राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रहरी प्रमुख आइजिपी दीपक थापालाई लक्ष्य गर्दै नेकपा (एमाले) को भ्रातृ संगठन युवा संघका सहअध्यक्ष रहेको आरोप लगाएका छन्।
काठमाडौंको बल्खुमा मंगलबार राप्रपाले गरेको आयोजित खबरदारी सभामा अध्यक्ष लिङ्देनले आइजिपी थापालाई युवा संघका सहअध्यक्षको आरोप लगाएका हुन्।
तीनकुने घटनालाई राज्यकै तर्फबाट हिंसा भड्काएको लिङ्देनको भनाइ थियो।
‘कयौं घाइते भए त्यसको हिसाबकिताब छैन। कति भौतिक क्षति भयो त्यसको हिसाबकिताब छैन। तर त्यसको मूलमा अहिलेको राज्यसत्ता, अहिलेको प्रधानमन्त्री, अहिलेको गृहमन्त्री र अहिलेको प्रहरीको नाइके प्रहरी प्रमुख जिम्मेवार छन्,’ अध्यक्ष लिङ्देनले भने, ‘अहिले गृहमन्त्रीले आदेश दिए होलान्, प्रहरी चले होलान् भनेको त अहिलेको प्रहरी प्रमुख त एमालेको युवा संघको सहअध्यक्ष पो रहेछ हेर्नुस् त।’
आइजिपी थापाले राज्य व्यवस्था समितिमा जबाफ दिनेक्रममा तीनकुने घटना म्याद सकिएको अश्रुग्यास प्रहार नगरिएको दाबी गरेका थिए।
लिङ्देनले यसअघि सामाजिक सञ्जालमार्फत नै म्याद सकिएको अश्रुग्यासका सेलको तस्बिर राखेर विरोध जनाएका थिए।
‘ए हामीले भेटेका खोका, अश्रुग्यासका सेलका बोक्राहरू जहाँ एक्सपायरिडेट २००८, २०१०, २०१२ लेखिएको छ, त्यो नक्कली हो? दुर्गा प्रसाईंहरूले बोकेर आएर हानेको हो त्यो? अनि त्यो प्रहरी प्रमुख एमालेको प्रतिनिधि भएर निर्लज्जता भएर के भन्छ- हामीले हानेको अश्रुग्यास कसरी डेटएक्सपायर हुन्छ? ,’ उनले भने, ‘म भन्न चाहन्छु- प्रहरी प्रहरी भएर बस्नुपर्छ। कुनै राजनीतिक दलको भ्रातृ संगठन भएर बस्ने होइन।’