राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सबै राजनीतिक शक्तिहरू अटाउने गरी नयाँ समझदारी गर्नुपर्ने बताएका छन्।
राप्रपाले मंगलबार बल्खुमा गरेको खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देश अब यही अवस्थाबाट अघि बढ्न नसक्ने पनि बताए।
‘अब देश यही अवस्थाबाट अगाडि जान सक्दैन। देशलाई पछाडि फर्काउने कुरा पनि होइन तर अब देश यहीँ रहन सक्दैन, देशलाई अगाडि जानैछ तर यही बाटोबाट देश अगाडि जान सक्दैन,’ अध्यक्ष लिङ्देनले भने, ‘यसकारण देशलाई नयाँ समझदारीको आवश्यकता छ। त्यसका लागि शान्तिपूर्ण ढंगले सबै राजनीतिक शक्तिहरू अटाउने गरी सबै राजनीतिक शक्तिहरूको सहमतिमा नयाँ समझदारी गरौं। हिजोका र अहिलेका राम्रा कुरा लिएर मौलिक व्यवस्था निर्माण गरौं।’
उनले राजादेखि अहिलेका गणतन्त्रवादीहरूसम्म अटाउने गरी मौलिक व्यवस्था निर्माण गरिनुपर्नेमा जोड दिए।
‘यस्तो व्यवस्थामा जनता सार्वभौमसत्ताका मालिक हुनेछन् राजा अभिभावकीय संस्थाका रूपमा रहनेछन्। जनताले प्रत्यक्ष निर्वाचित गर्ने कार्यकारी प्रधानमन्त्री, सनातन हिन्दु राष्ट्र, प्रदेश नरहेको केन्द्र र बलियो स्थानीय तह, भ्रष्टाचार जसले जहिले गरे पनि दण्डित गर्ने व्यवस्था, देशभित्रै रोजगारी, शिक्षा र स्वास्थ्य नि:शुल्क हुने गरी देशलाई नयाँ बाटोमा लगिनेछ,’ उनले भने।