ललितपुरको नख्खु निवासी सृजना महर्जन लखनखेलस्थित मञ्जुश्री विद्यालयको प्रांगणमा एक नबज्दै पुगिसकेकी थिइन्। ललितपुर महानगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ समितिमा सामेल हुन उनी त्यहाँ पुगेकी हुन्।
जसै उनले हातमा माइक पाइन्। स्टेजमा आसिन जनप्रतिनिधिलाई प्रश्न गरिन्।
‘सार्वजनिक सुनुवाइमार्फत् हाम्रो कुराहरू सुन्ने र त्यही अनुसार काम गर्ने भन्नुहुन्छ,’ उनले भनिन्, ‘तर अहिलेसम्म व्यावहारिक रूपमा भएको छैन।’
उनका अनुसार अहिलेसम्म उनी तीनपटक सार्वजनिक सुनुवाइमा सहभागी भइसकेकी छिन्। सोही प्रश्न आजको दिनमा समेत दोहोर्याए गर्नुपर्ने तर समस्या भने ज्यूँकात्यूँ रहेको बताइन्।
‘एउटै कुरा तीन वर्षसम्म यहाँ उठाउनुपर्ने स्थिति आएपछि यो सुनुवाइ गर्नुको के औचित्य?,’ उनले प्रश्न गरिन्।
सृजनाले नख्खु करिडोर समयमा नबनाउँदा स्थानीयहरूले सास्ती खेप्नुपरेको बताएकी थिइन्।
नख्खुस्थित कान्तिपुर कोलोनीमा बस्ने माया भण्डारीले दिनहुँ दुई सय वटा ट्यांकर गुड्दा धुलोले घरमा सबैजना बिरामी परेको गुनासो गरिन्।
‘सबैलाई धुलोकै कारण रूघाखोकी, ज्वरो आएको छ। बिरामी नभएको घर छैन,’ उनले भनिन्, ‘धुलो व्यवस्थापन/ नियन्त्रण गरेको खै? सुरूमा निवेदन दिँदा केही दिन पानी हाल्ने काम हुन्छ। तर केही समयपछि पहिलेझैं।’
यसो त मायाले नख्खु करिडोर निर्माणको काम छिटो सक्न र समयमा काम नभए ठेकेदारलाई कारबाही गर्न समेत आग्रह गरेकी थिइन्।
मायाले आफ्नो घर भएको ठाउँमा अहिलेसम्म ढलको व्यवस्था समेत नपुगेकोबारे ध्यानाकर्षण गराएकी थिइन्।
यस्तै धापाखेल निवासी स्थानीयले बाटो बिग्रेका कारण आफ्नो स्वरै सुकेको सुनुवाइको कार्यक्रममै बताइन्।
‘साथीहरूले नख्खुको बाटोमा गाडी गुडेर धुलो उडेको भन्नुभयो,’ उनले भनिन्, ‘धापाखेलतिर बाटो बिग्रिएर गाडी कुदाउनै सक्ने स्थिति छैन।’
उनले समयमै धापाखेल सडकखण्ड नबनाउँदा स्थानीयहरूले दिनहुँ सास्ती खेप्नुपरेको बताइन्।
यस्तै, केही समयअगाडि सडकखण्डका दायाँबायाँका नाला नबनाउँदा साना दुई जना बालिकाहरू परेर दुर्घटना भएको समेत उनले स्मरण गराइन्।
ललितपुर निवासी राजाराम तण्डुकारले भने कवाडी करको नाममा जनतासँग हप्ता असुली गरिरहेको आरोप लगाए।
‘महानगरले कवाडीकर ठेक्कामार्फत् उठाउन दिएको रहेछ,’ उनले भने, ‘तर यो करको नाममा जनताबाट हप्ता असुली गर्ने काम भइरहेको छ।’
राजारामका अनुसार कवाडी करको नाममा कवाडी नै नहुने कुरामा पनि कर उठाउँदै आइएको छ। जसमा ढलान गर्दाका फर्मा, फलफूलका क्यारेट, परिवर्तन गर्ने गाडीका इन्जिनहरू हुन्।
अर्की एक स्थानीयले महानगरबाट दिने अनुदानमा अनियमितता भएको बताइन्।
‘महानगरले कृषिलाई बढावा दिने भनेर अनुदानमा औजारसहित बिउ र मल दिइरहेको हुन्छ,’ उनले भनिन्, ‘तर जसले कृषि पेशा गरिरहेका छन्, उनीहरूले पाएको स्थिति छैन।’
उनका अनुसार कृषिका अनुदान कौसी खेती गर्ने किसानहरूले पाएको तर व्यावसायिक कृषि गर्नेले पाएका छैनन्।
सहभागी ठाकुरप्रसाद न्यौपानेले खानेपानीको लाइनमा कहिल्यै पानी नआउने तर पैसा भने तिरिरहनुपरेको गुनासो पोखे।
'धारामा पानी होइन हावा मात्र आउँछ,' उनले भने, 'पानीको सट्टा हावा आएको हुन्छ, खानेपानीबाट मिटर चलेन भनेर पैसा बिल काटेर जानुहुन्छ।'
महेन्द्र मानन्धरले आवश्यक पूर्वाधार तयार नगरी तामजामकासाथ साइकल लेन उद्घाटन गरेको आरोप लगाए।
'म दिनहुँजसो साइकल चलाउँछु,' उनले भने, 'सधैं लेनमै साइकल चलाउँदा कतै छेउ वा पछाडिबाट गाडिले हानिदिने त हैन भन्दै डराउनुपर्छ। आवश्यक पर्ने पूर्वाधार तयार गरेको खै!'
उपस्थित विष्णुनाथ सिकर्मीले महानगर अन्तर्गत भएका सहकारीको अनुगमन तथा व्यवस्थापन समेत महानगरले नगरेको बताए।
सार्वजनिक सुनुवाइमा उपस्थित भएका अधिकांशको एउटै गुनासो थियो- ‘जनप्रतिनिधिले भाषण राम्रो दिनुहुन्छ। तर व्यावहारिक पक्षमा चुकिरहनुभएको छ। कार्यान्वयन फितलो भयो।’
यस्तै, महानगरले प्रदान गर्ने सीपमूलक तालिम पनि उपलब्धिमूलक नभएको उनीहरूको भनाइ छ।
‘महानगरबाट पाउने कति वटासम्म तालिममा एकै मान्छे सहभागी हुन पाउँछ। त्यसको कुनै कार्यविधि तय गर्नुपर्यो,’ सहभागीहरूले भनेका थिए, ‘यदि तालिममा सहभागी ५ प्रतिशतले पनि त्यसलाई स्वरोजगारसँग जोडेका छैनन् भने त्यस्ता तालिम फेल भएको भनेर खारेज गर्नुपर्छ।’
त्यस्तै, सार्वजनिक सुनुवाइमा सहभागी भएका व्यक्तिहरूले सार्वजनिक स्थानलाई हरियाली ठाउँका रूपमा विकास गर्न आग्रह गरेका थिए।
यसो त महानगरका मेयर चिरीबाबु महर्जन र प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले सहभागीहरूको गुनासोको सम्बोधन गरेका थिए।
अधिकृत भारतीले महानगरले कवाडी करबाट तीन करोड राजस्व उठाउन सक्ने अध्ययनले देखाएपछि ठेक्का आह्वान गरी दिएको बताए।
‘१० करोडको टेण्डर हालेपछि जुन सामानमा पनि कवाडी कर उठान सकिन्छ भन्ने उहाँहरूले बुझ्नुभएको होला,’ उनले भने, ‘तर त्यसो होइन। अब हामी छिट्टै ब्लुप्रिन्ट जारी गरेरै केमा कवाडी कर लिन मिल्छ र कुनमा मिल्दैन भनेर सबैले देख्नेगरी राख्नेछौं।’
उनका अनुसार केही दिन सोहीबारे गुनासो आएको हुँदा ठेक्का पाएको कम्पनीसँग कुरा गरिसकेको छ। यदि अब पनि गुनासो आयो भने महानगरले उक्त कम्पनीसँग ठेक्का नै तोड्ने उनले बताए।
यस्तै, मेयर महर्जनले उपस्थितिको समस्या सम्बोधन गर्नमा भन्दा महानगरले गरेका कामको फेहरिस्त लगाएका थिए।
उनले महानगरले सार्वजनिक जग्गाहरूको संरक्षणमा महानगरले काम गरिरहेको बताए।
‘हामीले नगरबासीको आवश्यकतालाई हेरेर बजेट तयार गर्न नै यो सार्वजनिक सुनुवाइ आयोजना गरेका हौं,’ उनले भने।