विपक्षी दलहरू छलफलमा जुटेका छन्।
प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक सुरू हुनुअघि मंगलबार बिहान उनीहरू संघीय संसद भवन नयाँ बानेश्वरमा छलफलमा जुटेका हुन्।
प्रमुख प्रतिपक्षी दल नेतासमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को कार्यकक्षमा विपक्षी दलका नेताहरू छलफलमा जुटेका हुन्।
संविधान र गणतन्त्र पक्षधर संसद्मा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलहरूको बैठक बसेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ।
विपक्षी दलको बैठकमा राप्रपालाई भने बोलाइएको छैन। राजसंस्था पुनर्थापना आन्दोलनमा सहभागी रहेको भन्दै विपक्षी दल बैठकमा राप्रपालाई बोलाउन छाडिएको छ।
बैठकमा माओवादी, रास्वपा, एकीकृत समाजवादी, नेसपालगायत दलका नेताहरू सहभागी छन्।
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएका छन्।
सदनको अवरोध हटाउने विषयमा सोमबार सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल भएको थियो।
प्रधानमन्त्री ओलीले सदन अवरोध हटाउनुपर्ने र गृहमन्त्री लेखकलाई बोल्न प्रतिपक्षीहरूले पनि सहयोग गर्नुपर्ने विषय राखे पनि माओवादी अध्यक्ष प्रचण्डले गृहमन्त्रीले राजीनामा दिनुपर्ने अडान कायमै रहेको बताएका थिए।