सत्तापक्षीय प्रमुख सचेतकहरूको बैठकले संसदमा विद्यालय शिक्षा र निजामति कर्मचारी विधेयकलाई अघि बढाउने निर्णय गरेको छ।
आइतबार सिंहदरबारस्थित नेकपा एमालेको संसदीय दलको कार्यालयमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले संसदमा विचाराधीन विधेयकलाई अगाडि बढाउने विषयमा छलफल भएको बताए।
उनले विद्यालय शिक्षा विधेयक र निजामति कर्मचारी विधेयकलाई चालु अधिवेशनबाटै पारित गर्नेगरी अघि बढ्ने कुरामा सत्तापक्ष एकढिक्का भएको बताए।
‘शिक्षा विधेयक, संघीय निजामति विधेयक अघि बढ्छ की बढ्दैन भन्ने छ। महत्वपूर्ण देखिएका विधयेकहरूलाई निष्कर्षमा पुर्याउँछौं। दुबै संसदमा रहेका विचाराधीन विधेयकलाई अगाडि बढाउने र एउटाबाट पारित भई अर्कोमा पठाएका विधेयकहरू पनि निकासमा पुर्याइहाल्ने कुरामा छलफल गरेका छौं,’ उनले भने, ‘यो अधिवेशनबाट हामीले हिजो ४ वटा अधिवेशनमा विधेयक पारित गरेको भन्दा बढी संख्यामा विधेयक पारित गर्नेगरी काम गर्नुपर्छ भन्ने निष्कर्ष छ। शिक्षा र संघीय निजामति विधेयकलाई पहिलो प्राथमिकतामा राखेका छौं।’
त्यस्तै नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले पनि विधेयकहरू छिटो पारित गरी कानुनी रूप दिने र छिटो पारित गर्ने प्रक्रिया अघि बढाउनेबारे छलफल भएको बताए।
‘हाम्रो विधेयक पारित गर्ने सिलसिला अलिक सुस्त देखिए। त्यसमा हामी पनि चिन्तित छौं। यसलाई कसरी तीव्रता दिने भन्नेमा छलफल गरेका छौं,’ उनले भने, ‘विद्यालय शिक्षा विधेयक र निजामति कर्मचारी विधेयकलाई बढी प्राथमिकता दिएका छौं। यी दुई विधेयक कुनै पनि हालतमा यो सदनबाट पास गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेका छौं।’
उनले अध्यादेश ६ गतेको बैठकमा पेस गर्नेकुरा सरकारको तर्फबाट आएको भएपनि सांसदहरू संघीय राजधानी बाहिर गएकाले केही समय सार्न आग्रह गरिएको पनि बताए। (न्युज एजेन्सी नेपाल)