अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा विभिन्न देशबाट आयात हुने औषधीजन्य उत्पादनमा पनि भन्सार लगाउने तयारी गरेका छन्।
मंगलबार रिपब्लिकन सांसदहरू सहभागी भएको एउटा कार्यक्रमलाई सम्बोधन गर्दै ट्रम्पले औषधी आयातमा पनि भन्सार लगाउने बताएका हुन्।
ट्रम्पले दोस्रो कार्यकालको जिम्मेवारी सम्हालेपछि पटक-पटक अरू उत्पादनसहित अमेरिका भित्रने औषधी र औषधीजन्य उत्पादनमा भन्सार लगाउने बताउँदै आएका छन्।
मंगलबारको कार्यक्रममा ट्रम्पले त्यो छिट्टै लागु हुने भनेको अमेरिकी पत्रिका ब्लुमबर्गले जनाएको छ। ट्रम्पले अमेरिकाभित्रै औषधीको उत्पादन बढाउनका लागि बाह्य मुलुकबाट आउने औषधी र कच्चा पदार्थमा भन्सार बढाउन लागिएको बताए।
'हामी छिट्टै औषधीहरूमा पनि भन्सार घोषणा गर्छौं,' ट्रम्पले भने।
उनले कति प्रतिशत लगाउने भन्नेबारे भने खुलाएका छैनन्। यद्यपि त्यस्ता उत्पादनहरूमा पनि २५ प्रतिशतभन्दा बढी नै भन्सार तोकिने सम्भावना रहेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।
ट्रम्पले अमेरिका औषधीको ठूलो बजार भएका कारण पनि भन्सार लगाए पनि आयात प्रभावित नहुने बताएका छन्।
'भन्सार लगाउँदा पनि फाइदा हामीलाई नै छ। उनीहरू आउने हामीकहाँ नै हुन् किनभने औषधीका लागि अमेरिका ठूलो बजार हो,' ट्रम्पले भने।
औषधीमा भन्सार लगाउँदा अमेरिकामा औषधीको भाउ बढ्ने र न्यून आय भएकाहरुले औषधी किन्न नसक्ने अवस्था आउन सक्ने विज्ञहरूले बताएका छन्।
औषधीमा पनि महँगी बढ्दा त्यसले भयावह अवस्था ल्याउन सक्नेप्रति विज्ञहरूले सचेत गराएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।
ट्रम्पले विश्वभरि अमेरिकाका व्यापारिक साझेदारहरूलाई अन्य वस्तु आयातमा पारस्परिक भन्सार घोषणा गरिसकेका छन्। चीनलाई त १०४ प्रतिशत भन्सार लगाएका छन्।
८ मुलुकहरूलाई ४० प्रतिशतभन्दा बढी भन्सार लगाएका छन्।
भन्सार दर बढाउँदा ट्रम्पले सुरूवातमा अमेरिकीहरूले सास्ती खेप्नुपरे पनि दीर्घकालमा यसले अमेरिकालाई नै फाइदा गर्ने दाबी गर्दै आइरहेका छन्।
औषधीमा भन्सार लगाउँदा पनि अमेरिकीहरूलाई नै फाइदा हुने उनले बताएका छन्।
यसले अमेरिकामै औषधी उत्पादन बढाउन प्रेरित गर्ने पनि ट्रम्पको दाबी छ।
ती औषधीहरूमा यसअघि अन्यन्त न्यून भन्सार वा शून्य भन्सार नीति अबलम्बन गर्दै आएको थियो। विश्व व्यापार संगठनको औषधी आयात नीतिअनुसार अमेरिकामा आयात हुने धेरै औषधीमा भन्सार नलाग्ने व्यवस्था थियो।
अमेरिकाले युरोप, उत्तर अमेरिका र एसियाबाट औषधी आयात गर्छ। क्यान्सर, मधुमेह र हृदयरोगका औषधीहरू युरोप र उत्तर अमेरिकी राष्ट्रहरूबाट आयात गर्छ भने जेनेरिक औषधीहरू चीन र भारतबाट आयात गर्छ।