निलो सर्ट, निलै मिडी अनि फाटेको सुरूवाल लगाएका थिए। एउटा हातमा किताब र अर्को हातमा प्लास्टिकको पोको। आधारभूत विद्यालय मायाटार नजिकैको होमस्टेमा टक्क उनीहरू रोकिए।
उनीहरू थिए कक्षा ६ मा पढ्ने सन्जिता चेपाङ र विष्णुमाया चेपाङ।
पोकोमा काफल थियो।
चितवनको इच्छाकामना–२ मायाटारस्थित होमस्टेमा रहेका पाहुनाले उनीहरूले ल्याएको काफल किनिदिए, प्रतिमाना एक सय रूपैयाँमा।
काफल बिकेपछि दुबैले कापी र कलम किने।
अनि स्कुल गए।
पहाडी क्षेत्रमा अहिले काफल, ऐंसेलु पाक्न थालेको छ। जंगलमा पाइने यी स्वादिला कन्दमूल सहरमा बस्नेहरूले विशेष मान्छन्। उनीहरूले किनिदिँदा विपन्न परिवारको खर्च जुटेको छ।
सन्जिताका भाइ क्यान्सर भएर बिते। केही समय अगाडि आमाले आत्महत्या गरिन्। बाबु मजदुरी गर्न जिल्ला बाहिर गएका छन्।
त्यस्तै विष्णुमायाको परिवारमा सात जना छन्। आमाबाबु किसान हुन्। वर्षभरि काम गरेर ६ महिना पनि खान पुग्दैन।
परिवारको आयस्रोत नहुँदा पढाइका लागि आवश्यक सामग्री जुटाउन नसक्ने यी बालिका बताउँछन्।
'स्कुलबाट फर्किएपछि जंगल जान्छौं। सकेजति काफल टिपेर राख्छौं। बिहान सरले दिनुभएको पाठ गरेर स्कुल आउँछौं,' सन्जिताले भनिन्, 'यसपालि काफल बेचेको यो तेस्रो पटक हो। पाँच सय रूपैयाँ कमाएँ।'
उनले काफल बेचेको पैसाले कापी र कलम किनेर राखेको बताइन्।
उनीहरू निउरोको सिजनमा दैनिक ३-४ मुठा बेच्छन्। एक मुठा निउरो ५० रूपैयाँमा बिक्छ।
'काफल पाक्ने सिजन सुरू भएपछि बालबालिका खुसी हुन्छन्। काफल बेचेर कापी, कलम, खाजा किन्छन्,' होमस्टे र किराना पसल चलाइरहेका टीकाबहादुर गुरूङले भने, 'घुम्न आउनेहरू काफल किन्न पाएकोमा खुसी हुन्छन्। नानीबाबुहरू आम्दानी भएकोमा खुसी छन्।'
यही गाउँमा जन्मे-हुर्केका टीकाले सानो छँदा यस्तो अनुभव गर्न पाएका थिएनन्। उनको घर नजिकै जंगलमा लटरम्म काफल फल्थ्यो। तर बिक्दैन थियो।
'काफल पनि बिक्छ भन्ने थाहै थिएन। रूख चढेर खान सक्ने खाइन्थ्यो, बाँकी झरेर सकिन्थ्यो,' उनले भने, 'अचेल त यसबाटै आम्दानी गर्नेहरू छन्।'
अचेल भरतपुर, रत्ननगर, फिस्लिङ, कुरिनटार, मुग्लिनतिरबाट काफलको धेरै माग आउने गुरूङले बताए।
इच्छाकामनाका आस्मान चेपाङको परिवार नै काफल टिप्न व्यस्त छ। ३५ वर्षीय उनका दुई छोरा, दुई छोरी छन्। उनीहरू नजिकैको स्कुलमा पढ्छन्। अरू बेला मिस्त्रीको काम गर्ने आस्मान अहिले बिहान-बेलुका काफल टिप्छन्। त्यसबाट जम्मा भएको पैसाले घरखर्च चलाउँछन्।
'अस्ति काफल बेचेर आएको पैसाले छोराछोरीलाई कापी किनिदिएँ। घरमा चाहिने नुन, तेल किन्न पनि यही पैसा काम लाग्यो,' आस्मानले भने, 'गाउँमा जो आए पनि काफल नै खोज्छन्। टिपेरै भ्याएको छैन।'
आस्मान दम्पती सिजनमा निउरो पनि बेच्छन्। हरेक वर्ष जेठदेखि भदौसम्म यहाँ कालो निउरो पाइन्छ। यो निउरोको माग सहरमा धेरै छ। उनीहरूले यस वर्ष ८० हजार रूपैयाँको निउरो बेचेको बताए।
'चार लाख रूपैयाँजति ऋण थियो। निउरो बेचेर घटाइरहेको छु। अब फेरि टिप्ने सिजन हुन लाग्यो,' उनले भने, 'गाउँमा मिस्त्रीको काम धेरै पाइँदैन। काम नभएका बेला यही गर्ने हो।'
आधारभूत विद्यालय मायाटारका प्रधानाध्यापक पदम प्रजाले गाउँको सडक कालोपत्रे भएपछि पर्यटक आउनेक्रम बढेको र उनीहरूबाट बालबालिकाले पनि लाभ लिइरहेको बताए। पहिले बजार झरेर बेच्नुपर्ने काफल अचेल गाउँमै खपत हुन्छ।
'हामी केटाकेटीलाई रूख चढ्न हुँदैन, भिरतिर नजानू भनेर सिकाउँछौं। तर ५ कक्षाभन्दा माथि पढ्नेहरूको परिवारको कमजोर आर्थिक अवस्थाका कारण अवसर गुमाउन चाहँदैनन्,' प्रजाले भने, 'फुर्सद भएपछि जंगल गएर सिजन अनुसारको कन्दमूल टिप्छन्, बेच्छन्।'
गाउँतिर घुम्ने आउनेले धेरै माग गर्न थालेपछि अभिभावकहरू छोराछोरी नै लिएर काफल टिप्न जंगल जान थालेको उनले बताए।
'कोहीले त बजार लगेर १५-२० हजार रूपैयाँ कमाएको पनि थाहा पाएँ। त्यति पैसा भयो भने उनीहरूको एक-दुई महिनाको खर्च टर्छ,' उनले भने।
प्रधानाध्यापक प्रजाका अनुसार पहुना बढ्दा समग्र गाउँलाई फाइदा भइरहेको छ। तर बाहिरबाट आउनेहरूले काफल, ऐंसेलु, लालीगुराँसका हाँगा भाँचिदिने समस्या भने बढेको उनी बताउँछन्।
'केही वर्षअघि लटरम्मै फल्ने काफल अचेल कम फल्न थालेको छ। लालीगुराँसले पूरै जंगल रातै हुन्थ्यो, त्यो कम भइरहेको छ,' उनले भने, 'प्रकृति जोगाइराख्न सक्यौं भने यसबाट सधैंभरि लाभ लिन सकिन्छ। तत्काललाई मात्रै हेर्नु हुँदैन।'