सत्तारूढ नेकपा (एमाले) र नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रमेश लेखकले बोल्न पाउनुपर्ने माग राखेका छन्।
सभामुख देवराज घिमिरे तथा सत्ता र प्रतिपक्षी दलहरूका प्रमुख सचेतकहरूबीच भएको छलफलमा कांग्रेस-एमालेले गृहमन्त्री लेखकले सदनमा बोल्न पाउनुपर्ने कुरा राखेका हुन्।
यो मागमा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी भने सहमत देखिएको छैन।
माओवादी र रास्वपाका प्रमुख सचेतकहरूले गृहमन्त्री लेखकले पहिले पदबाट राजीनामा दिनुपर्ने अडान राखेका छन्।
भिजिट भिसा प्रकरणलाई लिएर मंगलबारको प्रतिनिधि सभा प्रभावित बनेको हो।
माओवादी र रास्वपाले गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठन गरेपछि मात्रै संसदको नियमित प्रक्रिया चल्न दिने बताइरहेका छन्।
रास्वपा प्रमुख सचेतक सन्तोष परियारले गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन आयोग गठन नभएसम्म सदन चल्न नसक्ने जानकारी आफूहरूले सभामुखलाई दिएको बताए।
प्रतिनिधि सभाको आजको बैठकमा माओवादी सांसद वर्षमान पुनले गृहमन्त्रीले मार्गप्रशस्त गरेर निष्पक्ष छानबिनमा सहयोग गर्नुपर्ने बताएका थिए भने रास्वपा सांसद शिशिर खनालले गृहमन्त्रीको राजीनामा र छानबिन समिति माग गरेका थिए।
सभामुखले कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न समय दिएपछि प्रतिपक्षी सांसदहरूले विरोध जनाएका थिए। रास्वपा सांसदहरूले नाराबाजी गरेका थिए।
त्यसपछि आधा घन्टाका लागि स्थगित बैठक सूचना टाँस गरेर साढे २ बजेसम्मका लागि स्थगित भएको छ।