बंगलादेशकी निर्वासित प्रधानमन्त्री शेख हसिनाले मोहम्मद युनुसलाई सत्तामा रहने संवैधानिक अधिकार नभएको बताएकी छन्।
मंगलबार आवामी लिग पार्टीका कार्यकर्तालहरूलाई अनलाइनमार्फत सम्बोधन गर्दै हसिनाले अन्तरिम सरकार प्रमुख युनुससँग सत्ता चलाउने संवैधानिक हैसियत नभएको बताएकी हुन्। युनुसले सुनियोजित तवरले सत्ता कब्जा गरेको पनि हसिनाको आरोप छ।
'विदेशी पैसाबाट सुनियोजित योजना बनाएर सत्तामा पुगेका हुन्। उनीसँग सरकार चलाउने संवैधानिक हैसियत र जनादेश छैन,' हसिनाले कार्यकर्ताहरूलाई भनिन्।
उनले संवैधानिक तवरबाट अझै पनि आफू प्रधानमन्त्री नै रहेको बताएकी छन्।
'मैले सबै त्यागेर देश छाडेको भन्ने उनीहरूले नसोचुन्। संविधानका अनुसार, जनताले चुनेको प्रतिनिधिको हैसियत र संसदले चुनेको उम्मेदवारको हैसियतले बंगलादेशको प्रधानमन्त्री हुँ। युनुसको सत्ताको वैधानिकता छैन,' हसिनाको भनाइ उद्धृत गर्दै बिबिसीले लेखेको छ।
उनले वंगलादेशमा आवामी लिगमाथि प्रतिबन्ध लगाउनुपर्ने मागबारे पनि आपत्ति जनाएकी छन्।
उनले बंगलादेशलाई शेख मुजिबुर रहमानले अवामी लिगमार्फत एकजुट गरेको र स्वतन्त्रता दिलाएको नभुल्न पनि अनुरोध गरिन्।
गत अगस्ट ५ मा बंगलादेशमा विद्यार्थीहरूको आन्दोलन उत्कर्षमा पुगेपछि हसिना बंगलादेशबाट भागेर भारत पुगेकी थिइन्। अहिले उनी भारतकै शरणमा छिन्।
उनी दिल्लीको ल्युटेन्स बंग्लो जोनमा रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएको छ। त्यो ठाउँमा भारतीय उच्च पदस्थहरू र सांसदहरूको बसोबास रहेको कडा सुरक्षा व्यवस्था भएको क्षेत्र हो।
त्यहाँ उनी आफ्नी छोरी साइमा वाजेदको साथमा रहेको बताइएको छ। साइमा विश्व स्वास्थ्य संगठनको दक्षिण-पूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशक हुन्।
निर्वासनपछि भने उनीविरूद्ध बंगलादेशको अदालतमा हत्या र मानवअधिकारको गम्भीर उल्लंघनका आरोपमा १६ भन्दा बढी मुद्दा दर्ता भएका छन्। उनीविरूद्ध पक्राउ पुर्जी पनि जारी भइसकेको छ भने बंगलादेशको विशेष अदालतले रेड नोटिस जारी गर्न प्रहरीमार्फत इन्टरपोललाई पत्राचार समेत गरिसकेको छ।
बंगलादेश सरकारले उनको पासपोर्टसमेत रद्द गरिसकेको छ।
हसिनालाई भारतले शरण दिएपछि बंगलादेशको अन्तरिम सरकार र दिल्लीबीच सम्बन्ध तिक्तिएको छ।
गत शुक्रबार थाइल्याण्डमा भएको बिमस्टेक सम्मेलनका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगै बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुस पनि सहभागी थिए। साइडलाइनमा उनीहरूबीच भेटवार्ता पनि भएको थियो।