गर्नुभएको थियो र एकै पटक हजारौं जनतालाई ‘माले’ को दृष्टिकोणको व्याख्या गर्नुभएको थियो। यही सभाबाट एकै पटक आम जनताले ‘माले’ को दृष्टिकोण पनि बुझेका थिए र मदन भण्डारीको क्षमता र प्रतिभासित परिचित हुने अवसर पाएका थिए।
नेकपा( माले) को चौथो राष्ट्रिय महाधिवेशनले मदन भण्डारीलाई ‘माले पार्टी’ को केन्द्रीय राजनीतिमा र राष्ट्रिय राजनीतिमा एउटा उज्ज्वल सम्भावना भएको नेताका रूपमा स्थापित गर्ने कामको ऐतिहासिक प्रारम्भ भएको थियो। र, यो ऐतिहासिक काम सम्पन्न गर्ने ऐतिहासिक स्थल सिराहा धनगढीमाई नगरपालिकाको सर्रे अम्बास थियो। नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५ औं वर्ष अर्थात् ‘हिरक जयन्ती’ को अवसर पारेर नेकपा(एमाले) को वर्तमान नेतृत्वले मुलुकका सम्पूर्ण राष्ट्रिय शक्तिहरूलाई गोलबन्द गर्ने ऐतिहासिक अभिभारा पूरा गर्ने संकल्पका साथ केन्द्रीय सचिवालयको ऐतिहासिक बैठक आयोजना गर्दैछ। केही नयाँ अठोट, केही नयाँ संकल्पका साथ जननेता मदन भण्डारीलाई उच्च सम्मानका साथ सम्झना गरिनेछ।