नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई पुर्पक्षको लागि थुनामै राख्नुपर्ने माग गरी उच्च अदालत पाटनमा निवेदन दिएका छन्।
चौधरीले सोमबार उच्च अदालत पाटनमा विष्टविरूद्ध निवेदन दिएका थिए। उक्त निवेदनको मंगलबार न्यायाधीश टंकप्रसाद गुरूङको इजलासमा सुनुवाइ हुने भएको छ।
सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखामा शाखा अधिकृतको रूपमा कार्यरत उनले वैशाख १७ गते अनधिकृत रूपमा सर्वोच्चको लेटरप्याड दुरूपयोग गरी प्रहरी र कारागार कार्यालय डिल्लीबजारलाई पत्राचार गरेका थिए।
उनले रेशमलाई पक्राउ गरी कारागार चलान गर्नू भन्ने फैसलाको कार्यान्वयन गराउने भन्दै पत्र लेखेका थिए। त्यही पत्रको आधारमा प्रहरीले रेशम चौधरीलाई पक्राउ गरेको थियो।
चौधरी आफ्नो नाउपा र जनमत पार्टीको एकीकरण गर्ने समारोहमा सहभागी हुन प्रज्ञा प्रतिष्ठान भवनमा पुग्दा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई पक्राउ गरी कारागार चलान गरेको थियो।
यसरी कारागार चलान भएपछि सर्वोच्च अदालत प्रशासनले त्यही दिन अर्को पत्र लेखेर विष्टलाई प्रहरी परिसरमा बुझाएको थियो।
उनीमाथि अनुसन्धान गरेर जेठ ५ गते जिल्ला अदालत काठमाडौंमा लिखतसम्बन्धी कसुरमा मुद्दा दायर गरेको थियो। त्यही दिन जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको इजलासले एक लाख धरौटीमा छाड्न आदेश दिएको थियो। उनले एक लाख रुपैयाँ धरौटी बुझाएर छुटिसकेका थिए।
तर रेशमले उक्त आदेश बेरितको हुँदा बदर गरी पुर्पक्षका लागि थुनामै राख्नुपर्ने मागसहित उच्च अदालत पाटनमा निवेदन दिएका हुन्।