इसराइलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले हमासले शनिबार बन्धक नछाडे युद्धिविराम भंग गरेर गजामा आक्रमण सुरू गर्ने धम्की दिएका छन्।
मंगलबार प्रधानमन्त्री नेतन्याहूले एक पूर्वनिर्धारित सम्बोधनमा हमासले शनिबार बन्धक मुक्त नगरे युद्धविराम भंग गरेर गजामा आक्रमण गर्ने चेतावनी दिएका हुन्।
इसराइलले युद्ध-विरामका सर्तहरू भंग गरेको भन्दै हमासले यो पटक बन्धक रिहा गर्ने योजना ढिलाई गर्ने भनेको थियो। उसले मंगलबार यसमा दृढ रहेको भन्दै यो पटक सम्झौताभन्दा ढिला गर्ने भनेको थियो।
हमासले त्यसो भनेपछि इसराइलका मुख्य सहयोगी अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बाँकी रहेका सबै बन्धक रिहा नगरे विध्वंश हुने चेतावनी दिएका थिए।
मंगलबार जोर्डनका राजा अब्दुल्लाह द्वितीयसँगको कुराकानीमा ट्रम्पले आफूले चेतावनी दिएअनुसार हमासले बाँकी रहेका बन्धक शनिबार नै छाड्ला भन्ने निश्चित नरहेको बताएका छन्।
'त्यही अनुसार हुन्छ भन्ने देखिएको छैन। उनीहरू कडा मान्छेसँग खेल्न खोज्दैछन्। उनीहरूमा कति शक्ति छ हेरौंला,' ट्रम्पले राजा अब्दुल्लाहसँग भनेका छन्।
नेतन्याहूले गजापट्टीका सिमानामा आफ्ना सैनिकहरूलाई तैनाथ रहन र तयारी अवस्थामा रहन निर्देशन दिएको समेत समाचार संस्था एशोसियटेड प्रेसले जनाएको छ।
माघ ६ देखि सुरू भएको ४२ दिन अवधीको पहिलो चरणको युद्धविराममा हालसम्म हमासले २१ जना बन्धक रिहा गरेको छ। त्यसको बदलामा इसराइलले ७३० जना प्यालेस्टिनी बन्दीहरूलाई कैदमुक्त गरेको छ।
४२ दिनको पहिलो चरणको युद्धविराममा ३३ जना बन्धक रिहा गर्ने र सोही अवधिमा दोस्रो चरणको युद्धविराम सम्झौताबारे मध्यस्तकर्ताहरूले छलफल अगाडि बढाउने भनिएको थियो।
युद्धविरामको सम्झौताअनुसार हमासले प्रत्येक साता तीन जना बन्धक रिहा गर्ने भनिएको थियो।
यो पनिः
हमासले शनिबारसम्ममा बन्धक नछोडे विध्वंश हुने ट्रम्पको चेतावनी