गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार विश्वासको मत लिँदैछन्।
आइतबार अपराह्न बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वास मतको प्रस्ताव राखेका छन्।
उनले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र स्वतन्त्र सांसद राजीव गुरूङको समर्थनमा आफू मुख्यमन्त्री बनेको बताएका उनले विश्वासको मतमा नेपाली कांग्रेस र राप्रपाको पनि सहयोग रहने विश्वास व्यक्त गरेका छन्।
कांग्रेस प्रमुख प्रतिपक्षीमा छ। प्रतिपक्षमै रहेको राप्रपाले पनि तटस्थ बस्ने बताएको छ।
नेकपा (एमाले) गण्डकी संसदीय दल नेतासमेत रहेका अधिकारी गत चैत २५ गते मुख्यमन्त्री पदमा नियुक्त भएका थिए। संविधानको धारा १६८ उपधारा २ बमोजिम दुई वा दुई भन्दा धेरै दलको समर्थनमा अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए।
अधिकारी एमालेका २२, नेकपा (माओवादी केन्द्र) का सभामुखसहित ८ र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’को समर्थन थियो।
गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपाका २ र दिपक मनाङे गरी ६० जना सदस्य छन्।
यसैबीच मुख्यमन्त्री नियुक्त गर्दा सभामुखलाई समेत गणना गरेको भन्दै कांग्रेस गण्डकीका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले चैत २७ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
रिटको सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारङ्गा सुवेदीले गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धिताललाई गणना नगर्दा पनि ३० जना सांसदको समर्थन रहने भन्दै रिट निवेदन खारेज गरिदिएका थिए।
सर्वोच्च अदालतले गरेको व्याख्याअनुसार ३० जनाको पनि बहुमत पुग्ने भन्दै सत्तारुढ दलका सांसदहरूले मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाउने विश्वास व्यक्त गरेका छन् भने कांग्रेसले मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ जना सांसदको समर्थन चाहिने बताउँदै आएको छ।