राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक माघ ११ गतेदेखि काठमाडौंमा बस्ने भएको छ।
शुक्रबार र शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले माघ ११ र १२ गते दुई दिने केन्द्रीय कार्यसमितिको बैठक बस्ने निर्णय गरेको हो।
केन्द्रीय कार्यसमिति बैठकका एजेन्डाबारे थप छलफल गर्न मंगलबार पुनः कार्यसम्पादन समितिको बैठक बस्ने तय भएको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।
दुई दिन बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पृथ्वी जयन्ती भव्यताका साथ मनाउन अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा मूल समिति गठन पनि गरेको छ।
बैठकले स्थानीय तह उपनिर्वाचनमा पार्टीको मत बढेको तर जितका लागि पर्याप्त नभएको निष्कर्ष निकालेको छ।
यस्ता छन् १० निर्णयः
१. राप्रपाले सधैंको वर्ष जस्तै यस वर्ष पनि पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई उत्सवको रुपमा मनाउने निर्णय गरेको छ । पृथ्वी जयन्तीलाई भव्य रुपमा मनाउन अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा मूल समिति गठन गरिएको छ।
समितिमा पार्टीका पूर्व अध्यक्षहरु, पूर्व प्रधानमन्त्री, कार्यसम्पादन समितिका सदस्यहरु, पदाधिकारी तथा केन्द्रीय सदस्यहरु, प्रतिनिधिसभा तथा प्रदेश सभाका सांसदहरु, सबै प्रदेश कार्य समितिका अध्यक्षहरु एवं बागमती प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, केन्द्रीय सल्लाहकारहरु, विभागीय प्रमुखहरु, भातृ संगठनका अध्यक्ष, पदाधिकारी र केन्द्रीय सदस्यहरु, पार्टीको उपत्यका भित्रका जिल्ला कार्यसमितिका अध्यक्ष, पदाधिकारी तथा सदस्यहरु, उपत्यका भित्रका प्रतिनिधि तथा प्रदेश सभा क्षेत्र, महानगर र नगर कार्यसमितिका अध्यक्ष, पदाधिकारी तथा सदस्यहरु, भातृ संगठनका उपत्यका अध्यक्षहरु, उपत्यकाका पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरु सदस्य रहेका छन्।
समितिमा मुख्य सचिव केदार बहादुर अधिकारीलाई सदस्य सचिवको जिम्मेवारी प्रदान गरिएको छ । पृथ्वी जयन्तीलाई व्यवस्थित बनाउन विभिन्न उपसमिति पनि गठन गरिएको छ । साथै सबै जिल्लामा पृथ्वी जयन्ती विविध कार्यक्रम गरी भव्य रूपमा मनाउन जिल्ला कार्य समितिहरूलाई निर्देश गरिएको छ ।
२. राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक ०८१ माघ ११ र १२ गते काठमाण्डौंमा बस्ने निर्णय गरिएको छ ।
३. पार्टीको नीति, विचार, सिद्धान्त, मूल्य मान्यता, आदर्श र निर्णयहरुलाई जनसमक्ष पुर्याउन, व्यवस्थित र मर्यादित सामाजिक सञ्जाल सञ्चालन र प्रसारित सामाग्रीमा एकरुपता कायम गर्न, भ्रामक सामग्रीलाई निरुत्साहित गर्न, पार्टीको सामाजिक सञ्जाल रणनीतिको माध्यमबाट पार्टीलाई संगठित र व्यवस्थित गर्न, सामाजिक सञ्जालको प्रयोगबाट पार्टी र आम जनसमुदायबीच सन्तुलित, स्वस्थ र मजबुत सम्बन्ध विस्तार गर्दै पार्टीलाई सक्षम, सबल र विश्वसनीय बनाउन पार्टी सदस्यहरुका लागि केन्द्रीय प्रचार विभागद्वारा प्रस्तुत “सामाजिक सञ्जाल सञ्चालन तथा व्यवस्थापन कार्यविधि - ०८१” लाई अनुमोदन गरिएको छ।
४. हालै सम्पन्न स्थानीय तहको उपनिर्वाचनको राप्रपाले गम्भीरतापूर्वक समिक्षा गरेको छ । निर्वाचनको परिणाम राप्रपाको पक्षमा हुन नसकेपनि अधिकांश स्थानमा मतमा सुधार भएको छ, यद्यपि परिणाम बिजयका लागि पर्याप्त हुन सकेन। प्राप्त परिणामबाट कमीकमजोरीमा सुधार गर्ने, पार्टी निर्माणको अवसरको रुपमा सदुपयोग गर्ने र सबै तहका पार्टी संगठनलाई चुस्त दुरुस्त र चलायमान बनाउने निर्णय गरिएको छ ।
५. स्थानीय तहको उपनिर्वाचनमा भएको तहगत कमजोरी र त्यसले परिणाममा पारेको प्रभावबारे अध्ययन गरी प्रतिवेदन पेश गर्न संगठन विभागका प्रमुख वरिष्ठ नेता बुद्धिमान तामाङ्गको संयोजकत्वमा बागमती प्रदेश कार्यसमितिका अध्यक्ष विक्रम बहादुर थापा र लुम्बिनी प्रदेश कार्यसमितिका अध्यक्ष प्रदीपकुमार उदय सदस्य रहेको समिति गठण गरिएको छ ।
६. राप्रपाको सुधार गर्नुपर्ने, निरन्तरता दिनुपर्ने र अवलम्बन गर्नुपर्ने नीतिगत, संरचनागत र समग्र पक्षका बारे बौद्धिक वर्ग, विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्तिहरु र आम जनसमुदायसंग घनीभूत छलफल र संवाद गरी तीन महिनाभित्र प्रतिवेदन पेश गर्न विज्ञहरुको समूह बनाउने निर्णय गरिएको छ । पार्टीको नीति, अनुसन्धान विभागले यसको संयोजन गर्नेछ।
७. पार्टीको भातृ संगठनलाई व्यवस्थित, प्रभावकारी र परिणाम केन्द्रीत बनाउन संयोजित संगठन विभागको कार्यविधि-२०८१ पारित गरिएको छ ।
८. कन्चनपुर र जुम्ला जिल्लामा पार्टी अनुशासन विपरीतका गतिविधि सम्बन्धि परेको उजुरीको टुंगो लगाउन केन्द्रीय अनुशासन समितिमा पठाउने र सो विषयको यथासक्य चाँडो निरुपण गरिने निर्णय भएको छ ।
९. अस्वस्थ भई काठमाण्डौंमा उपचाररत वरिष्ठ नेता मा. दिपक बोहरा र भारतको नयाँ दिल्लीमा उपचाररत महामन्त्री मा.डा. धवल शमसेर राणाको बैठकले शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
१०. केन्द्रीय कार्यसम्पादन समितिको यस बैठकका बाँकी एजेण्डाहरुमा छलफल गर्न अर्को बैठक पौष ९ गते, मंगलबार बस्नेछ ।