लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्।
नेकपा एमालेले मन्त्रीको नाम सिफारिस गरेपछि मुख्यमन्त्री महराले आज साँझसम्म मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन्।
एमाले संसदीय दलका नेता लिला गिरीले भूमिश्वर ढकाल, दिनेश पन्थी, अर्जुनकुमार केसी र रत्नबहादुर खत्रीलाई मन्त्री बनाउने सिफारिस गरिएको जानकारी दिए। उनीहरूले मन्त्रालय भने टुंगिनसकेको गिरीले जानकारी दिए।
एमालेका एक नेताका अनुसार पन्थीलाई गृह, ढकाललाई सहकारी विकास, केसीलाई वन र खत्रीलाई सामाजिक विकास मन्त्री बनाउने सहमति भएको छ।
यसअघि एमालेबाट चेतनारायण आचार्य र स्वतन्त्र सांसद दीपेन्द्र पुन विना विभागीय मन्त्री थिए।
स्रोतका अुनसार उनीहरूलाई पनि आजै जिम्मेवारी तोकिनेछ। आचार्यलाई अर्थ र पुनलाई स्वास्थ्य मन्त्रालयको दिइने सहमति भएको बताइएको छ।
सत्ता गठबन्धन दलहरूबीच यसअघि माओवादीले मुख्यमन्त्री र दुई मन्त्रालय तथा एमालेलाई पाँच मन्त्रालय दिने सहमति भएको भएको थियो।
अब माओवादीबाट कृष्णा केसी आज मन्त्रि बन्नेछन्। उनलाई सिँचाइ, ऊर्जा तथा खानेपानी मन्त्री बनाइने एक नेताले जानकारी दिए।
जसपाबाट भण्डारीलाल अहिर र नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी पनि आजै मन्त्री बन्दैछन्।
अहिर तीनवटै सरकारमा कृषि मन्त्री थिए भने अहिले पनि उनलाई सोही मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको स्रोतले बतायो।
त्यस्तै चौधरीलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिने दलहरुका बीचमा मोटामोटी सहमति कायम भइसकेको स्रोतको भनाइ छ।
यो संगै मन्त्रालयको संख्या १० पुग्ने छ।
तर, सरकारले भने आजै पूर्णता पाउने संभावना न्यून देखिएको छ। चैत २३ मा मुख्यमन्त्री नियुक्त हुँदा माओवादीका महराले पाँच राजनीतिक दलमध्ये नेकपा (एकीकृत) समाजवादीबाट एकजनाा र स्वतन्त्र सांसदलाई पनि सरकारमा सहभागी बनाउन लिखित प्रतिबद्धता जनाएका थिए।
तर, एमाले संसदीय दलका नेता लीला गिरीका अनुसार आज एकपा एस र स्वतन्त्रबाट मन्त्री बन्ने संभावना न्यून छ।
‘छलफल जारी छ,’ उनले भने, ‘उहाँहरु आजै सरकारमा सहभागी हुने संभावना भने न्यून देखिन्छ।’