बागमतीका मेयर भरत थापाले सर्लाहीको भरत ताल निर्माणमा भ्रष्टाचार गरेको ठहर भएको छ।
बुधबार विशेष अदालतले मेयर थापा, विमल कुमार पोखरेल र सागर पौडेल उनीहरू तीन जनाले बागमती नगरपालिकामा भरत ताल निर्माण गर्न भ्रष्टाचार गरेको ठहर भएको हो।
विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र सदस्यहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले ३० करोड २९ लाख ३४ हजार ८ सय ९७ रुपैयाँ बराबरको नदीजन्य पदार्थ हानि नोक्सानी गरेको ठहर गरेको हो।
यसमा उनीहरूलाई सजाय सुनाउन साउन २९ गते पेसी तोकिएको छ।
यस मुद्दामा लीलाकुमारी मोक्तान, विश्वराज पोखरेल र मेथुर चौधरीले सफाइ पाएका छन्।
यो मुद्दा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०८१ जेठ २९ गते विशेष अदालतमा दायर गरेको थियो।
अर्को मुद्दामा मेयर थापाले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको पनि पुष्टि भएको अदालतले फैसलामा उल्लेख गरेको छ।
उनको तीन करोड ४५ लाख २२ हजार ३ सय ८७ रुपैयाँ बराबरको सम्पत्ति गैरकानूनी रहेको अदालतले भनेको छ। उनलाई सोही बिगो बराबरको जरिवाना हुने त्यस रकम बराबरको सम्पत्ति पनि जफत हुने अदालतले उल्लेख गरेको छ।
यस कसूरमा उनलाई १ वर्ष कैद सजाय सुनाएको छ।
यो मुद्दा २०८० चैत २७ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको थियो।