नेपाली कांग्रेसले असंवैधानिक तरिकाले बनेको सरकार भनेपछि गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले जवाफ दिएका छन्।
आइतबार गण्डकी प्रदेश सभामा विश्वासको मत माथि छलफलमा उठेको प्रश्नको जवाफ दिँदै अधिकारीले अदालतबाटै उक्त आरोप खण्डित भएको बताएका हुन्।
‘सरकारलाई असंवैधानिक भन्ने कुरा सर्वोच्चबाट खण्डित भइसक्यो। मैले केही भनेको छैन। यसप्रति मेरो आपत्ति पनि छैन। गुनासो पनि छैन,’ उनले भने, ‘असंवैधानिक क्रियाकलापले सरकारको नेतृत्व गरेको छैन, अदालतले व्याख्या गरिसक्यो।’
अदालतको व्याख्या अनुसार सभामुखबाहेक ५९ जनामा ३० जना सांसदको आफूलाई समर्थन रहेको र उक्त संख्या स्पष्ट बहुमत भएको अधिकारीले दाबी गरे।
‘कोशी र गण्डकीमा एउटै अवस्था होइन, ५९ जना सांसदमा ३० जनाको समर्थन स्पष्ट बहुमत यसै छ, अदालतले व्याख्या गरिसक्यो,’ उनले भने।
उनले बजेट बनाउने बेला सरकार बनाउने र ढाल्ने खेल नखेल्न पनि आग्रह गरे।
संसदको बाँकी अवधि मिलेर चलाउन छलफल गर्न आफूहरू खुला रहेको पनि अधिकारीले बताए।
संघीय सरकारको प्रभाव प्रदेशमा परेको भन्दै उनले प्रदेशलाई स्वायत्तता दिन पनि छलफल आवश्यक रहेको बताए।
राजनीतिक स्थायित्व र भ्रष्टाचार निवारण गर्ने भन्दै अधिकारीले विश्वासको मत मागेका थिए। उनले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावमा मत विभाजन हुँदैछ।