राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राष्ट्रिय सभाबाट स्वीकृत भएको मिडिया काउन्सिल विधेयकबारे गरेको टिप्पणीमा राष्ट्रिय सभाले खेद प्रकट गरेको छ।
आइतबार राष्ट्रिय सभा बैठकको शून्य समय र विशेष समयमा सांसदहरूले प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीले राष्ट्रिय सभाको काम कारबाहीका सन्दर्भमा प्रश्न उठाएकोप्रति आपत्ति जनाएका थिए।
राष्ट्रिय सभाबाट मिडिया काउन्सिल विधेयक स्वीकृत भएपछि शाहीले सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै राष्ट्रिय सभा नै वृद्धाश्रमजस्तो भएको बताएका थिए।
उक्त अभिव्यक्तिबारे शाहीलाई सुझबुझपूर्ण, वस्तुनिष्ठ र तथ्यपरक भएर आफ्ना विचार संप्रेषण गर्न निर्देशन दिएको छ।
'अध्ययन नै नगरी निज मान्य सदस्यले कपोकल्पित झुट र यथार्थभन्दा बाहिर गइ एक सभाको सदस्यले अर्को सभाको काम कारबाही र सभाका मान्य सदस्यहरुको योग्यता, क्षमता र उमेरको सम्बन्धमासमेत अत्यन्तै गैरजिम्मेवारपूर्ण ढंगले आफ्नो धारणा व्यक्त गर्नुभएको देखिएकाले उक्त अभिव्यक्तिप्रति यो सभा खेद प्रकट गर्दछ,' अध्यक्ष दाहालले भने, 'आइन्दा आफ्ना विचार संप्रेषण गर्दा सुझबुझपूर्ण, वस्तुनिष्ठ र तथ्यपरक हुन मान्य सदस्यलाई यो सभा निर्देशन समेत दिन्छ।’
राष्ट्रिय सभाका अध्यक्ष दाहालले विधेयकमाथि सैद्धान्तिक छलफलपश्चात विधेयकउपर २६ जना सदस्यहरुबाट विभिन्न दफामा ७८ वटा संशोधन प्राप्त भइ उक्त संशोधनमाथि सभाको विधायन व्यवस्थापन समितिमा सरोकारवाला पक्ष, सम्बन्धित मन्त्रालय र संशोधनकर्ता मान्य सदस्यहरुसँग १४ वटा बैठकमा दफावार छलफल गरी प्रतिवेदन तयार पारेको र उक्त समितिको प्रतिवेदनमा उल्लेखित २१ वटा बुँदामा रहेका संशोधनसहित सभाको मिति २०८१ माघ २८ गतेको बैठकबाट उक्त विधेयक पारित भएको बताएका छन्।