जापानी परराष्ट्रमन्त्री कामिकावा योकोले काठमाडौंको बसन्तपुर दरबार स्क्वायर क्षेत्रको अवलोकन गरेकी छन्।
नेपालको एक दिने भ्रमणमा आएकी योको आइतबार दिउँसो दरबार स्क्वायर क्षेत्र पुगेकी हुन्।
उनले कालभैरब मन्दिर, कुमारी घर लगायतको अवलोकन गरिन्।
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको आइतबार बिहान नेपाल भ्रमणमा आएकी हुन्।
उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।
आफ्ना नेपाली समकक्षी श्रेष्ठसँग उनले द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
जापानको परराष्ट्रमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो।
जापान नेपालको समृद्धिका लागि निरन्तर सहयोग गर्ने मुलुकको सूचीमा अग्रस्थानमा छ।
हाल जापानमा एक लाख ६३ हजार नेपाली नागरिक अध्ययन, रोजगारी र व्यापार–व्यवसायको सिलसिलामा रहेका बताइएको छ।
उनी आइतबार साँझ स्वदेश फर्किनेछिन्।
तस्बिरहरू: