नेकपा (एमाले) को महाधिवेशन प्रतिनिधि परिषद्को बैठक चलिरहेको छ। दुई दिवसीय बैठकको आइतबार अन्तिम सत्र पनि हो।
आज राजनीतिक, सांगठनिक र केन्द्रीय निकायहरूका प्रतिवेदनमाथि समूहगत छलफल भइरहेका छन्।
अमृत बोहरा अध्यक्ष रहेको एमाले सल्लाहकार परिषद्ले दुर्गा प्रसाईंलाई भित्र्याएको कुराबाट पार्टीले पाठ सिक्नुपर्ने बताएको छ।
प्रसाईं सुरूमा नेकपामा आबद्ध थिए। नेकपा विभाजन भएर एमाले, माओवादी केन्द्र अलगअलग पार्टीको अस्तित्वमा फर्किएपछि उनी एमालेतिर लागेका थिए। पछि एमालेको केन्द्रीय कमिटी सदस्य भएका थिए।
अहिले उनले एमाले परित्याग गरिसकेका छन्। एमाले र अध्यक्ष ओलीको चर्का आलोचक बनेका प्रसाईं प्रवृत्तिबाट पार्टीले पाठ सिक्नुपर्ने सल्लाहकार परिषद्को ठहर छ।
यद्यपि प्रतिवेदनमा प्रसाईं नाम उल्लेख भने गरिएको छैन।
‘केही पहिला झापाको एकजना व्यवसायी व्यक्ति पार्टीको केन्द्रीय कमिटीमा पदोन्नति गरिए। केही समयपछि उनी केन्द्रीय कमिटीबाट हटे। तर उनी चुप लागेर नबसी हाम्रो पार्टी र पार्टी नेतृत्वविरुद्ध सर्वांगरूपमा छारस्ट बन्न पुगे। त्यसले नपुगेर अहिले पनि उनी हाम्रो पार्टीविरूद्ध सीमाहीन अराजनीतिक गाली गर्दै जनतामा भ्रम छर्दै हिँडेका छन्। अब यस प्रकारको कुराबाट पार्टीले आगामी दिनका लागि गम्भीर पाठ सिक्नुपर्छ,’ सल्लाहकार परिषद्को प्रतिवेदनमा भनिएको छ।
सल्लाहकार परिषद्ले ऐन महरको राजीनामा र पुनः मनोनयको विषय पनि उठाएको छ।
गत फागुन ३ गते बसेको पार्टी सचिवालय बैठकले ऐन महर र सिराज अहमद फारुकीले पदबाट दिएको राजीनामा स्वीकृत गरेको बताइएको थियो।
राजीनामा दिनुको कारण नखुलाए पनि महरको राजीनामाको विषय उनको आचरणसँग जोडिएको पार्टीका नेताले बताएका थिए। पार्टीनिकट एक महिलासँग अनैतिक सम्बन्धको अडियो बाहिर आएपछि पार्टी नेतृत्वले नै महरलाई राजीनामा दिन लगाएको ती नेताले बताएका थिए।
तर, चैत ११ गते बसेको सचिवालय बैठकले उनलाई केन्द्रीय कमिटीमा पुनः मनोनीत गर्यो।
महरलाई किन राजीनामा दिन लगाइयो र किन केन्द्रीय सदस्यमा मनोनीत गरियो भनेर एमालेले सार्वजनिक रूपमा भने बताएको छैन।
‘केही दिन पहिला अर्का केन्द्रीय सदस्यको राजीनामा र पुनः मनोनयनको विषयमा प्रश्नहरू उठेका छन् । यस्ता विषयमा पार्टी गम्भिर हुनुपर्ने भएको छ,’ सल्लाहकार परिषद्ले प्रतिवेदनमा उल्लेख गरेको छ।
सल्लाहकार परिषद्ले नेपाली राजनीतिमा बढिरहेको विकृति र विसंगतिको प्रभाव एमालेको जीवनमा पनि विभिन्न रूपमा प्रकट भइरहेको बताएको छ।
खासगरी क्रान्तिकारी नैतिकता र आचरणको सवालमा अनेकौं प्रश्नहरू सार्वजनिक भएको परिषद्ले बताएको छ।
‘यो हाम्रो निम्ति गम्भीर चुनौती हो र पार्टीप्रति अनास्था बढाउने अर्को नकारात्मक पाटो पनि हो। यसमा पनि पार्टी समयमा सचेत बन्नुपर्दछ। हामी एकातिर संगठनात्मक क्षेत्रमा देखापरेका अराजकता नियन्त्रणको कुरा गरिरहेका छौं भने अर्कोतिर अनुशासनहीनता बढेको छ। अराजकता भनेको यस्तै ससाना कुराबाट झाँगिने कुरा हुन्। तसर्थ पार्टीले आफ्ना पंक्तिलाई नैतिकवान्, आचरणयुक्त, स्वच्छ एवं कम्युनिष्ट आदर्शअनरूप अघि बढाउन अनुशासनको सवालमा कडाइ गर्दै वैचारिक शिक्षाको माध्यमद्वारा पार्टी सदस्यहरूलाई जगदेखि सचेत पारिनुपर्दछ,’ परिषद्ले भनेको छ।
त्यस्तै सल्लाहकार परिषद्ले नेताहरूलाई मन पर्दा ‘देवत्वकरण गर्ने र मन नपर्दा ‘दानवीकरण’ गर्ने प्रवृत्ति पार्टीमा झाँगिन थालेको बताएको छ।
‘चाकडी र चाप्लुसीको यस्तो शैली अपनाएर आफ्नो स्वार्थसिद्ध गर्न चाहने गलत मानिसले यसलाई प्रोत्साहन गर्दै आएको कुरा कसैबाट छिपेको छैन। त्यसैले एउटा कम्युनिष्ट पार्टीका नेता/कार्यकर्ताका नाताले यस्ता कुनै पनि खाले गैरकम्युनिष्ट गलत संस्कार तथा प्रवृत्तिलाई सबै तहमा निरुत्साहित गर्दै लानु समयको माग बन्न गएको छ,’ प्रतिवेदनमा उल्लेख छ।
केन्द्रीय अनुशासन आयोगले गुटगत गतिविधिको स्रोत केन्द्रीय नेता भएको उल्लेख गरेको छ। प्रदेश र जिल्ला तहका केही नेताहरूले समेत कार्यकर्ताको झुन्ड निर्माण गरेको देखिएको आयोगको ठहर छ। विशेषतः पार्टीका तहगत अधिवेशनहरूमार्फत् यस्तो प्रवृत्ति प्रकट हुन थालेको आयोगको ठहर छ।
‘गुटगत गतिविधिको स्रोत मुख्य गरी केन्द्रीय नेताहरू भएको देखियो। प्रदेश र जिल्ला तहका केही नेताहरूले समेत कार्यकर्ताको झुन्ड निर्माण गरेको देखियो। प्रदेश अधिवेशन भइरहँदा उद्घाटन समारोहमा नेताहरूले विचार प्रस्तुत गर्दा पार्टीको संस्थागत भावनाअनुरुप नै विचार प्रस्तुत गरेको पाइयो। तर अधिवेशनको दौरानमा प्रतिवेदनहरूमा साझा दृष्टिकोण हुँदाहुँदै पनि खासगरी नेतृत्व चयन गर्ने समयमा अधिकांश ठाउँहरूमा कतिपय केन्द्रीय नेताहरू समूहगत रूपमा विभाजन भएको देखियो,’ प्रतिवेदनमा भनिएको छ।
सार्वजनिक रुपमा गुटको विपक्षमा देखिएता पनि कतिपय नेताहरूले आन्तरिकरूपमा गुट निर्माण गर्ने र संचालन गर्ने गरेको भन्दै त्यस्तो गतिविधि वैचारिक नभई आत्मकेन्द्रित रूपमा भएको देखिएको आयोगले बताएको छ।
‘अधिवेशनको दौरानमा स्थानीय तहका कतिपय नेताहरूले आफ्नो महत्वाकांक्षा पूरा गर्न केन्द्रीय नेताहरूलाई सिरानीमा राखेर गुटगत प्रचार गरेको देखियो। कतिपय ठाउँमा केन्द्रीय नेताहरू संलग्न नहुँदा नहुँदै पनि उनीहरूले गुट बनाएको भन्ने चर्चा गरेको देखियो,’ प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै, अनुशासन आयोगले व्यक्तिगत लाभ र अवसरको आशक्ति राजनीतिक क्षेत्रमा समस्याको रूपमा देखिएको औंल्याएको छ। सार्वजनिक क्षेत्रमा रहेका नेताहरूप्रतिको जनताको अपेक्षा र असिमित खर्चको व्यवस्थापन गम्भीर समस्याको विषय बनेको पनि उल्लेख गरेको छ।
‘सार्वजनिक जीवनको आकर्षणले अधिकांश नेताहरूको जीवनशैली बदलिएको र खर्चालू भएको अवस्था छ। यसरी बढिरहेको खर्चलाई व्यवस्थापन गर्न स्रोतहरूको खोजी गर्दै जाँदा कतिपय नेताहरू सहज लाभ र अवसरको पासोमा पर्दै गएको देखिएको छ। निर्वाचनहरूमा कतिपय क्षेत्रहरूमा केही नेता तथा कार्यकर्ताहरू निहीत स्वार्थमा लागेको देखियो। अधिकांश क्षेत्रहरूमा कतिपय नेता तथा कार्यकर्ताहरूले चुनावमा खटेवापत आफ्नो निम्ति निश्चित रकम चुनावमा जित्नको लागि नभई आर्थिक संकलन गर्न भएको जस्तो देखियो। यस्तो प्रवृत्तिले गर्दा चुनावमा केही क्षेत्रहरुमा एमाले पराजित भएको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ।
आयोगले यस्तो प्रवृत्तिलाई हटाउन या न्यून गर्न पार्टीका नेता कार्यकर्ताहरूको आचरणमा सुधार गर्नुपर्ने खाँचो औंल्याएको छ।
‘उनीहरूको विचार दृष्टिकोण र नैतिक चरित्र विकास गर्नुपर्दछ। आचरण सुधार गर्न आचारसंहितालाई कडाइका साथ पालना गर्नुपर्दछ। अनुशासन र आचारसंहिताको नियमित अध्ययन गराउन विषयगत प्रशिक्षणहरू आवश्यक हुन्छन्,’ प्रतिवेदनमा उल्लेख गरिएको छ।