सुदूरपश्चिमको भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता शेखर कोइरालाले १५ औं महाधिवेशनमा जिल्लाका नेता कार्यकर्ताहरुको साथ खोजेका छन्।
शुक्रबार सुदूरपश्चिम पुगेका कोइरालाले शुक्रबार नै प्रदेशका नौवटै जिल्लाका नेता कार्यकर्ताहरूसँग छलफल र अन्तरक्रिया गरेका थिए। कञ्चनपुरबाट सुरू भएको नेता कार्यकर्ताहरूसँगको छलफल दार्चुलासँगको छलफलपछि सकिएको थियो।
त्यसअवधिमा कोइरालाले ६ घन्टा छलफल तथा अन्तरक्रिया गरेका थिए।
छलफलका क्रममा उनले कांग्रसको आगामी १५ औं महाधिवेशन समयमै हुनुपर्ने र त्यसमा जिल्लाका नेता कार्यकर्ताको समर्थन आफूलाई हुनुपर्ने बताएका थिए।
उनले पार्टीभित्र सुदूरपश्चिमका नेता कार्यकर्तालाई विगतमा भएका अन्याय अब नदोहोरिने पनि बताए।
‘सबैलाई न्याय हुन्छ। त्यसको जिम्मा म लिन्छु,’ उनले भने।
कोइरालाले सबैलाई समान र उचित अवसरका लागि आफू पार्टीभित्र लडिरहेको पनि बताए।
‘विगतमा तपाईहरुमाथि अन्याय भएको छ। उचित अवसर पाउनु भएको छैन्। तपाईहरुको पीडा म बुझ्छु। अब १५ औं महाधिवेशनपछि न्याय हुन्छ। म कसैलाई पक्षपात गर्दिन। तर यसका लागि तपाईहरुको सहयोग चाहिन्छ,’ कोइराला भने।
कोइरालाले नेपाली कांग्रेसको १५ औं महाधिवेशन समयमै समयमै नभए पार्टी कमजोर हुने पनि बताए।
‘पार्टी कमजोर भए देशमा लोकतन्त्र संकटमा पर्छ। देश र लोकतन्त्रलाई बचाउन पनि पार्टीको महाधिवेशन समयमै हुनुपर्छ,’ उनले भने।
छलफलमा उनले कांग्रेसलाई एक्लै लड्न सक्ने बलियो पार्टी बनाउने र पार्टीभित्रका नेता कार्यकर्ताहरूमाथि अन्याय हुन नदिने बताए।
नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणमा गम्भिर बन्न नसकेको कोइरालाले दाबी गरे।
‘यति शक्तिशाली सरकार असफल बन्ने छुट छैन, सफल बन्नै पर्छ। तर सरकारको कार्यशैली भने सन्तोषजनक छैन,’ उनले भने।
आफू नेपाली कांग्रेसको तर्फबाट मन्त्री बनेकाहरुको कार्यशैलीबाट पनि सन्तुष्ट नरहेको बताए।
भेटघाट कार्यक्रममा अधिकांश जिल्लाका नेता कार्यकर्ताले आफूहरु पार्टीको केन्द्रीय नेतृत्वबाट अन्यायमा परेको, गुटको आधार पक्षपात गरेको र आफूहरुलाई अवसरबाट बञ्चित गरेको गुनासो राखेका थिए।
उनीहरूले पार्टीभित्र रहेका विवादलाई सुल्झाउन पनि सुझाव दिएका थिए।