सभामुख देवराज घिमिरेले प्रमुख प्रतपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसद अमनलाल मोदीलाई ससदमा बोल्दा बोल्दै रोकेका छन्।
बुधबार आकस्मिक समयमा बोल्दै गर्दा सभामुख घिमिरेले मोदीलाई रोकेका हुन्।
मुलुकमा तत्काल भएका घटनाहरूबारे बोल्नका लागि भनेर आकस्मिक समयको व्यवस्था गरिएको हुन्छ।
सांसद मोदीले भने नीतिगत विषयमा प्रवेश गरी सरकारको आलोचना गर्न थालेपछि सभामुखले उनलाई रोकेका हुन्।
हाजिरीजबाफमा अहिलेसम्मको सेटिङ र कान्डैकान्डमा चलेको सरकार कुन हो भनेर सोधियो भने अहिलेको सरकार देखिन्छ,' मोदीले भनेका थिए।
त्यसपछि सभामुख घिमिरेले यस्ता विषय आकस्मिक समयको नरहेको भनेर मोदीलाई स्मरण गराएका थिए।
त्यसपछि पनि मोदी रोकिएनन्।
उनले अगाडि भने, ' चाहे कुलिङ पिरियडको कुरा होस्, मन्त्रीहरूको आर्थिक लेनदेनको काण्ड होस्, भिजिट भिसाको कुरा होस् या किसानहरूलाई मल खातको कुरा होस् वा मधेसमा सुख्खाक्षेत्र घोषणा गरिए पनि किसानले पानी नपाएको विषय होस्। र सेटिङद्वारा धेरै घटना छन्। चाहे पासपोर्टको कुरा होस्...।'
त्यसपछि सभामुखले यी विषय नीतिगत विषय भएकाले उनलाई बस्न आग्रह गरेका थिए।
मोदी भ्रष्टाचारको विषय भएकाले त्यसका बारेमा आवाज उठाउनु स्वाभाविक रहेको भनेर आफ्नो आसनमा बसेका थिए।
त्यसअघि मोदीले भारतको उत्तराखण्डमा गएको बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धान्जली र उनीहरूको परिवारप्रति समवेदना व्यक्त गरेका थिए।
उनले घटनामा नेपालीहरू पनि परेको भन्ने आकलन गरिएकाले त्यसबारेमा सरकारलाई संसदमा जबाफ दिन आग्रह गरेका थिए।