नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालको साझा वैदेशिक सहायता नीति आवश्यक रहेको बताएका छन्।
पार्टीको आर्थिक नीति तथा योजना विभागले बुधबार सानेपामा गरेको गोष्ठीमा बोल्दै शर्माले वैदेशिक सहायता नीतिको साझा श्वेतपत्र बनाउन सरकारले पहल गर्न जरूरी रहेको बताए।
‘अहिलेसम्मको वैदेशिक सहायताको सन्दर्भको विषय वा नेपालको समुन्नतिको सन्दर्भमा अहिलेसम्म गरिएका कामको सन्दर्भलाई गहन ढंगले समीक्षा गरेरै हामीले आगामी दिनको यात्रा तय गर्नुछ। हामी सम्भवतः एउटा चित्रको अपेक्षामा छौँ। स्वयं सिंगो सरकारले नै त्यो विषयमा प्रवेश गर्नुपर्ने हो कि जस्तो लाग्छ। हालसम्म हामीले जे जति पनि वैदेशिक सहायता प्राप्त गरेका छौं, त्यसको तथ्यांकदेखि लिएर पछिल्लो समयको चित्रसम्म यो बेलामा जरूरी छ,’ उनले भने।
पार्टीको विभागले नै नेतृत्व गरेर एउटा श्वेतपत्र मुलुकको सामुन्ने पस्किनुपर्ने पनि उनले बताए।
शर्माले निश्चित दल विशेषको आकांक्षा र चाहनाभन्दा राष्ट्रिय रूपमा साझा दृष्टिबाट वैदेशिक सहयोग लिने व्यवस्था गर्नुपर्ने बताए।
(न्युज एजेन्सी नेपाल)