राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले जिल्ला अदालत काठमाडौंमा आफूले राज्यविरूद्धको कसुर नगरेको बताएका छन्।
चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनामा पक्राउ परेका व्यक्तिहरूलाई म्याद थप्नका लागि बुधबार जिल्ला अदालतमा उपस्थित गराउँदा मिश्रले आफूले राज्यविरूद्धको कसुर नगरेको बताएका हुन्।
म्याद थपका लागि न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा परेको थियो।
बहसका लागि मिश्रको तर्फबाट वरिष्ठ अधिवक्ताहरू भीमार्जुन आचार्य, सतिश खरेल र राजु बस्नेत सहभागी भएका थिए।
उनीहरूले बहस सकेर अन्तिममा मिश्रले आफ्नो कुरा राखेको वरिष्ठ अधिवक्ता बस्नेतले जानकारी दिए।
मिश्रले आफ्नी आमाको कसम खाएर दोहोर्याउँदै अपराध नगरेको कुरा इजलासमा बताएको अधिवक्ता बस्नेतले बताए।
‘यो देशमा ईश्वरको नाममा र जनताको नाममा कसम खानेहरूले धेरै फट्याइँ गरे, त्यो फट्याइँ मेरो भावनात्मक कुरा होइन त्यो तथ्यगत रूपमा प्रमाणित कुरा हो। आज म ८२ वर्षको मेरी गम्भीर बिरामी आमाको नाममा कसम खाएर भन्छु राज्य विरूद्धको कसुर र संगठित अपराधको कुनै पनि कसुर गरेको छैन,’ मिश्रको भनाइ उदृत गर्दै बस्नेतले भने।
रवीन्द्र मिश्रका वकिलले राखे यी तर्क
पहिलो, रवीन्द्र मिश्रलाई २४ घण्टाभित्र उपस्थित गराउनुपर्नेमा ४५ घण्टा ५ मिनेटपछि अदालतमा उपस्थित गराएर प्रहरीले गैरकानुनी थुनामा राखेको बस्नेतले बताए।
‘उहाँलाई १५ गते राति ८ बजे समातेको थियो। तर ४५ घण्टा ५ मिनेटपछि अदालतमा उपस्थित गराउने काम भयो। त्यो कानुन विपरीत छ,’ उनले बहसका क्रममा भने, ‘उहाँलाई गैरकानुनी रूपमा थुनामा राखियो।’
दोस्रोमा वकिल बस्नेतले रवीन्द्र मिश्र आमन्त्रित व्यक्तित्वको रूपमा उपस्थित भएको बताएका थिए। तर राष्ट्रगान बजिरहँदा नै प्रहरीले अश्रुग्यास प्रहार गरेपछि त्यहाँबाट निस्किएर हिँडेको तर्क गरेका छन्।
‘उनले विचार राख्न जाँदा कार्यक्रम सुरू नभएको अवस्थामै हिँडिसकेको हुँदा राज्यविरूद्धको कसुरमा संलग्नता देखिन्न,’ उनले भने।
तेस्रोमा राज्यविरूद्धको कसुर हुनलाई हातहतियारको प्रयोग भएको हुनुपर्ने र मिश्रले हिंसात्मक काम नगरेको पनि उनले तर्क गरेका थिए।
चौथोमा थुनामा रहेका उनको बयान समेत भइसकेको र प्रमाण नष्ट गर्नसक्ने आधार पनि नरहेको भन्दै छाड्नुपर्ने जिकिर बस्नेतले गरेका थिए।
‘धवल शम्शेरलाई पनि छाडिसकेको र उहाँले पनि कुनै प्रमाण नष्ट गर्ने आधार नभएकाले छाड्नुपर्छ भन्ने कुरा गर्यौं,’ उनले भने।
पाँचौंमा अधिवक्ता बस्नेतले मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्षको हैसियतले संविधानले दिएको अधिकार बमोजिम नै व्यवस्था परिवर्तन र संवैधानिक राजसंस्था, हिन्दुराष्ट्रको माग गर्न विचार अभिव्यक्त अधिकारको प्रयोग गर्न गएको बताए। तर अभिव्यक्त गर्नुपूर्व नै कार्यक्रम बिथोलिएकाले मिश्रले राज्यविरूद्धको कसुर र संगठित अपराध नगरेको बस्नेतले दाबी गरे। हाजिर जमानीमा छाड्न र मुद्दा समेत नचलाउनुपर्ने उनको जिकिर छ।
त्यस्तै वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले पनि मिश्रले संविधानले दिएकै अधिकार प्रयोग गरी प्रदर्शनमा सहभागी हुन पुगेको तर्क गरेका थिए।
अहिले हिरासतमा रहँदा मिश्रको बयान समेत सकिसकेको हुँदा हिरासतमा राखिरहन जरूरी नरहेको भन्दै न्यायाधीश कार्कीसमक्ष अनुरोध गरेका थिए।
‘उहाँहरूले राजनीतिक कार्यक्रममा भाग लिनुभएको हो। संविधानले त्यो अधिकार दिएको छ। उहाँको राजनीतिक विचारधारामा हाम्रो समर्थन हुन आवश्यक छैन। यो अधिकार भएन भने यो संविधानको कुनै अर्थ रहेन। बयान पनि भइसकेको छ। थुन्नुपर्ने कुनै कारण छैन। उहाँ परेको बेलामा उपस्थित हुनुहुन्छ। म्याद थप्न भएन भनेर हामीले आग्रह गर्यौं,’ उनले भने।