प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले इद पर्वले सामाजिक सद्भाव र आपसी मित्रतालाई सुदृढ पार्ने बताएका छन्।
मुस्लिम धर्मावलम्बीहरूको मुख्य पर्व इद-उल-फित्रको अवसरमा शुभकामना व्यक्त गर्दै सभामुख घिमिरेले इद पर्वले राष्ट्र निर्माण, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी मित्रतालाई सुदृढ गर्न मद्दत पुग्ने बताएका हुन्।
‘विभिन्न जातजातिले आ–आफ्ना चाडपर्वमा सबै जाति र समुदायको उपस्थितिमा मनाएर धार्मिक–सांस्कृतिक एकतामा अभूतपूर्व नमूना पेस गरेका छन्,’ सभामुख घिमिरेको शुभकामना सन्देशमा उल्लेख छ, ‘यसले एक अर्काको सद्भावलाई बढाएको छ, इतिहासदेखि कै नेपाली एकता र विश्वास आगामी दिनमा अझै उचाइमा पुग्ने विश्वास लिएको छु।’
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधतायुक्त मुलुक भएको र संविधानले प्रत्येक व्यक्तिलाई आफ्नो धर्मको अवलम्बन र अभ्यास गर्ने अधिकारको व्यवस्था गरेको सभामुख घिमिरेले बताएका छन्।
‘कुनै पनि नागरिकलाई उसको धर्म वा आस्थाका आधारमा विभेद नगर्ने र राज्यका सबै नीतिमा समानता कायम गर्ने संविधानको लक्ष्य छ,’ सभामुख घिमिरेको शुभकामना सन्देशमा भनिएको छ।
राजनीतिक आन्दोलन र मुलुक निर्माणमा नेपाली मुस्लिम समुदायले ठूलो योगदान गर्दै आएको र त्यसकै प्रतिफलस्वरुप मुस्लिम समुदायलाई अगाडि बढाउन संवैधानिक आयोगको व्यवस्था गरिएको सभामुख घिमिरेले बताए।