सुदूरपश्चिम मुख्यमन्त्रीमा एकीकृत समाजवादीका दीर्घ सोडारीलाई एमालेले साथ नदिए कांग्रेसले साथ दिने भएको छ।
बिहीबार बिहान बसेको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगको भेटमा उक्त सहमति भएको बताएका हुन्।
देउवा र नेपालबीच बुधबार साँझ कांग्रेस केन्द्रीय सदस्य नारायण खड्काको निवास गोल्फुटारमा छलफल भएको थियो।
उक्त छलफलमा सुदूरपश्चिम मुख्यमन्त्रीमा सोडारीलाई सहयोग गर्नेबारे सहमति भएको बिहीबारको पदाधिकारी बैठकमा देउवाले ब्रिफिङ गरेको सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले सेतोपाटीलाई जानकारी दिइन्।
सुदूरपश्चिममा एकीकृत समाजवादीले सोडारीलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो। त्यसमा एमाले असहमत छ। चार सांसद रहेको एकीकृत समाजवादीबाट सोडारीबाहेक अन्यलाई स्वीकार्ने तर उनलाई नस्वीकार्ने पक्षमा एमाले छ।
यस्तो अवस्थामा एकीकृत समाजवादीले सचिवालय बैठकबाटै निर्णय गरेपछि एमाले छलफलमा छ। सुदूरपश्चिममा मुख्यमन्त्री दाबी गर्न आज साँझ ५ बजेसम्मको समय छ।
सो अवधिमा मुख्यमन्त्री दाबी गर्दा सोडारीलाई एमालेले साथ नदिए कांग्रेसले दिने सहमहामन्त्री उपाध्यायले बताइन्।
बैठकले कोशीमा भने आफूहरू कानुनी रूपमै बलियो रहेको र राजनीतिक रूपमा लड्ने निष्कर्ष निकालिएको उपाध्यायले बताइन्।
कोशीमा मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा दिन एमाले र माओवादी केन्द्रले संकल्प प्रस्ताव आज पेश गर्ने तयारी गरेको छ। उक्त संकल्प प्रस्तावको औचित्य नरहेको पनि देउवाले आजको पदाधिकारी बैठकमा बताएका छन्।
गण्डकीमा भने कानुनी लडाइँ नै लड्नुपर्ने देउवाले बताएका छन्।
'त्यहाँ मुख्यमन्त्रीले गरेको वैधानिक होइन। यसमा कानुनी लडाइँ लड्ने नै हो,' देउवाको भनाइ उदृत गर्दै सहमहामन्त्री उपाध्यायले भनिन्।