हमासले युद्धविराम सम्झौताको उल्लंघन गरेको आरोप लगाउँदै इसराइलले प्यालेस्टिनी कैदीलाई जेलमुक्त गर्न ढिलाइ गरेको छ।
शनिबार हमासले सम्झौता बमोजिम ६ जनालाई बन्धकमुक्त गरेको थियो। त्यसको बदलामा इसराइलले ६०२ जना प्यालेस्टिनी कैदीहरूलाई जेलमुक्त गर्ने तय भएको थियो।
हमासले बन्धकहरूलाई रेडक्रसमार्फत इसराइलको जिम्मा लगाएपनि इसराइलले भने तत्काल कैदीलाई नछाडेको हो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सका अनुसार इसराइली प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले हमासले युद्ध विराम सम्झौताको उल्लंघन गरेको आरोप लगाएर बन्दी रिहाईमा ढिलाई गर्न निर्देशन दिएका हुन्।
उनले थप बन्धकहरू रिहाई हुने सुनिश्चित नभएसम्म प्यालेस्टिनी कैदीहरूलाई जेलमुक्त नगर्ने भनेका छन्।
इसराइलले हमासमाथि युद्धविराम सम्झौताको पटकपटक उल्लंघन गरेको आरोप लगाउँदै आइरहेको छ।
बन्धकहरु रिहा गर्दा हतियारधारी लडाकू समूहले घेरेर राख्ने र उनीहरूलाई आतंकित बनाउनेजस्ता गतिविधि गरेर सम्झौताको उल्लंघन गरेको इसराइलको भनाइ छ।
बन्धक रिहा गर्दा शान्तिपूर्ण तवरबाट हुनुपर्ने र उनीहरूलाई स-सम्मान हस्तान्तरण हुनुपर्नेमा इसराइलले जोड दिएको छ।
बन्धकहरूको स्वास्थ्य अवस्थालाई लिएर पनि इसराइलले आपत्ति जनाउँदै आएको छ।
केही बन्धकहरू अत्यन्त कमजोर अवस्थामा हमासले इसराइललाई बुझाएको थियो।
त्यस्तै बिहीबार हस्तान्तरण गरेको शव बन्धकको नरहेको खुलेको थियो। उक्त घटनाले पनि इसराइलाई थप आक्रोशित बनाएको भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
युद्धविराम सम्झौता अनुसार हमासले अब केबल तीन बन्धक छाड्न बाँकी छ भने थप एक साता समय बाँकी छ।
माघ ५ गतेदेखि पहिलो चरणको ४२ दिनको युद्धविराम घोषणा भएको थियो। त्यस अवधिमा हमासले ३३ जना बन्धक छाड्ने र इसराइलले २ हजार हाराहारीमा प्यालेस्टिनी कैदी छाड्ने सम्झौता थियो।
पहिलो चरणको युद्धविरामकैबीच दोस्रो चरणको युद्धविराम सम्झौताका लागि मध्यस्तकर्ताहरूले पहल गर्ने तय भएको थियो। यद्यपि पहिलो चरणको युद्धविराम अन्तिम चरणमा पुगिसक्दा पनि दोस्रो चरणको युद्धविरामकबारे छलफल सुरू हुन सकेको छैन।
इसराइलले पहिलो चरणको युद्धविरामकै बीचमा दोस्रो चरणको युद्धविरामका लागि पहल नभए र सम्झौता नभए गजामा पुन आक्रमण गर्ने भनेर धम्की दिँदै आएको छ।