गृहमन्त्री रमेश लेखकले सुरक्षा समिति बैठक बोलाएका छन्।
मंगलबार गृह मन्त्रालयमा गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा आगामी जेठ १५ गते हुने राजावादीको प्रदर्शनमा सुरक्षा निकायले कसरी सुरक्षा प्रदान गर्ने भन्ने विषयमा छलफल हुन लागेको गृह मन्त्रालय स्रोतले जानकारी दियो।
बैठक केहीबेरमा बस्दैछ।
उक्त बैठकमा प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, सम्बन्धित क्षेत्रका सुरक्षा प्रमुखहरू उपस्थित हुनेछन्।
यसअघि राजसंस्था पुनर्स्थापनाका लागि गठित 'संयुक्त जनआन्दोलन समिति' ले 'जनआन्दोलन' को घोषणा गरेको थियो।
गणतन्त्र दिवसदेखि नै उनीहरूले आन्दोलन गर्न लागेका हुन्। २०६५ जेठ १५ गते गणतन्त्र घोषणा भएको थियो।
यसअघि गत चैत १५ गते संयुक्त जनआन्दोलन समितिले तोकेका कमान्डर दुर्गा प्रसाईंको नेतृत्वमा तीनकुनेमा प्रदर्शन भएको थियो।
प्रदर्शन हिंसात्मक हुँदा दुई जनाको मृत्यु भएको थियो भने निजी घर, सरकारी गाडी, पार्टी कार्यालयहरू र जडिबुटी प्रशोधन केन्द्रमा आगजनी भएको थियो।