सभामुख देवराज घिमिरेले सोमबार दिउँसो २ बजेदेखि संसद् बैठक सञ्चालन हुने बताएका छन्।
राससले आयोजना गरेको ‘पवर्वतीय पर्यटन: हाम्रो सान, हाम्रो पहिचान’ तस्बिर प्रदर्शनीको अवलोकनपछि उनले केही दिनदेखि अवरुद्ध भएको प्रतिनिधिसभाको बैठक आजदेखि सञ्चालन हुने बताएका हुन्।
‘सदन अवरूद्ध हुनुपर्ने नै होइन, तर भयो। प्रतिनिधिसभा बैठक आज २ बजेदेखि सञ्चालन हुनेछ। सामान्यतया ११ बजे, १ बजे राखिने बैठक सञ्चालन गर्नका लागि २ बजे राखिएको हो, मलाई आशा छ, २ बजेदेखि संसद् सुरू हुन्छ,’ उनले भने।
बजेटको महत्त्वपूर्ण कार्यसूचीमा छलफल गर्न लागेको अवस्थामा बैठक अवरुद्ध भएकाले अब छलफलमा भाग लिने सांसद संख्या घटाइने एवं विधि पुर्याएर छलफल गरिने बताए।
‘नोक्सानी हुने त भइसक्यो, अबको कार्यसूची त्यहीअनुसार बनाएर जानुपर्छ, विधिअनुसार बजेटमाथिको छलफल सक्नुपर्छ,’ उनले भने।
सभामुख घिमिरले बजेटमाथिको छलफल समयभित्र सक्नका लागि त्यहीअनुसार कार्यसूचीसमेत तयार गरिने बताए।