नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच सोमबार समायोजन सहमति भएको छ।
जसअनुसार गंगानारायण श्रेष्ठ नेतृत्वमा रहेको नेपाल समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरू माओवादीमा समायोजित भएका छन्।
पार्टी समायोजन गरेका श्रेष्ठलाई माओवादीले सचिव बनाउने सहमति गरेको छ।
उक्त सहमति पत्रमा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेसपाका तर्फबाट गंगानारायण श्रेष्ठले हस्ताक्षर गरेका छन्।
यो पनि: गंगानारायणले किन छाडे बाबुरामको साथ?
नेसपा अध्यक्ष महिन्द्र राय यादव भने समायोजन प्रक्रियामा आएनन्। उनले पार्टी एकता गर्ने हो भने नेकपा (माओवादी केन्द्र) नाम परिवर्तन गर्न तयार हुनुपर्ने अडान राखेका थिए, त्यसमा माओवादी नेतृत्व सहमत देखिएन।
त्यसपछि गंगानारायण श्रेष्ठ नेतृत्वको नेसपामात्रै समायोजन प्रक्रियामा आएका हुन्।
२०७९ मंसिरमा भएको प्रदेश सभा निर्वाचनमा नेपाल समाजवादी पार्टीबाट उम्मेदवार रहेका श्रेष्ठ सिन्धु क्षेत्र नम्बर २ को २ बाट बागमती प्रदेश सभा सदस्य निर्वाचित भएका थिए। त्यसबेला नेसपा उम्मेदवारहरूले माओवादीको चुनाव चिह्न लिएका थिए।
संविधान जारी भएपछि २०७२ सालमा श्रेष्ठले माओवादी परित्याग गरेका थिए। उनी बाबुराम भट्टराईसँगै नयाँ (शक्ति) मा सक्रिय रहेका थिए।
१० वर्षपछि श्रेष्ठ माओवादीमै फर्किएका छन्।
