राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपति शम्शेर राणाले तीनकुने घटनाबारे तुरून्त निष्पक्ष छानबिन आयोग गठन गर्न माग गरेका छन्।
चैत १५ गते भएको तीनकुने घटनालाई लिएर पक्राउ परेका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणालाई रिहाइ गर्न पनि उनले माग गरे।
‘एएटा निष्पक्ष छानबिन आयोग गठन गरियोस्, यो मुलुकमा सच्चा प्रजातन्त्र छ भन्ने देखाउन म ठूला दलहरूलाई माग गर्दछु,’ राप्रपाले बल्खुमा मंगलबार गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले भने, ‘यो मुलुक पुन्यभूमि हो। यसको चिनारी हिन्दु धर्म हो। म फेरि भन्छु, तुरून्त निष्पक्ष छानबिन आयोग गठन होस्। थुनेर राखेका मानिस चाहे धवल शम्शेर हुन् वा रवीन्द्र मिश्र हुन् उनीहरूलाई निसर्त रिहाइ गरी कानुनले जे भन्छ त्यसअनुसार अघि बढौं।’
चैत १५ गते तीनकुने क्षेत्रमा दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनका लागि प्रदर्शन थियो। उक्त प्रदर्शन हिंसात्मक रूप लिँदा दुई जनाको मृत्यु भएको थियो।