रञ्जिता श्रेष्ठले नागरिक उन्मुक्ति पार्टीको राष्ट्रिय भेलाले आफूलाई अध्यक्ष पदबाट हटाउनै नसक्ने बताएकी छिन्।
बिहीबार सेतोपाटीसँग कुरा गर्दै उनले राष्ट्रिय भेला नै अवैध भएको दाबी गरिन्।
‘पार्टी संसदीय दलले केन्द्रीय कमिटीको बैठक बोलाउन मिल्छ? मलाई थाहा छ, दलको नेता गंगा चौधरी हुनुहुन्छ। संसदीय दलले नेता तोकेकाले मैले उहाँलाई मानेँ। उहाँले बोलाएको संघीय संसदीय दलको बैठकमा गएको छु। सरकारमा हट्ने भन्नुभयो मैले मानेँ,’ उनले भनिन्, ‘अहिले त केन्द्रीय कमिटीको बैठक पनि संसदीय दलले नै बोलाउने निर्णय गर्नुभएछ। अहिले राष्ट्रिय भेला पनि बसिरहेको छ रे! यस्तो अचम्म पनि हुन्छ!’
उनले पार्टीको विधानको धारा १९ ले अध्यक्षको १४ वटा अधिकारको सूची तोकेको भन्दै राष्ट्रिय भेला बोलाउने दायित्व अध्यक्षको मात्रै भएको बताइन्।
केन्द्रीय अध्यक्ष वा निजले तोकेको कार्यवाहक अध्यक्षलेसमेत नबोलाएको राष्ट्रिय भेलाले अध्यक्ष हटाउने कुरा हास्यास्पद भएको तर्क गर्दै उनले निर्वाचन आयोगले वैधता दिनै नसक्ने तर्क गरिन्।
‘अवैध भेलाले मलाई अध्यक्षबाट हटाएको पत्र निर्वाचन आयोग पुगिसकेको हल्ला चलाइएको रहेछ! मैले पनि निर्वाचन आयोगमा फोन गरेर सोधेँ,’ उनले भनिन्, ‘तर उहाँहरूले निर्वाचन आयोगमा त आएको छैन, लोकसेवा आयोगतिर आयो होला भन्दै ठट्टा पनि गर्नुभयो।’
पोखराको लिचीबारी जग्गा प्रकरणमा मुछिएकी श्रेष्ठलाई पार्टी अनुशासन आयोगले २४ घन्टे स्पष्टीकरण सोधेको थियो। टीकापुर नगरपालिकाका मेयरसमेत रहेका केन्द्रीय सदस्य रामलाल डगौरा थारू अनुशासन आयोगको अध्यक्ष छन्। राष्ट्रिय भेलाको अध्यक्षता पनि उनैले गरिरहेका छन्।
पार्टीले सोधेको स्पष्टीकरणको जबाफै नदिएपछि राष्ट्रिय भेलाले अध्यक्षबाट रञ्जितालाई हटाउने निर्णय गरेको डगौराले जानकारी दिए।
केही दिनअघि रञ्जिताले शिव बास्तोलाई कार्यवाहक अध्यक्ष तोकेकी थिइन्। स्वास्थ्यको कारण आफूले कार्यवाहक तोकेको उनले बताइन।
‘नाउपाको विधान, त्यसको मर्म र भावनाविपरीत म चलेको छैन। विधान सबैले हेर्न सक्नुहुन्छ। त्यहाँ अध्यक्षलाई तीन जना वरिष्ठ नेता तोक्ने अधिकार दिएको छ। त्यसैअनुसार एक वर्षअघि मैले शिव बास्तोलालाई वरिष्ठ नेता बनाएको हो। उहाँ (रेशम पक्ष) ले टीकापुर विद्रोहको पार्टी फेवातालमा बिसायो भनेर पनि आरोप लगाउनुभयो,’ उनले भनिन्।
नाउपाको राष्ट्रिय भेला मध्यबानेश्वरस्थित सनराइज क्याफेमा बसिरहेको छ। राष्ट्रिय भेलाले नयाँ अध्यक्ष तोक्ने तयारी गरेको छ। नयाँ अध्यक्षमा संसदीय दलका नेता गंगा चौधरी, अनुशासन आयोगका अध्यक्ष रामलाल डगौरा र सांसद लालवीर चौधरीको नाम चर्चामा छ।
बुधबारको बैठकले नाउपाको २०१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचन आयोगमा अद्यावधिकका लागि पठाउने निर्णय गरेको थियो।