सत्तारूढ नेकपा (एमाले)का सांसद महेश बर्तौलाले दीर्घरोगीहरूलाई प्रदान गरिने ५ हजार रूपैयाँ धनी-गरिबका आधारमा वितरण गर्न नहुने बताएका छन्।
आइतबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद बर्तौलाले पीडितका आधारमा सो रकम वितरण गर्नुपर्ने बताएका हुन्।
'पहिले धनी रहेछ भने पनि उपचार गर्दा गर्दै गरिबीको अवस्थामा पुगिसकेका हुन्छन्। त्यसकारण धनी गरिब भन्दा स्थानीय तहले बिरामी प्रमाणीत गरेपछि पैसा दिने व्यवस्था गरिनुपर्छ,' उनले भने।
बर्तौलाका अनुसार विभिन्न २५ वटा जिल्लामा गरिबीको परिचयपत्र वितरण गरिएको। मृगौला प्रत्यारोपण, डायलासिस, क्यान्सर रोगी र मेरूदण्ड पक्षघात गरी चारवटा दीर्घ रोग भएका बिरामीहरूले उपचार सहायता मासिक ५ हजार रूपैयाँ पाउन सो परिचयपत्र देखाउनुपर्ने व्यवस्था छ।
'ती जिल्लाहरूमा गरिबीको परिचयपत्र विरतरण गर्ने भनियो। ती जिल्लाहरूमा गरिबीको परिचय पत्र पाउनुभन्दा पहिले उ धनी थियो होला सक्षम थियो होला। गरिबीको परिचय पत्र पाएन। धनी थियो भने पनि रोगले गर्दा ऊ गरिब भयो। यसले गर्दा यी जिल्लाहरूमा त्यस्ता रोग लागेकाहरूले मासिक ५ हजार पाउने स्थिती बनेन। यदी ऊ गरिब होइन भने पनि त्यस्ता रोग लागेपछि कंगाल हुने अवस्था र नियमित खर्च ब्यहोर्न नसक्ने अवस्थामा पुग्छ। र ती बिरामीहरुको स्थिति दयनीय बनेको छ,' उनले भने।
त्यसकारण राज्यले उपलब्ध गराउने भनेको पैसा गरिब वा धनीका आधारमा नभइ पीडित हो कि होइन भन्ने आधारमा दिनुपर्ने उनी बताउँछन्।
'यसका लागि कार्यविधि सच्याउनुपर्नेछ। स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराउँछु,' उनले भने।