नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जात र थर विशेषलाई पहिचानको विषय बनाउन नहुने बताएका छन्।
इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा पार्टीका उम्मेदवार विजय भएपछि आयोजित सभामा बोल्दै उनले सो अडान राखेका हुन्।
अध्यक्ष ओलीले कोशी प्रदेश नामकरण गर्दा केही पनि नबिग्रिएको बताए।
साझा नाम भएकाले कोशी प्रदेशको नामकरण गर्दा केही पनि नबिग्रने ओलीको तर्क थियो।
उनले कोशी प्रदेशको नामकरणलाई लिएर कसैले पनि संवेदनशील बन्नुपर्ने आवश्यकता नभएको बताए।
विगतमा पनि मेची, कोशी, कर्णाली, सेती, बागमती अञ्चलको नाम राखिएको उल्लेख गर्दै ओलीले त्यस्ता साझा नाममा असहमति राख्नुपर्ने कुनै कारण नरहेको जिकिर गरे।
उनले समृद्ध नेपालः सुखी नेपाली आम नेपालीको पहिचान भएको र त्यसलाई साकार पार्न एमाले लागि परेको बताए।
अध्यक्ष ओलीले भने, ‘धेरैले रूचिका साथ यो निर्वाचनलाई हेर्नुभयो। त्यो स्वाभाविकै थियो। अनेक प्रकारका भ्रमपूर्ण कुराहरूका अभियान चलेका थिए। कोही एमाले छोडेर गएका मान्छेहरू यतै जिल्लातिरका नेताहरू एमाले हराउन बेस्सरी लागेका थिए। के हो, के हो? भन्ने पनि पर्यो होला। कोही कोही पहिचान भनेको के हो, के हो? केलाई पहिचान भन्ने? हामी सबै नेपाली हौं। पहिलो पहिचान हाम्रो त्यो हो। हामी धनी भयौं भने धनी नेपाली, गरिब भयौं भने दुनियाँले हेप्ने गरिब नेपाली। त्यही हो पहिचान। हामीले राम्रो पढ्न, लेख्न पायौं भने विद्वान नेपाली, पढ्न, लेख्न पाएनौं भने निरक्षर बुद्धु नेपाली। कसले टेर्छ नेपालीलाई? हामीले व्यक्तिगत पहिचान बनाउन खोज्यौं भने त्यसले कोही सफल हुन सक्दैन।’
उनले अगाडि भने, ‘आज सुहाङ नेम्वाङ सफल हुनु भएको छ। एक्लै वीर भएर हो र? तमाम जनताले साथ दिएका छन्। यत्रो कार्यकर्ता पंक्ति लागेको छ। त्यसकारण सफल हुनुभएको हो। समूहको कारणले त्यो सम्भव भएको हो। पहिचान के हो? भन्दा सुहाङ नेम्वाङको झण्डाको, त्यो झण्डाको अर्थ के हो? समृद्ध नेपालः सुखी नेपाली। समृद्ध नेपालः सुखी नेपाली भनेपछि त्यहीँ हो पहिचान। पहिचानको कुरा होइ । त्यो त प्रदेशको नामको कुरा हो। कुनै जाति विशेषको, कुनै व्यक्ति विशेषको, कुनै थर विशेषको आदिको पहिचानको कुरा होइन प्रदेशको नाम। पहिले पनि जतिबेला बाँडिएको थियो, त्यसैगरी बाँडिएका हुन्थे। मेची अञ्चल थियो, कोशी अञ्चल थियो। त्यही थिएन र? तसर्थ यो धेरै ठूलो कुरा होइन। यसलाई धेरै संवेदनशील बनाउनुपर्ने केही पनि छैन। साझा नाम राख्दाखेरी केही पनि बिग्रिँदैन। साझा नाम राख्दा अघि सुहाङजीले भन्नुभएजस्तै हामी सयौं थुंगा फूलका एउटै माला नेपाली हौं।’
अध्यक्ष ओलीले अनेकौ भ्रमपूर्ण कुराहरूलाई चिर्दै एमालेलाई विजयी गराएको भन्दै पार्टीका नेता, कार्यकर्तालाई धन्यवाद व्यक्त गरे।—न्युज एजेन्सी नेपाल