जोर्डनका राजा अब्दुल्लाह द्वितीयले प्यालेस्टिनी नागरिकलाई जोर्डनमा पनुर्वास गराउनुपर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावलाई अस्वीकार गरेका छन्।
मंगलबार ह्वाइटहाउसमा ट्रम्पसँगको भेटमा राजा अब्दुल्लाहले गजा खाली गरी त्यहाँका नागरिकलाई जोर्डनमा पुनर्वास गर्ने प्रस्ताव अस्वीकार गरेको अमेरिकी अखबार द न्युयोर्क टाइम्सले जनाएको छ।
राजा अबदुल्लाहले त्यहाँका नागरिकहरूलाई विस्थापित गर्ने कुराको विरूद्धमा जोर्डन दृढ रहेको पनि बताए।
ट्रम्पसँगको भेटपछि राजा अब्दुल्लाहले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पनि आफ्नो प्रतिक्रिया पोस्ट गरेका छन्।
'प्यालेस्टिनीहरूलाई विस्थापित नगरी गजाको पुनःनिर्माण र त्यहाँको भयान मानवीय अवस्थालाई सम्बोधन गर्नु सबैको प्राथमिकता हुनुपर्छ। यो हाम्रो अडान हो,' उनले एक्समार्फत भनेका छन्।
ह्वाइट हाउसको भेटमा ट्रम्पले राजा अब्दुल्लाहसँग पनि गजा अमेरिकाले आफ्नो अधीनमा लिने दोहोर्याएको न्युयोर्क टाइम्सको समाचारमा उल्लेख छ।
'यो युद्धग्रस्त क्षेत्र हो। यसको स्वामित्व हामी लिँदैछौं। गजा अब हामीसँग हुनेछ,' ट्रम्पले अब्दुल्लाहसँग भनेका थिए।
ट्रम्पले त्यसो भनेपछि राजा अब्दुल्लाहले दुई राज्य समाधान (टु-स्टेट सोल्युसन)नै त्यहाँको क्षेत्रीय स्थिरता सुनिश्चित गर्ने उपाय रहेको बताएका थिए। 'बरू यसमा अमेरिकाको नेतृत्व आवश्यक रहन्छ,' अब्दुल्लाहले भने।
ट्रम्पले गजालाई अमेरिकाले अधीनमा लिने भनेकै दिन उनले त्यहाँका नागरिकहरूलाई छिमेकी जोर्डन र इजिप्टमा पुनर्वास गराइने र यसका लागि दुई मुलुक सहमत हुनुपर्ने बताएका थिए।
ट्रम्पको उक्त प्रस्तावलाई जोर्डन र इजिप्ट दुवै देशले यसअघि नै अस्वीकार गरेका थिए।
त्यसपछि ट्रम्पले त्यस्तो नभए दुई देशलाई अमेरिकाले दिँदै आएको सहायता रोक्ने चेतावनी दिएका थिए।
‘यदि उनीहरूले सहमति जनाएनन् भने, म सहायता रोक्न सक्छु,’ उनले भनेका थिए।
ट्रम्पको गजाबारे योजनाको अमेरिकाभित्रै समेत विरोध भएको छ। अरब राष्ट्रहरूले पनि त्यसलाई अस्वीकार गरिसकेका छन्।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले ट्रम्पलाई गजा क्षेत्रमा जातीय सफाया (एथ्निक क्लेनजिङ) नगर्न भनेका छन्।
'समाधान खोज्दा, हामीले समस्यालाई अझ जटिल बनाउनु हुँदैन। अन्तर्राष्ट्रिय कानुनी मान्यताप्रति बफादार रहनु आवश्यक छ। कुनै पनि प्रकारको जातीय सफाया गर्नबाट बच्नु अनिवार्य छ,' गुटेरेसले युएन समितिका सदस्यहरू सम्मिलित एक पूर्वनिर्धारित बैठकमा बुधबार भने।
'हामीले दुई-राज्य समाधान (टु-स्टेट सोल्युसन) प्रति पुनः दृढता व्यक्त गर्नुपर्छ,' उनले भने।
गुटेरेसले ट्रम्पको नाम नलिए पनि उनका प्रवक्ता स्टेफान डुजारिकले उनको टिप्पणीलाई ट्रम्पको प्रस्तावप्रति प्रतिक्रियाका रूपमा लिन मिल्ने भनेका थिए।
गुटेरेसले जोर्डनका राजा अब्दुल्लाहसँग पनि सो क्षेत्रको स्थितिका बारेमा कुरा गरेका थिए।
ट्रम्पको घोषणाको गजामा शासन गर्ने हमास, प्यालेस्टिनी अथोरिटी अनि सबै अरब राष्ट्रहरूले विरोध गरिसकेका छन्।
हमासले उनको घोषणालाई हास्यास्पद र बेतुकको भनेको छ। यसले गजामा फर्किएको शान्ति भंग गर्ने र पुनः तनाव सिर्जना गर्ने जनाएको छ।
गजाको स्वामित्व अमेरिकाले लिने र त्यहाँ रहेका सबै खतरनाक तथा नपड्किएका बम र अन्य हतियारहरू नष्ट गर्ने ट्रम्पले गत मंगलबार भनेका थिए।
अमेरिकी मिडिया सिएनएनका अनुसार पत्रकारहरूले ट्रम्पलाई त्यसो भए गजामा अमेरिकी सेना पठाउन लागिएको हो? भनेर प्रश्न गरेका थिए।
जबाफमा ट्रम्पले त्यसलाई अस्वीकार गरेनन्।
‘हामी आवश्यकता अनुसार गर्नेछौं। यदि आवश्यक परे त्यसो गर्न पनि सक्नेछौं। हामी गजालाई आफ्नो अधीनमा लिएर त्यहाँ विकास गर्नेछौं,’ ट्रम्पको भनाइ उद्धृत गर्दै सिएनएनले लेखेको थियो।
उनले गजाको स्वामित्व अमेरिकाले लिएपछि त्यहाँ मात्रै नभई पूरै मध्यपूर्वमा दीर्घकालीन स्थिरता रहने बताएका थिए।
गजामा युद्धविराम घोषणा भएपछि हजारौं हजार मानिसहरू आफ्नो घरमा फर्किएका छन्। ट्रम्पले भने अहिल्यै प्यालेस्टिनीहरू फर्कनु उचित नरहेको बताएका थिए।
'गजा खण्डहर बनेको छ। बस्नका लागि उचित भइसकेको छैन। किन मानिसहरू फर्किरहेका छन्। बरू मध्यपूर्वकै अन्य देशहरूमा बस्नु उनीहरूका लागि राम्रो हुनेछ,’ ट्रम्पले भनेका थिए।