दाङको दंगीशरण गाउँपालिका-३ को हेँकुली चोकबाट पश्चिमपट्टि किसानहरूले उत्पादन गरेका तरकारी, फलफूल तथा अन्न राख्नका लागि चिस्यान केन्द्र बनाएको वर्षदिन पुग्यो।
तर स्थानीय किसानले यो चिस्यान केन्द्र उपयोग गर्न सकेका भने छैनन्। किनभने बनाइनसक्दै यो चिस्यान केन्द्र काम नलाग्ने भइसकेको छ।
दक्षिण फर्केको भवन एउटा कुनाबाट भासिँदै गएको छ भने अर्को कुना जमिनभन्दा माथि उठेको छ।
स्थानीयहरूका अनुसार जग हाल्ने बेला भवनको पूर्वी भाग र पश्चिमी भागको सतह बराबर थियो। हेर्दाहेर्दै भवनको ढोकापट्टिको कुना उकासिँदै गयो।
एकापट्टिको भाग उकासिँदै गएको भएर होला जस्तापाताको छाना पनि बांगिएका छन्। छाना अड्याउने फलामे एंगलहरू हेर्दा सर्पले भ्यागुतो निलेजस्तो देखिन्छ। छानाको बीच भागै मक्किएको छ।
स्थानीय ४० वर्षीया अम्बिका वलीले आफूले बनाउन सुरू गर्दादेखि यो भवन देखेको बताइन्।
‘सुरूमा भवनको भुइँको लेभल बराबर थियो,’ उनले भनिन्, ‘तर अहिले त ढोका माथि-माथि उचालिँदै उक्लनै नसक्ने भइसकेको छ। पानी परेपिच्छे ढोकापट्टिको भाग उकासिन्छ।’
उनी लगायत स्थानीयले यो भवनलाई ‘कागजको डुंगाझैं पानीमाथि तैरिरहेको एक करोड भवन’ भनेर मजाक गर्छन्।
‘यो त कुला खोल्सामा केटाकेटीले कागजको डुंगा चलाएझैं तैरिएको छ। यसको डिजाइन गर्ने इन्जिनियर कस्ता रहेछन्?,’ उनले भनिन्, ‘हेर्नुहोस् त यहीँ नजिकै गाउँमा माटोका घर समेत वर्षौंदेखि केही भएका छैनन् अनि लाखौं रूपैयाँ खर्चिएर बनाइएको सरकारी कोल्ड स्टोरको भवन पानी माथि तैरिँदै जान्छ भने लापरबाही गरेको नभएर के हो?’
गलत डिपिआर, गलत डिजाइन र गलत इञ्जिनियरिङका कारण क्रमिक रूपमा यो संरचना पूर्वतर्फ जमिन माथि स्वत: टंचिँदै र पश्चिमतर्फ भासिँदै गएको हो।
यो कोल्ड स्टोर भवन झन्डै चार वर्ष पहिले २०७६ सालको कात्तिक/मंसिर महिनादेखि निर्माण सुरू भएको थियो। गत वर्ष असोजमा भवन निर्माण कार्य पूरा भएको हो।
इञ्जिनियर गौतमका अनुसार दुई तले चिस्यान केन्द्रका लागि गाउँपालिकाको आधा र प्रदेश सरकारको आधा गरी एक करोड दश लाखमा टेन्डर आह्वान भएको थियो।
झन्डै ९२ लाखमा घोराहीको लोकमणि विल्डर्सले निर्माण गर्ने काम पाएको थियो। उसले पेटी ठेकेदारको रूपमा काम गर्ने जिम्मा स्थानीय वशन्त वलीलाई सुम्पेको थियो।
कोल्ड स्टोर प्रयोगमा नआइ काम नलाग्ने भइसके पनि निर्माण कम्पनीले ९० लाख रकम भुक्तानी पाइसकेको गाउँपालिका प्रशासन शाखाले जानकारी दिएको छ।
ठेकेदार कम्पनीको साढे चार लाख धरौटी भने बाँकी छ। त्यतिखेर कोल्डस्टोर भवनको डिजाइन गर्दा इञ्जिनियर अंकित आचार्य थिए। उनी अहिले अमेरिकामा छन्।
अहिले बहालवाला इञ्जियिनर प्रमोद गौतमले जमिनमुनिको पानीको उतारचढाव ख्याल नगरी गलत डिजाइनका आधारमा बनाइएकोले समस्या पैदा भएको बताए।
‘यहाँ भवन बनाउँदा हिउँदमा पानीको लेभल हेरियो होला,’ उनले भने ‘ तर, असार साउनमा त्यो पानीको लेभल तलमाथि हुन्छ भन्ने कुरा ननापेरै ख्याल नगरी संरचना बनाउँदा समस्या भएको मलाई लाग्छ।’
उनका अनुसार जमिन मुनिको पानीका कारण भवनमाथि उचालिएको हो। आफूहरूले जमिनमुनिको पानी बाहिर निकाल्यो भने भवन काम लाग्ने हुन्छ कि भनेर प्रयास गरेको तर नभएको पनि उनले बताए।
‘भवनको तलबाट वरिपरि पाइप लगाई पानी बाहिर फालेर पो समस्या समाधान हुन्छ कि भनेको यसपालि पाइपभित्रै लेदो जम्यो पानी जान छोड्यो,’ उनले भने, उनले भने, ‘अहिले पानीको प्रेसरका कारण क्रमिक रूपमा माथिमाथि उचालिँदै गएको हो।’
समस्या उत्पन्न भएपछि डिपिआर गर्ने मुनलाइट कन्सल्टेन्सीलाई पत्र काटिएको उनले जानकारी दिए।
‘उसले हेरेर गएको छ रिपोर्ट दिएपछि कसरी अघि बढ्ने भन्ने हुन्छ,’ उनले भने, ‘यसअघिको कार्यकालमा गल्ती भएकै यसलाई सच्याउनुको विकल्प छैन।’
डिपिआर गर्ने दक्ष जनशक्तिको अभाव र कोल्ड स्टोर कसरी बनाउने भन्ने पर्याप्त प्राविधिक ज्ञान नभएकाले पनि यस्तो समस्या आएको उनले बताए।
स्थानीयहरूले गलत काम गर्ने जतिलाई कारबाही हुनुपर्ने बताउँछन्।
‘सरकारी लगानी बालुवामा पानी,’ वलीले भनिन्। उनले दोषीमाथि कानुनी कारबाही हुनुपर्ने बताइन्।
नजिकै चिया चोकमा भेटिएका एक युवाले कोल्डस्टोरको डिजाइन गर्ने इञ्जियिनर र डिपिआर तयार पार्ने प्राविधिकलाई ‘पुरस्कार दिनुपर्ने’ भन्दै व्यंग्य गरे।
वडा अध्यक्ष शुकलाल चौधरीले चिस्यान केन्द्र प्रयोगमा नआइ काम नलाग्ने भएपछि आफ्नो टाउको दुखाइ बनेको बताए।
‘मलाई वडाबासीले प्रयोगमा नआई जीर्ण बनेको चिस्यान केन्द्रको बारेमा सोधेर हैरान बनाउनु हुन्छ,’ वडाध्यक्ष चौधरीले भने, ‘यो निर्माण प्रक्रियामा मेरो कुनै भूमिका छैन। जवाफ पनि के दिने?’
माटो परीक्षण नै नगरी हचुवाको भरमा बनाउँदा यस्तो परिणाम आएको हुन सक्ने उनले अनुमान गरे।
‘गलत डिपिआर, गलत डिजाइन र गलत इञ्जिनियरिङका कारण यो प्रयोगमै नआई जीर्ण भएको हो भन्नेमा कुनै शंका छैन,’ चौधरीले भने, ‘यसबाट राज्यको लाखौं रकम खेर गएको छ। छानबिन गरी दोषी उपर कारबाही हुनुपर्छ।’
गाउँपालिका अध्यक्ष शम्भु गिरीले पनि अघिल्लो कार्यकालमा निर्मित संरचना भए पनि अहिले आफूले समेत आलोचना खेप्नुपरेको बताए।
‘आज सबैले हामीलाई गाली गरिरहेका छन्,’ उनले भने, ‘यो हामी आउनुभन्दा पहिलै बनेको संरचना हो भनेर सम्झाउने कोसिस गर्दै आएका छौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सबै कागजात लगेर अनुसन्धान गरिरहेको छ। यसभन्दा बढी मेरो केही प्रतिक्रिया छैन।’
ठेकेदार कम्पनी लोकमणि बिल्डर्ससँग यसबारे कुरा गर्न खोज्दा यसका सञ्चालक सम्पर्कमा आउन चाहेनन्।