अमेरिकाले चीनबाट आयात हुने सामानमा थप ५० प्रतिशत भन्सार लगाउने घोषणा गरेको छ।
ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले चीनबाट आयात हुने सामानमा बुधबारदेखि थप ५० प्रतिशत भन्सार लाग्ने बताएकी हुन्।
योसँगै अमेरिकामा आयात हुने चिनियाँ सामानको कुल भन्सार १०४ प्रतिशत पुगेको अमेरिकी मिडिया सिएनएनले जनाएको छ।
यसअघि अमेरिकाले चीनमाथि थप ३४ प्रतिशत भन्सार लगाएपछि चीनले पनि ३४ प्रतिशत जबाफी भन्सार लगाउने घोषणा गरेको थियो।
चीन जबाफी भन्सारबाट पछि नहटेपछि अमेरिकाले थप ५० प्रतिशत भन्सार बढाएको प्रेस सेक्रेटरी क्यारोलिन लेभिटलाई उद्धृत गर्दै सिएनएनले लेखेको छ।
ट्रम्पले चीनबाट आउने वस्तुमा यस अघि दुई पटकको जोडेर २० प्रतिशत भन्सार बढाएका थियो।
गत बुधबार रेसिप्रोकल भन्सार दर घोषणा गरी चीनमाथि थप ३४ प्रतिशत पनि जोड्दा दोस्रो कार्यकाल शुरू भएको तीन महिना पनि नपुगी उनले चिनियाँ उत्पादनमा ५४ प्रतिशत भन्सार पुर्याएका थिए।
ट्रम्पले चीनलाई अमेरिकी उत्पादनको भन्सार घटाउन दबाब दिनका लागि रेसिप्रोकल भन्सार दर लगाएर कुल भन्सार दर ५४ प्रतिशत पुर्याएका थिए। यसपछि चीनले व्यापार सन्तुलन कायम राख्न भन्सार दर घटाउने अनुमान गरिएको थियो।
त्यो अपेक्षाको विपरीत शुक्रबार भने चीनले अमेरिकाले लगाए जति नै थप भन्सार घोषणा गरेर जबाफ दिएको थियो।
चीनको वाणिज्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै अमेरिकाको कदमले वर्षौंदेखिको बहुपक्षीय व्यापार वार्ताहरूपछि धेरै मेहनतले हासिल गरेको सन्तुलनलाई खतरामा पारेको भनेको थियो।
ट्रम्पको कदमलाई 'एकपक्षीय दादागिरी'को नमूना भन्दै मन्त्रालयले अमेरिकालाई तुरून्तै भन्सार हटाएर निष्पक्ष र समानतामा आधारित संवादबाट व्यापार साझेदारहरूसँग रहेको विवाद समाधान गर्न आग्रह गरेको थियो।
ट्रम्पले एक महिनाअघि लगाएको १० प्रतिशत थप भन्सार महसुलको जवाबमा चीनले मार्च १० देखि लागु हुनेगरी लगभग २१ अर्ब डलर मूल्यका अमेरिकी कृषि र खाद्य उत्पादनहरूमा भन्सार बढाउने घोषणा तुरून्तै गरेको थियो।
चीनले अमेरिकी कुखुरा, गहुँ, मकै र कपासमा थप १५ प्रतिशत भन्सार लगायो। त्यस्तै अमेरिकी भटमास, जुनेलो, सुँगुरको मासु, गाईको मासु, फलफूल-तरकारी तथा दुग्ध आयातमा थप १० प्रतिशत भन्सार लगायो।
त्यस्तै, चीनले राष्ट्रिय सुरक्षाको आधारमा २५ अमेरिकी कम्पनीहरूमाथि निर्यात र लगानी प्रतिबन्ध पनि लगायो। तर ती २५ कम्पनीमध्ये कुनै पनि चर्चित कम्पनी भने थिएनन्। त्योभन्दा एक महिनाअघि ट्रम्पले चीनबाट आउने वस्तुमा १० प्रतिशत थप भन्सार बढाएको बेलामा भने चिनियाँ बजार नियामकले अमेरिकी कम्पनी गुगलविरूद्ध प्रतिस्पर्धा विरोधी गतिविधि गरेको भनेर जाँच सुरू गरेको थियो। चीनमा गुगल ब्लक गरिएको छ। त्यो कदमले भने उसलाई चिनियाँ कम्पनीहरूसँग कारोबार गर्न पनि अप्ठ्यारो पारेको थियो।
त्यतिबेला अमेरिकाबाट आयात हुने कोइला र तरल प्राकृतिक ग्यास उत्पादनहरूमा १५ प्रतिशत भन्सार अनि कच्चा तेल, कृषि मेसिनरी र ठूला इन्जिन भएका कारहरूमा १० प्रतिशत चीनले भन्सार लगाएको थियो।
यसले विश्वका सबभन्दा दुई ठूला अर्थतन्त्रहरूबीचको व्यापार युद्ध झन् चर्किने देखिएको छ।