नेपाल-बेलायत संसदीय मैत्री समूहको पहिलो बैठक सम्पन्न भएको छ।
सोमबार सिंहदरबारमा नेपाल-बेलायत संसदीय मैत्री समूहको पहिलो बैठक बसेको हो। उक्त बैठकको संयोजन रास्वपा सांसद विराजभक्त श्रेष्ठले गरेका थिए।
उक्त बैठकले नेपाल र बेलायत बीचको दीर्घकालीन सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्य सहित संसदीय मैत्री समूहलाई थप सक्रिय र प्रभावकारी बनाउने निर्णय गरेको छ।
बैठकमा समूहका सदस्य सांसदहरूबीच नेपाल-बेलायत सम्बन्धका विविध आयामहरूबारे छलफल भएको थियो। संयोजक श्रेष्ठले समूहले आगामी दिनमा दुवै देशका सांसदहरूबीच नियमित संवाद, अनुभव आदानप्रदान, र आपसी समझदारी अभिवृद्धि गर्ने कार्यक्रमहरूलाई प्राथमिकता दिने जानकारी दिए।
बैठकले नेपाल र बेलायत बीचको ऐतिहासिक सम्बन्धलाई थप गहिरो बनाउँदै संसदीय कूटनीतिलाई संस्थागत र सशक्त बनाउने दिशामा अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।
नेपाल-बेलायत संसदीय मैत्री समूहले आगामी दिनमा दुबै देशका हितमा काम गर्ने रणनीति सहित योजनाबद्ध गतिविधिहरू सञ्चालन गर्ने तयारी गरेको छ।