प्रतिनिधि सभाको बैठकमा सांसदहरूले पाथीभराको मुक्कुमलुङ क्षेत्रमा केबलकार निर्माण गर्ने विषयमा भइरहको विवाद उठान गरेका छन्।
शनिबार राति ताप्लेजुङको फुङलिङमा केबलकार निर्माणको विरोध गर्दै आइरहेका समूह र प्रहरीबीच झडप भएको थियो। त्यसक्रममा प्रहरी र प्रदर्शनकारी दुवैतर्फका मानिसहरू घाइते भएका थिए।
प्रदर्शनकारीहरूले स्थानीयका घरमा समेत मसाल फालेका थिए। यस विषयमा सांसदहरूले शून्य समयमा प्रश्न उठाएका छन्।
नेकपा (एमाले)का सांसद योगेश भट्टराईले केबलकार निर्माणका लागि कानुनले नै दिएको बताए। विरोध गर्ने अधिकार भएपनि कसरी गर्ने भन्ने हेक्का रहने उनले बताए।
‘नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारको ऐन कानुनको व्यवस्था अनुसार नै केबलकार निर्माणका निम्ति कुनै निजी क्षेत्रलाई अनुमति दिएको हामीले बिर्सिन हुँदैन। र त्यस आधारमा नै निजी क्षेत्रले काम अगाडि बढाएको हो,’ उनले भने, ‘त्यसमा विरोध गर्ने अधिकार सबैलाई छ। संवैधानिक हिसाबले नै सुरक्षित छ। तर विरोधका सीमा हुन्छन्। त्यसलाई सभ्य, सम्य र शान्तिपूर्ण ढंगले अगाडि बढ्नुपर्छ भन्ने हो। दुर्भाग्यवश हिजो बेलुकी केबलकार विरोधी समूहबाट भएको मसाल जुलुसको क्रममा ताप्लेजुङ बजार एकदमै अशान्त भयो। सर्वसाधरणका घरमा आगो फाल्ने काम भयो। सुरक्षाका निम्ति बसेका सुरक्षाकर्मीमाथि सांघातिक हमला भयो।’
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले पनि यस विषयमा प्रश्न गरेकी छन्। सरकारले यस विषयमा उचित निकास दिन नसकेको उनले बताइन्।
‘कुनै नागरिक घाइते हुने, धनजनको क्षति हुने र गोली समेत चल्ने गरेको छ। हिजो पनि असामान्य र अशान्त स्थिति बन्न पुग्यो र अहिले कर्फ्यु लागेको स्थिति छ। यसरी राज्यको अकर्मण्यताका कारण नेपालीहरू यस केबलकार र नो केबलकारमा विभाजित भएका छन्। लडाईंको स्थितिमा छन्, अराजक छन् र आक्रोशित छन्। र सरकारले उचित निकास दिन सकेको छैन,’ उनले भनिन्, ‘समाजवादको नारा भजाउने पार्टीहरू नै अहिले सरकारमा छन्। र सरकारले यसरी जनताप्रति देखाएको अभिभावकत्व यही हो त म प्रश्न गर्न चाहान्छु।’
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले व्यापारिक घरानाका लागि ‘भाइभाइ’ लडाउने काम गरिरहेको बताएका छन्।
‘पाथीभरा क्षेत्र अशान्त भइरहेको छ। एकप्रकारले त्यो रणमैदानमा परिणत भइरहेको छ। प्रधानमन्त्रीले, गृहमन्त्रीले त्यो भिडिओ हेर्नुभएको छ कि छैन, समाचार सुन्नुभएको छ कि छैन र राजनीतिक दलहरूले समेत त्यो विषय किन अनदेखा गरेर बसिरहेको छ,’ उनले भने, ‘मानव अधिकार र नागरिक समाजले किन अनदेखा गरेर बसेका छन्। आज भाइभाइ लडाउने काम किन भइरहेको छ? एउटा व्यापारिक स्वार्थको लागि। किन मन्त्रीस्तरको वार्तासम्म गर्नका लागि पनि सरकार तयार छैन। के त्यहाँ मान्छे मरेपछि मात्रै वार्ता गर्ने हो?’
त्यस्तै नेकपा (माओवादी केन्द्र)का सांसद रामकुमार राईले पनि निजी क्षेत्रलाई केबलकार निर्माणका लागि किन जग्गा दिइयो भनेर प्रश्न गरेका छन्।
‘हिजो मात्रै धेरै ठूलो झडप भएको छ। त्यो झडपले प्रहरीतर्फ र आन्दोलनकारीतर्फ पनि घाइते भएका छन्। पाथीभरा मुक्कुमलुङ क्षेत्रको संरक्षित जग्गा कसरी निजी क्षेत्रलाई दिइयो सरकारसँग जवाफ माग्न चाहान्छु,’ उनले भने।
यस विषयमा वार्ताबाट समाधान गर्न उनले सुझाव दिए।