बुढानिलकण्ठको एउटा रिसोर्टमा मंगलबार आयोजित उपत्यका मेयर्स फोरमको मासिक बैठक बीचमै छाडेर हिँडेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बुधबार राति आफ्नो सामाजिक सञ्जालमा त्यसबारे टिप्पणी गरेका छन्।
उपत्यकाका अन्य १७ वटा नगरपालिकाले निजी कम्पनीबाट पैसा खाएर बैठक राखेकाले बहिष्कार गरेको उनले बताएका छन्।
उपत्यकाका अन्य नगरपालिका प्रमुखहरूमाथि 'देश बेच्न खोजेको' आरोप लगाउँदै मेयर बालेनले काठमाडौं महानगर भने बिक्रीमा नरहेको टिप्पणी गरेका छन्।
'१७ वटा नगरपालिकाले कुनै प्राइभेट कम्पनीबाट पैसा खाएर बसाएको बैठक बहिष्कार गरेको हो, कसैको अपमान गरेको होइन,' बालेनले आफ्नो फेसबुकमा लेखेका छन्, 'नेताज्यूहरूले त देश नै बेच्न खोजिसक्नु भो, तर काठमाडौं महानगर बिक्रीमा छैन। तपाईंहरूले पूरै देश नै बेच्नुभो भने पनि काठमाडौं एक्लै भए पनि नेपाल भनेर उभिनेछ।'
चल्दाचल्दैको बैठक बीचैमा छाडेर हिँडेका मेयर बालेनले यति आक्रोशित टिप्पणी गरेपछि बैठकमा आखिर के भएको थियो भन्ने प्रश्न उठेको छ।
हामीले यसबारे बैठकमा सामेल उपत्यकाका अन्य केही नगरपालिका प्रमुखहरूसँग कुराकानी गरेका छौं।
प्रत्येक महिना बस्ने उपत्यका मेयर्स फोरमको बैठकमा हरेकचोटि विभिन्न एजेन्डामाथि छलफल हुन्छ। बैठकमा छलफल हुने एजेन्डा मेयर्स फोरमको सचिवालयले तय गर्छ। त्यसैअनुरूप मंगलबारको बैठकमा मेयर्स फोरमको आधिकारिक विधान प्रस्तुत गर्ने, उपत्यकाको फोहोरमैला व्यवस्थापनबारे छलफल गर्ने र फोहोर व्यवस्थापनको ठेक्का पाएको निजी कम्पनी नेपवेस्टले आफ्नो प्रस्तुति दिने एजेन्डा तयार गरिएको चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले जानकारी दिए।
उनका अनुसार नेपवेस्टले सम्झौताअनुरूप काम नगरेको हुँदा ठेक्का रद्द गर्न नेपाल सरकारसँग आग्रह गर्ने निर्णय अघिल्लो बैठकले गरेको थियो। यसका लागि नेपाल सरकारलाई पत्रसमेत लेखेको उनले बताए।
'यिनै विषयमा फोरम सचिवालयले तयार पारेको एजेन्डा ललितपुरका मेयर चिरिबाबु महर्जनले बैठकमा प्रस्तुत गर्दै हुनुहुन्थ्यो,' गिरीले भने, 'बैठक सुरू हुनासाथ मेयर बालेनले केही कुरा राख्न खोज्नुभयो। चिरिबाबुजीले एजेन्डा प्रस्तुत गरेपछि मात्र बोल्नुहोला भनेर भन्नुभयो। तर बालेनजी आफूलाई बोल्न दिइएन भनेर तुरून्तै बैठक छाडेर हिँड्नुभयो।'
चन्द्रागिरीका मेयर गिरीले अगाडि भने, 'नेपवेस्टसँगको ठेक्का रद्द गर्ने भनेर अघिल्लो बैठकले नै निर्णय गरिसकेको भए पनि नेपवेस्टले यसपालि बैठकमा जनप्रतिनिधिहरूसामु आफ्नो प्रस्तुति दिने र सबैको कुरा सुन्ने भन्दै समय मागेको थियो। मेयर्स फोरमको सचिवालयले त्यसैअनुरूप प्रस्तुति दिने कुरा एजेन्डामा समावेश गरेको थियो।'
बैठक आयोजना भएको बुढानिलकण्ठ नगरपालिकाका मेयर मीठाराम अधिकारीले काठमाडौंका मेयर बालेनले मेयर्स फोरमको औपचारिक बैठकको नैतिक मर्यादासमेत नराखेको टिप्पणी गरे।
'मेयर्स फोरमका अध्यक्षले एजेन्डा प्रस्तुत गरूञ्जेल सुन्ने धैर्य हुनुपर्यो नि,' उनले भने, 'अध्यक्षले एजेन्डा प्रस्तुत गरिसकेपछि उहाँलाई बोल्न दिने त भनिएकै थियो। तै पनि उहाँले बीचमै बैठक छाडेर नैतिक मर्यादासमेत राख्नुभएन। उहाँलाई अध्यक्षले एजेन्डा प्रस्तुत गर्नुअघि नै बोल्न पाउनुपर्छ भन्ने लाग्यो।’
मंगलबारको बैठकमा फोहोर व्यवस्थापनबारे निजी कम्पनी नेपवेस्टले प्रस्तुतिकरण दिए पनि त्यसबारे कुनै निर्णय नभएको मेयर अधिकारीले बताए।
उपत्यकाकै अर्का एक मेयरले बालेन शाह बैठकको सुरूमै आफूले बोल्न नपाएको भन्दै सन्किएर निस्किएको बताए।
'उहाँलाई पहिलेदेखि नै फोरमको अध्यक्षमा आफूलाई नराखेको रिस थियो। हिजो चाहिँ आफ्नो कुरा सुरूमै भन्न दिइएन भनेर उहाँको इगो हर्ट भएको हो,' उनले भने, 'त्यही भएर बैठक सुरू भएको १० मिनेटमै उहाँ सन्किएर निस्कनुभयो। अरू कुनै कारण होइन।'
हामीले यसबारे मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाहसँग कुरा गर्दा उनले नेपवेस्ट कम्पनीको प्रस्तुति रहने एजेन्डा सुनेपछि मेयर बालेनले आपत्ति जनाएको बताए।
'मेयर बालेनले नेपवेस्टलाई फोहोर व्यवस्थापन गर्न नदिने भनेर अघिल्लो बैठकमै निर्णय भइसकेको विषयले यसपालि फेरि कसरी प्रवेश पायो र किन उसलाई प्रस्तुति दिने अनुमति दिइयो भनेर सोध्न खोज्नुभएको थियो,' उनले भने, 'प्रश्न सोध्न खोज्दा ललितपुरका मेयर चिरिबाबु महर्जनले एकछिन एकछिन भनेर रोकेपछि उहाँ चित्त नबुझेर हिँड्नुभएको हो।'
'टुंगिसकेको विषय कुनै प्रक्रियाबिना कसको फाइदाका लागि पुन: एजेन्डामा ल्याइयो भन्ने कुरा प्रश्नयोग्य छ,' भूपदेवले भने।
काठमाडौं उपत्यकामा रहेका १८ महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाका मेयर रहने गरी मेयर्स फोरम गठन गरिएको छ। यसको अध्यक्षमा ललितपुरका मेयर चिरिबाबु महर्जन छन् भने सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा उपाध्यक्ष, चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी महासचिव, टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी सचिव, तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन कोषाध्यक्ष र मध्यपुर थिमी नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ सहसचिव छन्।
फोरममा काठमाडौं उपत्यकाका सबै महानगर, उपमहानगर तथा नगरपालिकाका प्रमुखहरू पदाधिकारी एवं सदस्य रहने व्यवस्था छ।