लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिँदैछन्।
माओवादी केन्द्रको लुम्बिनी प्रदेश संसदीय दलका नेता महरा चैत २३ गते पाँच दलका ४७ र एक स्वतन्त्र गरी ४८ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
मुख्यमन्त्री नियुक्त भएको एक सातामै उनले विश्वासको मत लिन लागेका हुन्।
मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो १ बजे प्रदेश सभा बैठक बोलाइएको लुम्बिन प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार मगरले जानकारी दिए।
मुख्यमन्त्री महराले सहमति कार्यान्वयन नगरी विश्वासको मत लिन लागेको विषयमा लुम्बिनीमा एकीकृत समाजवादी रुष्ट बनेको छ।
मुख्यमन्त्रीमा समर्थन गर्दा मन्त्री बनाउने सहमति भएको तर पछि कार्यान्वयन नगरी विश्वासको मत लिन लाग्दा आशंका पैदा भएको एकीकृत समाजवादीको लुम्बिनी प्रदेश सभा सदस्य भगवती अधिकारीले बताइन्।
अधिकारी लुम्बिनीमा एकीकृत समाजवादीको एकमात्र सांसद हुन्।
‘हाम्रो सल्लाह हुँदैछ। सहमति अनुसार हामीले मन्त्री पाउनु पर्छ भन्ने हो,’ उनले भनिन्।
माओवादी केन्द्रको लुम्बिनी सचेतक इन्द्रजित थारूले वैशाख ३ गते मुख्यमन्त्रीले मन्त्रिपरिषद विस्तारको तयारी गरेको र त्यतिबेला सबै साना-ठूला दलसँग गरिएको सहमति कार्यान्वयन गरिने बताए।
मुख्यमन्त्रीले संवैधानिक प्राबधानअनुसार विश्वासको मत लिन लागेको र बाँकी सहमतिका विषयहरू छलफल गर्दै टुंगो लाग्ने थारूले बताए।
चैत २५ गते मुख्यमन्त्री महरा संगै एमालेका, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका एक/एक जना मन्त्रीले विना विभागीय मन्त्रीको सपथ लिएका थिए।
लुम्बिनीमा एमालेका २९, माओवादीका सभामुखसहित ११, जनता समाजवादीका ३, नेकपा एकीकृत समाजवादीका १ र स्वतन्त्रबाट १ सांसद छन्।
त्यस्तै नागरिक उन्मुक्ति र जनमतका ४/४ जना र लोकतान्त्रिक समाजवादीका ३ सांसद छन्।
लुम्बिनीमा कांग्रेसका २७, राप्रपाका ३ र जनमोर्चाका १ सांसद छन्।
८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन कम्तिमा ४४ जना सांसदको समर्थन आवश्यक पर्छ।