आजभोलि गाउँसहर जताततै आमाबाबुले आफ्ना किशोर उमेरका छोराछोरीलाई मोबाइल धेरै चलाएको भन्दै गाली गरेको सुनिन्छ।
अधिकांश आमाबाबुको चिन्ता छ — मोबाइलले छोराछोरी बिग्रिँदै छन्, बालबालिकालाई मोबाइलमा लत लाग्न थालेको छ।
छोराछोरी भने आमाबाबुको गाली र अर्ती सुन्या नसुन्यै गर्दै 'भर्चुअल' दुनियाँमा मस्त देखिन्छन्।
आजका बालबालिका र युवाले मनोरञ्जनका लागि मात्र मोबाइल चलाएका हुँदैनन्। अमेरिकी शिक्षाविद मार्क प्रेन्स्कीले आफ्नो पुस्तक 'डन्ट बदर मी मम, आइ एम लर्निङ' मा भनेका छन् — बच्चाले कम्प्युटर र भिडिओ गेममार्फत प्रशस्त सिकाइ गरिरहेका हुन्छन् र नजानिँदो गरी भावी जीवनको तयारी गरिरहेका हुन्छन्।
केही महिनाअघि मलाई आइटीमा स्नातक पढाइ सुरू गरेको एक छिमेकी युवकले डिजिटल दुनियाँबाट कमाइ गर्न थालेको कुरा सुनायो।
मैले कसरी कमाइ भयो भनेर सोधेँ। उसले त 'हजुरले यो क्षेत्रको धेरै कुरा बुझ्नु हुन्न' भनिदियो।
हाम्रो छोरो १२ कक्षामा पढ्छ। हामी आमाबाबु कम्प्युटर र मोबाइलमा धेरै अलमल गरेको भनेर बेलाबेला उसलाई गाली गर्छौं। ऊ हाम्रो गालीको पर्वाह गर्दैन। उल्टै हामीलाई 'डिजिटल लर्निङ' को पाठ पढाउँछ।
केही दिनअघि मैले उसलाई 'मोबाइलमा के हेरेको' भनेर सोधेको थिएँ। उसले 'गौरव चौधरीको टेक्निकल गुरूजी' युट्युब च्यानल हेरेको भन्यो। त्यो च्यानलमा प्रविधिसम्बन्धी सिकाइको भिडिओ हुँदो रहेछ।
छोराले भनेअनुसार त्यही युट्युबमार्फत गौरवको कमाइ भारू ३६० करोड पुगेको छ। ऊ बिएमडब्लु, आउडी र मर्सिडिज कम्पनीका पछिल्ला मोडलका कार चढ्छ रे!
हामी छोरालाई 'अहिले पढ्ने बेला हो, खुरूखुरू पढ' भनिरहन्छौं।
बेलाबेला लाग्छ — हामी आमाबाबुले उसको प्राथमिकता र चिन्तनको भेउ पाउनै सकेका छैनौं।
यहाँ सवाल उठ्छ — हाम्रो र हाम्रा छोराछोरीको सोचाइ र प्राथमिकतामा यस्तो अन्तर किन हुँदैछ?
मूलतः हामीले 'पुस्तान्तर' अर्थात् 'जेनेरेसन ग्याप' बुझ्न सकेनौं वा बुझ्ने प्रयास नै गरेनौं।
यो लेखमार्फत पुस्तान्तर र आजका बालबालिकामाथि हाम्रा अपेक्षाका सम्बन्धमा केही प्रकाश पार्ने जमर्को गरेको छु।
मार्क मेक्रिन्डलले आफ्ना दुई पुस्तक 'एबिसी अफ एक्सवाइजेड' र 'अल्फा जेनेरेसन' मा हाम्रा पुस्तालाई यसरी वर्गीकरण गरेका छन् —
एक्स जेनेरेसन – सन् १९६५ देखि सन् १९८० सम्म जन्मेका।
वाई जेनेरेसन – सन् १९८० देखि सन् १९९५ सम्म जन्मेका।
जेड जेनेरेसन – सन् १९९५ देखि सन् २०१० सम्म जन्मेका।
अल्फा जेनेरेसन – सन् २०१० देखि सन् २०२५ सम्म जन्मेका र जन्मिने।
यो वर्गीकरण पश्चिमा मुलुकको सामाजिक र विकासात्मक परिवर्तनमा आधारित भए पनि पुस्तान्तर बुझ्न महत्त्वपूर्ण हुनेछ।
अहिलेका धेरै आमाबाबु एक्स र वाई जेनेरेसनको प्रतिनिधित्व गर्छन्। यो पुस्ताले आफ्नो बाल्यकालमा अहिलेको जसरी इन्टरनेट र स्क्रिनमा समय बिताउन पाएन। आफ्नो सिकाइ घर, विद्यालय र सामाजिक वातावरणमा भयो। अनुभव पनि त्यसरी नै भयो।
त्यो पुस्ताले विद्यालय र कलेजको औपचारिक सिकाइ र डिग्रीलाई सर्वोपरि ठान्यो। त्यही सिकाइ र डिग्री रोजगारी प्राप्त गर्ने मूल आधार थियो। सर्टिफिकेटमा प्रथम वा डिस्टिङ्सन श्रेणी भए समाजमा ठूलै मानसम्मान मिल्थ्यो। तिनको प्राथमिकता मेहनत गरेर लोक सेवा आयोगको परीक्षा पास गरी सरकारी जागिरमा जाने हुन्थ्यो। तिनका सफलताका कथाहरू समाजमा उत्कृष्टताका मानक बन्थे।
सोहीअनुसार अझै पनि एक्स र वाई पुस्ताका हामी आमाबाबुले औपचारिक शिक्षा, प्राप्तांक र डिग्रीलाई उच्च मान्यता दिएका छौं।
पछिल्लो समयमा भूमण्डलीकरण र अत्याधुनिक प्रविधिले समाजमा परिवर्तनको दर तीव्र बनायो। हामीले यो कालखण्डका बालबालिकाको सोचाइ, क्रियाकलाप र प्राथमिकता आकलन गर्न र गहिरो गरी बुझ्न सकेनौं।
खासगरी सन् २०१० यता इन्टरनेटले ल्याएको क्रान्तिकारी विकास र परिवर्तनले अल्फा जेनेरेसनलाई 'स्क्रिन' मा रमाउने बाल्यकाल मिलेको छ। नेपालजस्तो विकासोन्मुख मुलुकमा पनि आज मध्यम, निम्न मध्यम र केही निम्न वर्गीय परिवारमा समेत वाइफाइ र स्मार्टफोनको सुविधा उपलब्ध छ।
यसरी अल्फा जेनेरेसनका बालबालिकालाई हामीले सूचना, सिकाइ र मनोरञ्जनका लागि पूर्ण रूपमा स्क्रिनमा भर पर्ने अवसर दिएका छौं।
नेपालमा आजभन्दा पहिलेका पुस्तालाई यस्तो अवसर थिएन। बाल्यकालको अधिकांश समय घरको कोठाबाहिर बित्थ्यो। विद्यालय जानेबाहेकको समय घरबाहिरै उफ्रिन, कुद्न र खेल्नका लागि हुन्थ्यो। बाटोघाटो, खेतबारी, वनजंगल, खोलानाला सबै अनौपचारिक सिकाइ स्थल थिए। धेरैजसो सिकाइ प्राकृतिक र सामाजिक वातावरणसँगको अन्तरक्रियाबाटै हुन्थ्यो।
अब प्रविधिको आक्रामक विकास र त्यसको बढ्दो पहुँचको फलस्वरूप जीवनशैली र सिकाइ अवसरमा ठूलो परिवर्तन आएको छ। उर्लिँदै आएको परिवर्तनको वेग आत्मसात् गर्दै आजका बालबालिकाको मनोविज्ञान बुझ्नु र सोहीअनुसार व्यवहार गर्न जरूरी भएको छ।
यसो गर्न निम्न पक्षमा ध्यान दिनु आवश्यक छ —
सरकारी र स्थायी जागिर अबको पुस्ताको प्राथमिकतामा छैन। पछिल्लो पुस्ता आफ्नो विशिष्ट ज्ञान र क्षमतामा विश्वास गर्छ। आफै केही सिर्जनशील काम व्यवसायको चिन्तन गर्छ।
यसको संकेत मिल्न थालेको छ। अहिलेका तीक्ष्ण युवाको प्राथमिकतामा लोक सेवा र शिक्षक सेवा छैन। फलस्वरूप गाउँघरतिर विज्ञान, गणित र अंग्रेजी पढाउने शिक्षकको अभाव बढेको छ। शिक्षक सेवा आयोगले दोहोर्याइ, तेहर्याइ विज्ञापन गर्नुपरेको छ।
अब आमाबाबुले आफ्नो होइन, बालबालिकाको विशिष्टता र प्राथमिकता बुझ्न जरूरी छ।
आमाबाबु भन्छन् — रोजगारी पाउने गरी पढ, उत्कृष्ट अंक प्राप्त गर।
छोराछोरीको चिन्तन आत्मनिर्भरता व्यावसायिकतातर्फ छ। उनीहरू स्वरोजगारीका अनेक क्षेत्रहरू देख्छन् र आफ्नो विशिष्टता अनुसारको क्षेत्र छनौट गर्ने अपेक्षा गर्छन्। उनीहरू उच्च शिक्षाको उच्च डिग्रीले मात्र हुँदैन, काम गर्ने सीप पनि चाहिन्छ भन्छन्।
केही दिनअघि आफ्नो प्राज्ञिक कामका सिलसिलामा म तम्घासको एक सामुदायिक विद्यालयमा पुगेको थिएँ। मैले कक्षा १० मा पढ्ने विद्यार्थीहरूलाई 'तिमीहरू भविष्यमा के गर्न चाहन्छौ' भनेर सोधेँ।
एक विद्यार्थीले जबाफ दिए — म एउटा गेमको एप्स बनाउँछु र प्लेस्टोरमा राख्छु। एक डाउनलोडको एक पैसा लिँदा पनि १० मिलियनले प्रयोग गरे भने दिनकै १० हजार रूपैयाँ कमाउँछु। १० पैसामा बेच्न सकेँ भने एक लाख कमाउँछु।
अबको पुस्तालाई किताब पढेर, शिक्षकले पढाएको र लेखाएको जस्ताको तस्तै उतार गरेर लेखपढ गर्न धेरै जाँगर छैन। यसो गर्नु उनीहरूका लागि थोत्रो काम हो। अबका विद्यार्थी सूचना र तथ्यगत ज्ञानका लागि सर्च इञ्जिन प्रयोग गर्छन्। तार्किक अवधारणा र उदाहरण खोजी गर्न च्याट जिपिटी जस्ता एआई प्रयोग गर्छन्। आधारभूत रूपमा प्रविधिलाई नै ज्ञान र सीपको गुरू मान्छन्।
विडम्बना! आजका कतिपय शिक्षक यस्तो प्रविधि प्रयोगमा विद्यार्थीभन्दा धेरै कमजोर छन्। शिक्षकहरूले किताबी र परीक्षामुखी ज्ञानको पुनरावृत्ति मात्र गराइरहेका छन्।
शिक्षाविद मार्क प्रेन्स्की त आजका विद्यार्थीलाई 'डिजिटल नेटिभ' तथा शिक्षक र अभिभावकलाई 'डिजिटल इमिग्रेन्ट' भन्न रूचाउँछन्।
उनको तर्क छ — अहिलेको शिक्षण इमिग्रेन्ट वा आप्रवासीले रैथाने समुदायलाई स्थानीय संस्कृति सिकाएजस्तो हुँदै गएको छ। फलस्वरूप विद्यार्थी-शिक्षक तथा विद्यार्थी-अभिभावक पुस्तान्तरले समग्र सिकाइको तरिका र प्राथमिकतामा ठूलो अन्तर बनाउँदै छ।
हामीले शिक्षण र सिकाइमा आधुनिक प्रविधि जोड्न सकेनौं भने आगामी दिनमा विद्यालय पद्धतिमाथि विद्यार्थीको भरोसा कमजोर हुँदै जान सक्नेछ।
नयाँ पुस्ताले राष्ट्र र राष्ट्रियताको परिधिभन्दा धेरै परसम्म सोच्न थालेको छ। उनीहरू आफूलाई एक 'ग्लोबल सिटिजन' बनाउन चाहन्छन्। उनीहरूलाई नेपालीपनका सामग्री र सुविधाले मात्र पुग्दैन। रोजालिया, जंगकुक र जस्टिन बिबरसँग पनि उत्तिकै झुम्न चाहन्छन्। हटडग्स, बर्गर र पिज्जाको स्वादमा रमाउन चाहन्छन्। डिजिटल मार्केट घुम्छन् र ग्लोबल ब्रान्ड रोज्छन्।
पछिल्लो पुस्ताका लागि स्कुल र कलेजमा सिक्नुपर्ने ज्ञान र सीपमा स्थानीयताको भन्दा भूमण्डलीकरणको प्रभाव ज्यादा हुनेछ। उनीहरू कुन क्षेत्रमा कस्तो ज्ञान र सीप सिकेर आफूलाई केमा स्थापित गराउने भन्नेमा बढी सचेत हुनेछन्। देशको सीमा नाघेर आफ्नो रोजाइको दुनियाँमा स्थायी भविष्य निर्माणको चिन्तनमा हुनेछन्।
अबको पुस्ताको प्राथमिकता औपचारिक शिक्षामार्फत उच्चतम डिग्री हासिल गर्ने परम्परागत अपेक्षाभन्दा व्यक्तिगत भिन्नता, अभिरूचि र सीपमा आधारित अनौपचारिक स्वसिकाइमा हुनेछ। परम्परागत रूपमा हामीले भन्ने गरेको ज्ञान र बुद्धि, हामीले खोजेको सर्टिफिकेट र डिग्री अबको पुस्ताको रोजाइमा छैन। अबको पुस्ताले आफ्नो रोजाइ र विशिष्टतामा आधारित प्रयोगात्मक क्षमतामा महत्त्व दिन थालेको छ।
यहीँनेर हामीले आफ्ना बालबालिकालाई गहिरो ढंगले बुझ्न जरूरी छ।
हामी आमाबाबुहरू आफ्ना बालबालिकाका यस्ता विशिष्टता र रोजाइका क्षेत्रसँग कति परिचित छौं?
हामी अभिभावक हाम्रा छोराछोरीसँग उनीहरूका रूचि, चाहना र प्राथमिकताका विषयमा खुला छलफल गर्छौं?
हाम्रा शिक्षकहरू आजका बालबालिकाका विशिष्टताप्रति सचेत र संवेदनशील छन्?
शिक्षकहरू विद्यार्थीको सिकाइ प्राथमिकता अनुसार आफ्नो शैक्षिक विधिलाई आधुनिक प्रविधिसँग जोड्न सक्षम छन्?
यी प्रश्नमा सकारात्मक जबाफ आउँदैन भने हामी र हाम्रा बालबालिकाबीच ठूलो पुस्तान्तर वा जेनेरेसन ग्याप छ।
यस्तो पुस्तान्तर छ भने हरेक अभिभावक र शिक्षकले नयाँ पुस्ताको विशेषता र प्राथमिकता बुझ्न सुरू गरौं। आफ्ना बालबालिका र विद्यार्थीलाई साथीसरह व्यवहार गरौं। विद्यार्थीहरूले शिक्षक र अभिभावकसँग खुला कुरा गर्न सक्ने विश्वासको वातावरण सिर्जना गरौं। विद्यार्थीहरूले आफ्ना रूचि, चाहना, प्राथमिकता र विशिष्टता निःसंकोच भन्न सकुन्।
यसो गर्न सके पुस्तान्तरको समस्या कम गर्न सहयोग पुग्नेछ। हामी बालबालिकाको विशिष्टता र प्राथमिकता बुझेर सोहीअनुसार अघि बढ्न उनीहरूको सहयोगी बन्न सक्नेछौं।
(लेखक डा. पेशल खनाल त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हुन्।)