नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले पार्टीका पदाधिकारी र जनप्रतिनिधिहरूले अबदेखि आफ्ना सन्तानलाई अनिवार्य सार्वजनिक विद्यालयमै अध्ययन गराउनुपर्ने बताएका छन्।
काठमाडौंमा बिहीबार भएको एक कार्यक्रममा बोल्दै उनले केन्द्रीय समितिको बैठकपछि आफूले माओवादी केन्द्रको नेतृत्वमा भएका १२३ वटा सरकार प्रमुख, उपप्रमुख र पार्टी नेताहरूको काठमाडौंमा भेला गरेर आफ्ना सन्तानलाई सार्वजनिक विद्यालयमै अध्ययनका लागि पठाउने व्यवस्था गर्न निर्देशन दिइसकेको बताए।
‘मैले अस्ति भर्खरै पार्टीको केन्द्रीय समितिको बैठकपछि माओवादी केन्द्रको नेतृत्वमा भएका १२३ वटा सरकार प्रमुख, उपप्रमुख र पार्टी नेताहरूको काठमाडौंमा भेला गरेर एउटा निर्णय गरिएको छ। त्यो लागू भइरहेको छ। अब सबै स्थानीय सरकारका नेताहरू र स्थानीय पार्टीका नेताहरुले सार्वजनिक विद्यालयमा नै विद्यार्थी पढाउनुपर्ने र निजी क्षेत्रमा नजाने, विदेश नपठाउने भन्ने निर्णय भएको छ। म सबैभन्दा ठूलो नेता पार्टीको, माओवादीको अध्यक्ष। मेरा कुनै पनि छोराछोरी विदेश पढ्न गएका छैनन्। पार्टी केन्द्रमा अब सबै नेताहरुले आफ्ना छोराछोरीलाई सार्वजनिक स्कुलमा पढाउने, विदेश नपठाउने भन्ने छलफल भएर निर्णयतिर गइरहेका छौं,’ उनले भने।
अध्यक्ष दाहालले अबदेखि पार्टीका सबै नेताहरूले आफ्ना छोराछोरीलाई सार्वजनिक विद्यालयमा पढाउने र विदेश पढ्न नपठाउने निर्णयतिर आफूहरू गइरहेको बताए।
(न्युज एजेन्सी नेपाल)